चेलीबेटी बेचबिखनको गन्तव्य ‘सीमापारिदेखि समुद्रपारि’सम्म

woman violence

(कुमारप्रसाद चौलागाईँ)

काठमाडौँ । केही वर्षअघिसम्म गाउँका सोझासाझा चेलीबेटी फकाएर सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको पछिल्ला दिन चेलीबेटी बेचबिखनको गन्तव्य फेरिएको छ ।

अहिले उनीहरू नेपाली चेलीलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर खाडी मुलुक, भारतका पर्यटकीय सहर गोवा, पुणे, आसाम तथा तेस्रो मुलुक नैरोबी, तान्जानिया, किर्गिजस्तान, लेवनान र सिरियासम्म बेच्ने गरेको तथ्य बाहिर आएको छ ।

महिला तथा बालबालिका बेचबिखन र महिला हिंसाविरुद्ध २३ वर्षदेखि निरन्तर कार्यरत माइती नेपालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत जनवरीदेखि नोभेम्बरसम्म अवैधरुपमा ती मुलुक लैजान लागेको अवस्थामा भारतका विभिन्न सहर, बङ्गलादेश तथा श्रीलङ्काबाट ६५ जना युवतीको उद्धार गरिएको छ ।

रासससँग कुरा गर्दै माइती नेपालका निर्देशक विश्व खड्काले भन्नुभयो, “पछिल्लो समय महिला बेचबिखनको शैली फेरिएकाले बेचबिखन नियन्त्रण अभियान झनै चुनौतीपूर्ण बनेको छ ।”

“पछिल्लो समय काठमाडौँका डान्स बार र क्याबिनबाट हराइरहेका किशोरी तथा युवतीहरू भारतको गोवाका क्यासिनो तथा डान्स बारमा भेटिएका छन्, त्यहाँ उनीहरूलाई यौन बजारमा बेचिएको छ” – माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले भन्नुभयो ।

विदेशीसँग बिहे गरेर विदेसिएका कतिपय नेपाली चेली उता गएपछि हिंसा र बेचबिखनको सिकार भएको उहाँको अनुभव छ । ठूला तारे होटलमा मात्र सेमिनार र गोष्ठी गरेर बेचबिखन नरोकिने बताउँदै अध्यक्ष कोइराला भन्नुहुन्छ, “यसका लागि सरकारको स्पष्ट नीति हुनुप¥यो । गाउँगाउँमा जनचेतना जगाउनुप¥यो ।”

आफूहरूले एफएम रेडियोमार्फत स्थानीय भाषामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि त्यो प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

सरकारद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६२ र मानव बेचबिखन तथा ओसारपसार नियमावली लागू भए पनि यसको कार्यान्वयनको अभावमा अपराधी सधँै उम्कँदै आएको सरोकार भएकाहरु बताउँछन् ।

चेलीबेटी बेचबिखन, जबर्जस्ती करणी र घरेलु हिंसासम्बन्धी माइती नेपालमा आउने निवेदन र उद्धारका यी प्रतिनिधि घटना मात्र हुन् । माइती नेपालले सन् २०१५ मा मात्र मानव बेचबिखनसम्बन्धी ४४ मुद्दा विभिन्न प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोमार्फत जिल्ला अदालतहरुमा दायर गरेको र अहिले ती मुद्दा अदालतमा विचाराधीन रहेका छन् । सन् २०१५ मा ३५ जबर्जस्ती करणीसम्बन्धी अपराधका मुद्दा माइती नेपालको पहलमा प्रहरी कार्यालय र अदालतमा पेस भएका छन् ।

माइती नेपालका अनुसार ५२५ घरेलु हिंसासम्बन्धी निवेदन परेका छन् । ती शान्ति सुरक्षा, मेलमिलाप, बहुविवाह, सम्बन्धबिच्छेद, अंशबन्डा, कुटपिट र हत्या तथा कर्तव्य ज्यानसम्बन्धी हुन् ।

संस्थाका अध्यक्ष कोइरालाले विगतका वर्षको तुलनाका फरक प्रकृतिबाट महिला हिंसासम्बन्धी घटना दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो । सरकारले महिला हिंसा निराकरणका लागि घरेलु हिंसा कसूर र सजाय ऐन २०६६, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार नियमावली २०६५ लगायत ऐन÷कानुन जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रतिवेदनअनुसार माइती नेपालले २०१५ को जनवरीदेखि नोभेम्बर महिनामा मात्रै देशका प्रमुख ११ नाकाबाट अवैधरुपमा विदेसिन लागेका १८ देखि २१ वर्ष उमेर समूहका झण्डै चार हजार युवतीलाई नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाएको छ ।

पछिल्लो समय घरायसी कामदारका रुपमा जाने नेपाली चेलीबेटी तेस्रो मुलुकमा बेचिएको देखिएकाले महिलालाई वैदेशिक रोजगारीमा पठाउँदासमेत ख्याल गर्नुपर्ने सो संस्थाको सुझाव छ ।

सोमबार यहाँ आयोजित एक कार्यक्रममा आफन्तबाटै बेचिएकी नुवाकोटकी एक महिलाले आफ्नै दिदी भिनाजुले गत भदौमा भारत घुम्न लैजाने भनी कोलकाताको सोनागाछीस्थित कोठी नं ४०४ बेचेको वेदना सुनाइन् ।

काखे नानी च्यापेर पत्रकारमाझ उपस्थित उनले आफ्नो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको मौकामा दिदी भिनाजु (भारतीय नागरिक) ले घुम्न जाउँ भनी फकाएर बेचेको पीडा सुनाइन् । उनलाई माइती नेपालले यही मङ्सिर १० गते उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ । पीडक भने फरार छन् ।

त्यसैगरी, काभ्रे स्थायी घर भई गौशालास्थित होटलमा काम गर्दै आएकी एक महिलालाई उनकै आफन्तले रु दुई लाख आम्दानी हुने काम लगाइदिने आश्वासनमा भारत लैजाने खोजे । योजनाअनुसार भारत जाँदै गर्दा चितवन र पर्साको सिमाना बाँदरझुला भन्ने ठाउँमा पुगेपछि शङ्का गरी ती महिलालाई प्रहरीमार्फत माइती नेपाल पर्सा शाखामा जिम्मा लगाइयो । तर ती महिलालाई लैजाने मानिस भने त्यहाँबाट भाग्न सफल भए । पीडित महिलाले काठमाडौँ आई प्रहरीमा उजुरी दिएका आधारमा अभियुक्तलाई पक्राउ गरी हाल काठमाडौँ जिल्ला अदालतमा मानव बेचबिखन मुद्दा हालिएको छ ।

त्यसैगरी, मानव बेचबिखनविरुद्ध क्रियाशील शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार ‘बलिउड’ नायिकाहरूको ‘स्किन सर्जरी’ र प्रत्यारोपणको प्रयोजनका लागिसमेत दलालहरूले नेपाली चेलीहरूलाई विभिन्न प्रलोभनमा पारेर दोस्रो मुलुक लैजाने गरेका छन् ।

त्यस्तै ‘म्यारिज ब्यूरो’मार्फत कोरियाली तथा चिनियाँसँग बिहे गराएर लैजाने र उता लगेपछि हिंसामा पार्ने गिरोह नेपालमा बलियो बन्दै गएको प्रहरीको अपराध अनुसन्धान ब्यूरोले जनाएको छ ।

बेचबिखनबारे अध्ययन गरिरहनुभएकी समूहका अध्यक्ष दनुवारले भन्नुभयो, “अहिले ठमेल चेलीबेटी बेचबिखनको ‘ट्रान्जिट’ बनेको छ । त्यहाँ लगेर केही महिना डान्स सिकाउने र त्यसपछि पर्यटक भिसामा तेस्रो मुलुकका डान्स बार र मसाज सेन्टरमा पु¥याउने ठूलो गिरोह नेपालमा सक्रिय छ ।”

कम छैन घरेलु हिंसा

प्रतिवेदनअनुसार विगत वर्षको तुलनाका फरक प्रकृतिका महिला हिंसाका घटना बढ्दै गएको देखिन्छ ।

सरकारले महिला हिंसा निराकरणका लागि घरेलु हिंसा कसूर र सजाय ऐन २०६६, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार नियमावली २०६५ लगायत ऐन÷कानुन जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ऐनमा अदालत, प्रहरी, राष्ट्रिय महिला आयोग र स्थानीय निकायलाई यस्ता अपराधको उजुरी सुन्ने निकायको रुपमा तोकिएको र महिला हकअधिकारसँग सम्बन्धित सङ्घसंस्थाहरु एवम् महिला अधिकारकर्मीलाई उजुरी सुन्ने व्यवस्था नगरिएकाले विगतमा घरेलु हिंसासम्बन्धी ऐन आउनु अघिकै बेलामा जस्तै हिंसासम्बन्धी मुद्दामा आफूहरुले मध्यस्थताकर्ताको रुपमा कार्य गर्दै आएको माइती नेपालको भनाइ छ ।

यसवर्ष संस्था कसूरसम्बन्धी ५२५ वटा निवेदन आफ्नो कार्यालयमा दर्ता भएको जनाएको छ । त्यसमा क्षतिपूर्तिका ११, उद्धारका १८, शान्ति सुरक्षाका चार, छलफल र मेलमिलापका ८६, बहुविवाहका ३७, सम्बन्धबिच्छेदका ८९, मानाचामलका १०२, अंशबण्डाका १०९, कुटपिटका २७, विवाह दर्ता÷जन्मदर्ता÷नागरिकताका ४२, हत्या तथा कर्तव्यज्यानका दुई गरी ५२५ उजुरी परेकामा त्यसमा आफ्नो तर्फबाट माइती नेपालले मध्यस्थकर्ताको काम गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter