बाबियाचौर (म्याग्दी), ३ माघ । म्याग्दीको देवीस्थान गाविसको मगरदाङका बासिन्दाले महङ्गो संस्कार हटाएका छन् ।
देवीस्थान गाविसको ६ नम्बर वडामा पर्ने मगरदाङमा गठित गाउँ सुधार समितिले विवाह, छेवार र मृत्यु संस्कारमा हुने फजुल खर्च नियन्त्रण गरेका हुन् । गाउँमा कसैको मृत्यु भएमा मलामी र किरिया चोखाउन एक लाख रुपैयाँसम्म खर्च गर्ने चलन थियो ।
एउटै किरियामा दुईतीन वटासम्म राँगो तथा खसीबोका काटेर प्रसाद खुवाउनुपर्ने अवस्थाका कारण गरिब र आयस्रोत नभएका गाउँलेहरु समस्यामा परेपछि क्षमत्ता अनुसार गरे हुने नियम बनाइएको मगरदाङ टोल सुधार समितिका सभापति कुमार फगामीले बताउनुभयो ।
सभापति फगामीका अनुसार मलामीलाई बजारबाट ल्याएको जुस, बिस्कुट खुवाउने चलन रहेकामा गाउँमै बनाउन सकिने चिया र रोटी प्रयोग गर्न थालिएको छ । ‘फजुल खर्चका कारण खेती किसानी गरेर जीविकोपार्जन गर्ने गाउँलेहरु झन् झन् गरिब बन्ने अवस्था आएपछि नियन्त्रण गर्ने निर्णय गरेका हौं,’ सभापति फगामीले भन्नुभयो ।
मगर समुदायमा कसैको मृत्यु भएमा १३ औँ दिनको पुण्य तिथिमा मलामी, आफन्त, चेलीबेटी र छिमेकीहरुलाई बोलाएर भोज खुवाई चोख्याउने चलन छ । मलामी चोख्याउन खसी वा राँगोको मासु र मदिरा खुवाउने चलनलाई परिवर्तन गरिएको हो ।
मगरदाङमा एक सय घरधुरी मगर र दलित समुदायको बसोबास छ । गाउँ सुधार समितिले विकासमा सरकारी निकायलाई सघाउने, सामाजिक समस्या र विकृति न्यूनीकरणका लागि पनि अभियान चलाएको छ । समितिले मदिरा, जुवातास नियन्त्रण गर्ने तथा कृषि उपज र मजदुरको ज्याला निर्धारण गर्दै आएको छ । रासस