पुनःनिर्माण प्राधिकरणले दियो अख्तियारी
काठमाडौँ, १२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चालु आवमा पुनःनिर्माणका लागि विभिन्न मन्त्रालय अन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निकायलाई बजेटको अख्तियारी दिएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त अख्तियारी रु ६५ अर्बमध्येबाट प्राधिकरणले निजी आवास पुनःनिर्माणका अतिरिक्त अन्य क्षेत्र तथा निकाय मार्फत पुनःनिर्माणमा बजेट खर्च गर्ने गरी अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई रु ६० करोड, शिक्षा मन्त्रालयलाई विद्यालय पुनःनिर्माण लगायतमा रु दुई अर्ब १९ करोड ५० लाख र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्पदा पुनःनिर्माण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ३९ करोड ६२ लाखको अख्तियारी पठाएको छ ।
यस्तै सहरी विकास मन्त्रालयलाई रु ३६ करोड ५९ लाख, कृषि विकास मन्त्रालयलाई रु पाँच करोड १३ लाख र सडक विभागलाई रु ६६ करोड ५० लाख २६ हजारको अख्तियारी दिइएको छ । यसअघि निजी आवास पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय विकास मन्त्रालयलाई रु २६ करोड ५० लाखको अख्तियारी दिएको थियो । रासस