पदयात्रा पर्यटनको आकर्षण बढ्दै छ (आलेख समाचार)

tourists-visiting-Nepalसिबी अधिकारी / काठमाडौँ : “नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो ।

नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए । डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित पदयात्रामा गएको रमाइलो अनुभव छ । डिउरिजले भने – “भूकम्पपछि पनि नेपालमा पदयात्रा सुरक्षित छ । नेपालको सौन्दर्यमा बिग्रेको छैन । मेरो देशका नागरिकलाई यही सन्देश प्रवाह गर्नेछु ।”

नेपाली पर्यटनको मुख्य आधार पदयात्रा पर्यटनमा विदेशी पर्यटकको आकर्षण बढ्दो छ । पदयात्रा पर्यटनका लागि यो मौसम उत्तम भएकाले पनि बढी पर्यटक पदयात्रामा निस्किएका छन् । नाकाबन्दीले प्रतिकूल प्रभाव पारेपनि पदयात्रा पर्यटन घटेको छैन ।

भूकम्प र त्यसपछिको नाकाबन्दीको कुनै प्रवाह नगरी विभिन्न मुलुकका पर्यटक नेपालका पहाडी भेगमा पदयात्राको मज्जा उठाइरहेका छन् । अन्नपूर्ण, सगरमाथा आधार शिविर, कञ्चनजङ्गालगायतका प्रमुख पदयात्रामा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका पर्यटन व्यवसायीले बताएका छन् । मनास्लु र लाङ्टाङमा पनि केही पर्यटक गएका छन् ।

नवौँ पटक नेपाल भ्रमणमा आएका लात्भियाका नटलिया क्रास्टिना र इन्ट मुर्निक जोडीको पनि फरक धारणा छैन नेपालको प्राकृतिक सौन्दर्यबारे । डोल्पा, मुक्तिनाथ र कञ्चनजङ्गाको आठ हप्ता लामो भ्रमण सकेका उनीहरुको हृदयलाई नेपालको प्राकृतिक सौन्दर्यले मात्र हैन नेपालीपन र नेपाली मनले पनि जितेको छ ।

एकै ठाउँमा विविध प्राकृतिक सुन्दरताको रसस्वादन गर्नु उनीहरुको ध्येय थियो र उनीहरुले त्यो पाए । अरु देशमा भन्दा धेरै प्राकृतिक विविधता र पर्यटकीय गन्तव्य भएकाले आफूहरुको पहिलो रोजाइ नै नेपाल भएको उनीहरुले बताए । नेपाल पर्यटनका लागि विश्वकै आकर्षण गन्तव्य मानिन्छ । भौगोलिक विविधता, पहाडी भूबनौट, जैविक विविधता, उत्तरतर्फ चाँदीका घेराझैँ चम्किएका अग्ला हिमाल र दक्षिणका समथर फाँट उपत्यकाका सांस्कृतिक परम्परा पर्यटकलाई लोभ्याउने आकर्षण हुन् ।

हिमाल आरोहणपछि पदयात्रा पर्यटन विदेशीको रोजाइमा पर्छ । पछिल्लो समयमा धार्मिक पर्यटन स्थान ओगट्न थालेको छ । सगरमाथा क्षेत्रको भर्खरै पदयात्रा सकेका अमेरिकी नागरिक मार्क फिस्टर र किम फिस्टरले भूकम्पपछि पनि नेपालमा पदयात्रा र पर्वतीय पर्यटन सुरक्षित रहेको अनुभव सुनाए ।

अमेरिका, बेलायत, फ्रान्स तथा एसियाका कतिपय मुलुकका विदेशी पर्यटक यतिखेर नेपालभित्र पदयात्रा हिँडिरहेका छन् । प्राप्त विवरणअनुसार सन् २०१४ को तीन महिना (मे, सेप्टेम्बर र अक्टोबर) को अवधिमा मनाङमा आठ हजार २३० र मुस्ताङमा ११ हजार ५४१ पर्यटक गएका थिए भने सन् २०१५ को सोही अवधिमा मनाङमा तीन हजार ७३७ र मुस्ताङमा चार हजार १४४ पर्यटक पुगेका छन् । सन् २०१४ मा एक लाख २९ हजार ७४६ पर्यटक अन्नपूर्ण पदयात्रामा गएका थिए । सन् २०१३ मा एक लाख १६ हजार पर्यटक गएको तथ्यांक छ ।

सगरमाथा क्षेत्रको पदयात्रा गरेका फ्रेन्च नागरिक नोर्सिन कर्ली (तीन जनाको समूह) र अन्नपूर्ण पदयात्रा गरेका अर्का फ्रेन्च नागरिक मार्टिन बोसन (चार जनाको समूह) ले पनि नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन पहिलाकै अवस्थामा रहेको प्रतिक्रिया दिए ।

“भूकम्पपछि हल्ला भएजस्तो नेपालको पर्यटकीय गन्तव्यमा कुनै असर देखिएन । पदमार्ग, बाटाका होटल, लज, रेस्टुराँ दुरुस्त छन् ” – अन्ठाउन्न वर्षीया नोर्सिन कर्लीले भनिन् । सगरमाथा र अन्नपूर्ण क्षेत्रको पदयात्रा सकेर फर्किएका अनुभवी पथ प्रदर्शक राजेश तामाङले भूकम्प र नाकाबन्दीको त्रास रहेपनि नेपाल आउने पर्यटकको सङ्ख्यामा खासै कमी नआएको बताए ।

उनले भने – “सगरमाथा क्षेत्रमा पहिला दैनिक ४०० को सङ्ख्यामा आउने गर्थे । अहिले यहाँ १५० जना विदेशी पर्यटक गइरहेका छन् । अन्नपूर्ण क्षेत्रमा दैनिक १०० को सङ्ख्यामा पर्यटक पदयात्रामा गएको देखिन्छ ।”

हिमालयन ग्लासियर ट्रेक प्रालिका प्रबन्ध निर्देशक सागर पाण्डेले अन्नपूर्ण र सगरमाथा क्षेत्रमा बाक्लो सङ्ख्यामा पर्यटक गए पनि लाङटाङ र मनास्लु क्षेत्रमा भने पर्यटक ठप्पैजस्तो रहेको जानकारी दिए । अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण र सगरमाथामा कम पर्यटक पदयात्रामा गएका छन् । टानका अध्यक्ष चन्द्र रिजालले पछिल्लो समय पर्यटकको आवागमन बढे पनि नाकाबन्दीको प्रभावले यो मौसममा आउने पर्यटकले पदयात्रा छोट्याउन थालेको बताए ।

पर्वतीय र पदयात्रा पर्यटनको छाता सङ्गठन टानले अहिलेसम्म पदयात्रामा जाने पर्यटकको अध्यावधिक विवरण राख्न सकेको छैन । टानमा हाल एक हजार २०० भन्दा बढी ट्रेकिङ एजेन्सी कम्पनी सदस्य छन् । नेपालमा करिब १९ हजार ट्रेकिङ कम्पनी रहेको बताइन्छ ।

टानका पूर्व अध्यक्ष रमेश धमलाका अनुसार नेपालमा वार्षिक दुई लाखको हाराहारीमा विदेशी पर्यटक पदयात्रा र हिमाल आरोहणका लागि आउँछन् । तीमध्ये ९५ प्रतिशत ट्रेकिङ एजेन्सीमार्फत जान्छन् । पदयात्रा पर्यटनका लागि मनास्लु, कञ्चनजङ्गा, माथिल्लो मुस्ताङ, थ्री पास ट्रेक, धौलागिरि र अन्नपूर्ण क्षेत्र, रारा ताल, सगरमाथा र मकालु आधार शिविर, माथिल्लो डोल्पा, लाङटाङ उपत्यका उत्कृष्ट गन्तव्य मानिछन् । विश्वका उत्कृष्ट पदयात्राहरुमा नेपालको गोक्यो, सगरमाथा आधार शिविर र मनास्लु, भुटानको स्नोमेन मार्ग, पेरुको इन्का ट्रेल र हिउयेच, तान्जानियाको माउन्ट किलिमान्जारो, चिलीको टोरेस्ट डेल पेन, स्वीट्जरल्यान्डको हेउट मार्ग र अस्ट्रेलियाको ओभरल्यान्ड पर्छ ।

अध्यागमन विभागको विवरणअनुसार सन् २०१३ मा आठ लाख र सन् २०१४ मा सात लाख ७६ हजार पर्यटक पर्यटक नेपाल आएका थिए । सन् २०१५ सुरुको तीन महिनामा दुई लाख २४ हजार ७२९ पर्यटक आएका छन् । हुदहुद नामक सामुद्रिक आँधी, भूकम्प र नाकाबन्दीका कारण यो वर्ष पर्यटक आगमनमा कमी आउने अनुमान गरिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डमा विगत चार वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्दा प्रवद्र्धनात्मक काम प्रभावित भएका छन् । सरकारले सन् २०२० मा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पु¥याउने लक्ष्य राखेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter