संविधानले कसैलाई विभेद गरेको छैन ः प्रम ओली
January 14, 2016 | 9:31 pm    
काठमाडाँै, ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संबिधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ ।
दक्षिण एसियाली मानव अधिकार सङ्घ(सार)को प्रतिनिधिमण्डलसँग आज साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले संविधानको बारेमा केही व्यक्ति र समूहले अपव्याख्या गरेर अस्थिरता सृजना गर्न खोजेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ८६ प्रतिशत सभासदले हस्ताक्षर गरेर जारी गरेको संविधानलाई लोकतान्त्रिक मान्नुपर्ने बताउँदै भन्नुभयो, “यो संविधान जारी गर्ने विधि पनि लोकतान्त्रिक छ ।
मधेसमा संविधान त आयो तर तिमीहरुले के पायौ भनेर जनतालाई उत्तेजित पार्ने काम मात्र भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो । “संविधानले दाल चामल दिँदैन यसले जनतालाई अधिकार दिन्छ, समानता दिन्छ” प्रधानमन्त्रीले भन्नुभयो ।
प्रम ओलीले नेपाल र भारतबीच सदैव मित्रवत सम्बन्ध रहेको बताउँदै यसलाई कुनै पनि हिसाबले अपव्याख्या गर्नुनहुने धारणा राख्नु भयो ।
नेपाल भारत सम्बन्ध प्राकृतिकरुपमा पनि रहेको चर्चा गर्दै उहाँले नेपालको हिमाली क्षेत्रबाट बगेको पानी भारतको बिहार बङ्गाल पुग्ने र त्यहाँबाट वास्पिकरण भएर फेरि नेपालको हिमाल क्षेत्रमा आएर वर्षा हुने गरेको बताउनुभयो । “प्रकृति र मानवीय दुवै हिसाबले हामीलाई एक आपसका नजिकका मित्र बनाइदिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । रासस