दक्षिण सुनसरीका गुरुङ जातिलाई पहिचानको समस्या
(याम प्रधान)
इटहरी, ३० पुस । हरेक मानिसले आफ्नो पहिचान स्थापित गराउनका लागि आन्दोलन गरिरहेका बेला सुनसरीको दक्षिणी गाविसमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिसलाई पनि जातीय पहिचानको पिरलोले गम्भीर समस्यामा पारेको छ ।
एकसय वर्षअघि सो क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिस थारू समुदायसँग ठ्याक्कै मेल खाने गतिविधि र वेशभूषासँग मिसिएकाले उनीहरुलाई आफ्नै गुरुङ समुदायका मानिसले समेत तिमीहरु गुरुङ होइनौ भनिदिँदा ज्यादै पीर परेका सो समुदायका अगुवा शिक्षित हेमराज गुरुङलाई पनि पर्नुसम्म पीर परेको रहेछ ।
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पश्चिम नेपालको लमजुङ क्षेत्रबाट भारतको मध्यपुरा क्षेत्रमा बसोबास गर्न पुगेका गुरुङ समुदायका मानिस भारतसँगको सन् १९५० को सन्धि गर्दा भारतको मध्यपुरा क्षेत्रबाट भारत सरकारले नेपालको सुनसरी जिल्लाको दक्षिणतिरको सिमानामा ल्याएर छाडिदिएपछि उनीहरु नेपालको सुनसरीमा आई बसोबास गर्न थालेको भन्ने गुरुङ पुख्र्यौलीको भनाइ रहेको अर्का शङ्कर गुरुङको भनाइ छ ।
धेरै वर्षदेखि थारू बाहूल्य क्षेत्रमा बस्दै आएकाले हाम्रो रहनसहन बसोबास आदिका कारणले हाम्रो सबैकुरा थारू समुदायसँग मेल खाने भएपनि हामी गुरुङ समुदायका मानिसलाई पहाडी क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ दाजुभाइले समेत तिमीहरु गुरुङ होइनौ भनिदिँदा ज्यादै चित्त फाटेर आउँछ, हेमराज गुरुङ बताउनुहुन्छ ।
सुनसरीको दक्षिणी क्षेत्र रामगञ्ज, बेलगछिया, अमडुवा, अमाहीबेलाहा र सत्तेरझोरा लगायतका गाविसमा कम्तीमा ५०० घरपरिवार गुरुङको बसोबास रहेको छ । ती गाविसमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिसले लामो समयको बसोबासका कारणले थारू समुदायका मानिसले झैँ पहिरन लगाउँदैमा तिमीहरु गुरुङ होइनौ भनिँदिँदा पहिचानको ठूलो समस्यामा परिरहेको गङ्गाराम गुरुङको भनाइ छ ।
त्यस क्षेत्रमा बसोबास गर्दै आएका क्षेत्री, बाहुन समुदायका मानिस बिस्तारै नजिकको ठूलो सहर विराटनगरतिर गएपनि गुरुङ समुदायका मानिस भने अझै आफ्नो थातथलोका रुपमा बसोबास रहेको सोही स्थानमा नै बसोबास गर्दै आएको अगुवा हेमराजको भनाइ छ । लामिछाने, घले, भुन्टे र लामा जातका गुरुङको सो क्षेत्रमा बसोबास रहँदै आएको पनि उनीहरुले जानकारी दिएका छन् । आफ्नो पहिचानमाथि प्रश्न चिह्न लाग्न थालेपछि गुरुङ समुदायले आफ्नो इतिहास धर्म र जातीय परम्परा जीवित राख्नका लागि बाँदर वर्गको तमु ल्होछार पर्व मनाउँदै आएका गुरुङले यस वर्ष बौद्ध गुम्बा बनाउन थालेका छन् ।
साक्षरताका हिसाबले गुरुङ समुदायका किशोर किशोरी थारू समुदायको तुलनामा निक्कै माथि रहेका छन् । धेरै जना किशोर किशोरीले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेर गाउँठाउँकै विद्यालयमा शिक्षण पेसामा संलग्न हुँदै आएको हर्षबहादुर गुरुङले बताउनुभयो । जङ्गबहादुर, हेमराज, शक्ति, सुरेश र दीपेन्द्र लगायतका गुरुङ युवाले स्नातकोत्तर तहको शिक्षा पूरा गरेर शिक्षण पेसामा संलग्न रहँदै आएको बताएका छन् ।
आफ्नै गुरुङ समुदायका मानिसले समेत तिमीहरु वेशभूषा र बोलीचालीका हिसाबले गुरुङजस्तो नदेखिएको भनेर विभेद गर्दा त्यस क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ समुदायका मानिसलाई पहिचानको समस्याले सताउने गरेको गुरुङ समुदायका अगुवाको भनाइ रहेको छ । अझ अहिले मधेस आन्दोलन चर्किएकाले त झनै त्यही समुदायको बीचमा बसोबास गर्दै आएका गुरुङलाई पहिचानको मुद्दाले ज्यादै सताइरहेको उनीहरुको भनाइ छ । रासस