बोधिचित्त माला चीन लैजाने तयारी
(युवराज पाण्डे)
बनेपा, ३ माघ । बोधिचित्त मालाको फल करोडौँं मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा हुनुहुन्छ । उहाँ आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा हुनुहुन्छ ।
“चिनियाँ लामा नेपाल आउँछन् तर बोधिचित्तको मालाको मूल्य असाध्यै कम दिन थालेका छन्” जिल्लाको तिमाल क्षेत्रका पुराना व्यवसायी लामाले भन्नुभयो । चीनमा लाग्ने महोत्सवमा स्टल बुकिङ्को तयारी भएको उल्लेख गर्दै उद्योग वाणिज्य सङ्घ, धुलिखेलबाट चीनमा व्यापार गर्न जानका लागि आवश्यक प्रक्रिया थालेको उहाँले बताउनुभयो । उहाँले बोल्देफेदिचे– २ मौरेभञ्जाङ्मा रहेका ३२ बटा बोधिचित्त रुखबाट बनेका पाँच हजार ८५ थान माला रु एक करोड ४७ लाखमा विसं २०७२ असारमा खरिद गर्नुभएको थियो । तर त्यसबाट लगानी गरेको रकम भने उठेन । “रु ९५ लाख मात्रै आर्थिक कारोबार भयो” उहाँले भन्नुभयो ।
लगानी गरेको रकम उठ्न नसक्दा लामा तनावमा रहेको बताउनुहुन्छ । बोधिचित्त मालाको कारोबारका कारण थप समस्या सिर्जना हुनलागेको उहाँको भनाइ छ । स्थानीय धनबहादुर तामाङको जमिनमा रहेको बोधिचित्तको रुख एक वर्षका लागि लामाले खरिद गर्नुभएको हो । एउटा रुखमा कम्तीमा दुई किलोदेखि तीस किलोसम्म बोधिचित्तको फल उत्पादन हुने गरेको छ ।
बुद्ध धर्माबलम्बीले प्रयोग गर्ने बोधिचित्त मालाको पहिचान जिल्लाको तिमाल क्षेत्रको लामाहरुले धेरै बर्ष पहिले गरेका थिए । यसको फलअनुसार मूल्य कायम भएको जानकारी दिँदै लामाले ८ एमएमकोलाई रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म र त्यो भन्दा सानो भए त्यसको दर घटने बताउनुभयो । बोधिचित्त मालाको फलको जति धेरै मुख हुन्छ त्यति नै धेरै मूल्य पर्छ ।
फूल र पातसँगै आउने बोधिचित्तमा जेठ महिनाको पहिलो साताबाट फल लाग्न थाल्छ । साउन १५ पछि यसको फल टिपेर प्रशोधन गरी माला तयार गरिन्छ । जिल्लाको तिमाल क्षेत्रको संस्र्युखर्क, मेच्छेपौवा, कानपूर, खार्पाचोक, चापाखोरी, सरमथली, मेथिनकोट, ठूलोपर्सेल, नारायणस्थानलगायतका गाविसमा सबैभन्दा बढी बोधिचित्त खेती हुनेगरेको छ ।
जिल्ला वन अधिकृत प्र्रेम खनालले प्रवद्र्धनका लागि रु सात लाख बराबरको बोधिचित्तको बिरुवा वितरण गरेको बताउनुभयो । जिल्लामा चार लाख ८० हजार किलो बोधिचित्तको फल उत्पादन हुने बताइएको छ । रासस