सौराहामा संविधान घोषणापछि पर्यटकहरूको चहलपहल सुरु
चितवन : वैशाख १२ को भूकम्पका कारण सुस्ताएको सौराहामा संविधान घोषणापछि चहलपहल बढेको छ । देशको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनस्थित सौराहामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ । संविधान जारी भएपछि सौराहाका व्यवसायी अझ उत्साही भएका छन् । भूकम्पले सौराहामा भौतिक क्षति नगरेको भएपनि पर्यटकीय हिसाबले ठूलो धक्का लागेको थियो । सौराहामा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजारभन्दा बढीले रोजगारी पाएका छन् । जंगल सफारीका लागि प्रसिद्ध सौराहामा निजी क्षेत्रका व्यवसायीले ६० वटा हात्ती पालेका छन् । ५० लाखदेखि झन्डै एक करोड रुपैयाँ खर्चेर व्यवसायीले हात्ती किनेर ल्याउने क्रम पनि बढेको छ । संविधान जारी भएपछि व्यवसायी निकै उत्साही भएकोमा सरकारले पनि व्यवसायीमैत्री नीति ल्याएर पर्यटनलाई छुट्टै व्यवस्था गर्ने भएको छ ।
सौराहामा रहेका ठूला होटलभन्दा बाहेक ४० रेस्टुरेन्ट, १०० भन्दा बढी जिप, ४० टांगा र ४८ हात्तीमा संलग्न रहेका कामदारको संख्या एक हजार भन्दाबढी छ । स्वदेशी र विदेशी गरी मासिक ५० हजार पर्यटक सौराहा आउँछन् । सौराहामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशन विदेशी पर्यटक आउने गर्दछन् । यहाँ करोडौंको लगानीमा ठूला होटल खुलेका छन् । संविधान घोषणा भएसँगै सौराहामा पर्यटकलाई प्रदान गरिने प्याकेज कार्यक्रम अन्तर्गतका जिप सफारी, डुंगा सफारी, हात्ती सफारी, निकु्ञ्जमा पैदल वाक, थारु स्टिक डान्स लगायतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । सौराहामा आउने पर्यटकले प्याकेज कार्यक्रम अन्तर्गत ६ हजार रुपैयाँ तिर्ने गर्दछन् । सौराहामा साना ठूला गरी एक सय ५० वटा होटल रहेका छन् ।(तस्बिर : इन्साइक्लोपेडिया)