पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान सुरु, सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय क्षेत्र एक भएर अगाडि बढ्ने प्रतिबद्धता

 punrniman

काठमाडौँ, २ माघ । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ ।

भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको पुनःनिर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गर्नुभएको हो ।

सरकारले १९ औंँ भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं १९९० माघ २ गते गएको महाभूकम्पको दिन पारेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण महाअभियान सुरु गरेको हो । रानीपोखरी परिसर शान्ति बाटिकामा आयोजित महाअभियानको सुरुआतको विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति एवम् कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको महाअभियानमा सबै राजनीतिक दल, सरकारी एवम् गैरसरकारी निकाय एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै राजनीतिक दल र सबै निकाय एकताबद्ध भएर पुनःनिर्माणको महाअभियान सुरु भएको छ, सबैका तर्फबाट एकताबद्ध भएर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता आएको छ, यो ज्यादै खुसीको कुरा हो ।”

राजनीतिक दलबाट आएको प्रतिबद्धतालाई राष्ट्रसेवक कर्मचारीले अभियानकै रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ अभियानलाई अगाडि बढाउन निर्देशन दिनुभयो । पुनःनिर्माण तथा नवनिर्माणको अभियानमा आइपर्ने अप्ठ्यारालाई निराकरण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका कठिनाइ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र एवम् अन्य सबै निकायलाई नेपालीको महाअभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

पुनःनिर्माणको अभियान भनेको आठ लाख परिवार घरबारविहीनलाई घरबास बनाउने वातावरण दिलाउनु पनि हो भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा कसैले व्यक्तिगत लाभ लिने अवस्था आउन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवस्थामा कसैले अनुचित लाभ लिन खोज्छ भने यो भन्दा सहन नसक्ने कुरा केही हुँदैन, भ्रष्टाचार हुने अवस्था आउँदैन ।” पुनःनिर्माणको अभियान पूर्ण रुपमा पारदर्शी हुने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता एवम् अन्तर्राष्ट्रिय दातृ निकायलाई यसबारे विश्वस्त हुन आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सबै राजनीतिक दल एकताबद्ध अगाडि बढ्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री गच्छदारले भन्नुभयो, “एकताको सन्देश दिएर मुलुकभर पुनःनिर्माण तथा नवनिर्माणको अभियान सुरु गर्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्न चाहन्छु ।” उपप्रधानमन्त्री गच्छदारले आउने दुई÷तीन वर्ष एकताबद्ध भएर पुनःनिर्माणको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री कमल थापाले मुलुकको भूभाग भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील अवस्थामा रहेकाले भूकम्प प्रतिरोधात्मक आवास निर्माणमा विशेष ध्यान दिइने बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमन्त्री थापाले आफ्नो मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका कार्यलाई स्थानीयस्तरसम्म पु¥याएको जानकारी दिँदै नवनिर्माण एवम् पुनःनिर्माणमा आफू र आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्ण रुपमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पुनःनिर्माणको अभियानलाई पारदर्शी एवम् जिम्मेवारीका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय स्वार्थ र अखण्डतामा कुनै असर नपर्ने गरी तराईका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध हुने विश्वास व्यक्त गर्दै राम्रा कार्यका लागि प्रतिपक्ष दलले सहयोग गर्ने स्पष्ट पार्नुभयो । नेपाली काँग्रेसका कोइरालाले पुनःनिर्माणको महाअभियानलाई आफू र आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पुनःनिर्माणका लागि सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । विगतमा भूकम्पका लागि राहत भनेर आएका सामानमा अनियमितता भएको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उहाँले पुनःनिर्माणको महाअभियानलाई पूर्णरुपमा पारदर्शी एवम् नैतिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेता दाहालले आफू र आफ्नो पार्टीले भूकम्पपछिको अघिल्लो सरकारलाई पनि प्रतिपक्ष नभइकन सघाएको स्मरण गर्दै अब पनि प्रतिबद्ध भएर पूर्ण निर्माण अभियानमा लाग्ने बताउनुभयो ।

उन्नाइसौँ भूकम्प सुरक्षा दिवस, २०७२ मूल समारोह समितिका संयोजक एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनःनिर्माणको अभियानलाई मुलुकको आर्थिक समृद्धिको मुख्य हिस्सा बनाएर राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माण कार्यलाई आउँदो वर्षाभित्र सक्न कठिनाइ भए पनि गाउँ गाउँमा महाअभियानलाई पु¥याएर जनतालाई राहत दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घका आवासीय प्रनिनिधि रेनौड मेयरले भूकम्पपछिको पुनःनिर्माण अभियान सुरु गर्नु सुखद भएको बताउँदै यस कार्यका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भूकम्प सुरक्षा दिवस आयोजना उपसमितिका संयोजक एवम् काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तमाङ र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले भूकम्प प्रतिरोधी संरचना निर्माण नै भूकम्पबाट बच्ने उत्तम उपाय भएकाले त्यस विषयमा सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter