प्रहरीले हटाएको विरोधमा वीरगन्जमा प्रदर्शन, एक प्रदर्शनकारीको मृत्यु, अपराह्न ३ बजेदेखि निषेधाज्ञा (अपडेट)

Birgunj customवीरगन्ज, १६ कात्तिक । नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएको विरोधमा अहिले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच वीरगन्जमा पटकपटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको घन्टाघर, नगवा, माईस्थान, छपकैया र मुर्लीचोक लगायतका ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच बिहानदेखि पटकपटक झडप भइरहेको छ । यथार्थ तथ्याङ्क उपलब्ध नभए पनि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउँसो ११ः३० बजेसम्म आधा दर्जन हवाई फायर र दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । झडपका क्रममा एकजना आन्दोलनकारीको मृत्यु भएको छ । मृतकको पहिचान भएको छैन ।

विभिन्न नारा लगाउँदै प्रदर्शनमा उर्लिएका प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । स्थिति अराजक हुन नदिन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो ।

यसअघि आज विहान करिब ५ बजे सुरक्षाकर्मीले धर्नामा बसेका आन्दोलनकारीलाई बल प्रयोग गरेर हटाएपछि नेपालतर्फ रोकिराखिएका भारतीय ट्रकहरुलाई भारततर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आन्दोलनकारीहरुको धर्नाका कारण विगत एक महिनादेखि बीरगन्ज नाकामा रोकिएर बसेका भारतीय नम्बरका दर्जनौं ट्रकहरुलाई सिमावर्ती भारतीय शहर रक्सौलतर्फ पठाइएको बताइएको छ ।

आन्दोलनका कारण नेपालतर्फ रोकिएका भारतीय ट्रकमध्ये बिहान ९ बजेसम्म करिब २०० ट्रकलाई भारततर्फ पठाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । भारतको विहार राज्यमा चुनाव भइरहेको सन्दर्भमा नेपाल–भारत सीमा नाका बन्द गरिएको बेला रातिको समयमा मितेरी पुलमा थोरै सङ्ख्यामा रहेका मधेसकेन्द्रित दलका कार्यकर्तालाई सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै बल प्रयोग गरेर त्यहाँबाट हटाएको थियो ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीलाई हटाउने क्रममा अटेर गर्ने पाँचजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र बाँकी आन्दोलनकारी भारततर्फ भागेका हुन् । भारतीय नम्बरका ट्रकलाई वीरगन्जबाट रक्सौलतर्फ पठाइएको भए पनि अहिलेसम्म भारततर्फबाट कुनै पनि ट्रक नेपाल छिर्न नपाएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

आन्दोलनकारी सुतिरहेका बेला प्रहरीले एक्कासि अत्यधिक बल प्रयोग गरेको र आन्दोलनकारीका ओढ्ने र बिछ्याउने बन्दोबस्तीका सामानमा प्रहरीले आगो लगाउनुका साथै आन्दोलनकारीले प्रयोग गर्दै आएको टेन्ट पनि प्रहरीले लुटेर लगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता प्रदीप यादवले बताउनुभयो । आन्दोलनकारी पुनः अहिले मितेरी पुलमा धर्नामा बसेका छन् ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नया“ बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउँमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter