सहकार्य गर्ने नेतृत्व छान्न काँग्रेसलाई अन्य दलको सुझाव

nc

काठमाडाँै, १९ फागुन । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनबाट काँग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरुले अपेक्षा गरेका छन् ।

मुलुकको सबैभन्दा ठूलो पार्टी र पुरानो पार्टी हुनुको नाताले काँग्रेसले लिने नीति र छान्ने नेतृत्वले अन्य पार्टी र मुलुकलाई समेत असर पर्ने भएकाले सहकार्य गर्ने नेतृत्व छान्न धेरैले सुझाव दिएका छन् ।

संविधानको कार्यान्वयन र पुनः निर्माणमार्फत मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने कुरामा काँग्रेस नेतृत्व पछाडि प¥यो भने मुलुक नै पछाडि पर्ने भएकाले काँग्रेसको नीति र नेतृत्व सबैका लागि सरोकारको विषय भएको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली बताउनुहुन्छ ।

उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै ठूलो भूमिका खेलेको पार्टीले आगामी दिनमा पनि नेतृत्वदायी र अग्रणी भूमिका खेल्नुपर्ने भएकाले त्यस्तै जिम्मेवार नेतृत्व छान्नुपर्नेमा जोड दिनुभयो ।

“सबै मिलेर अगाडि बढ्ने नीति र नेतृत्व ल्याओस् काँग्रेसले, सहमति र सहकार्यको बाटोलाई नछोडोस्”, ज्ञवालीले भन्नुभयो, “लोकतान्त्रिक प्रक्रियामा हुने स्वाभाविक अन्तरविरोधलाई नबढाओस्, महाधिवेशनबाट जे निचोड निस्कन्छ, त्यसलाई सबैले मानून् हाम्रो शुभेच्छा यही हो ।”

एकीकृत नेकपा (माओवादी)ले पनि जनता र राष्ट्रलाई केन्द्रमा राखेर काँग्रेसले नयाँ नीति बनाउने अपेक्षा गरेको छ । साथै नेतृत्व पनि राष्ट्रवादी र सहकार्य पक्षधर होस् भन्ने एमाओवादीको चाहना छ ।

पार्टीका प्रवक्ता दीनानाथ शर्माले मुलुकलाई अग्रगामी दिशामा लैजान चाहने नीति बनोस् र त्यसलाई कार्यान्वयन गर्न सक्ने अठोट भएको नेतृत्व चयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । “मुलुकलाई अगाडि बढाउने सक्रियता काँग्रेसको नयाँ नेतृत्वमा अझ बढी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

मधेसी मोर्चाका नेता महेन्द्रराय यादव भने काँग्रेसप्रति सकारात्मक देखिनु हुन्न । मधेसमा आन्दोलन भइरहनुको पछाडि काँग्रेस पनि मुख्य दोषी भएको उहाँको भनाइ छ । “काँग्रेसले लोकतन्त्रका नाममा हल्ला मात्रै गरिरहेको छ, लोकतन्त्रवादी भएको भए मधेसीको हालत अहिले यस्तो हुने थियो ?”, उहाँले प्रश्न गर्नुभयो ।

मुलुकको चौथो ठूलो दल राप्रपा नेपालले काँग्रेसको महाधिवेशनले प्रजातन्त्रलाई संस्थागत गर्न सहयोग होस् भन्ने अपेक्षा गरेको छ । पार्टीका प्रवक्ता दिलनाथ गिरीले मुलुकमा प्रजातन्त्र ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भए पनि प्रजातन्त्रलाई संस्थागत गर्न नसकेकाले संस्थागत गर्नेतर्फ काँग्रेसले जोड दिनुपर्ने सुझाव दिनुहुन्छ ।

“गर्भबाटै विवाद लिएर आएको नयाँ संविधानलाई सबैको साझा संविधानका रुपमा स्थापित गर्नका लागि तीन दलीय आलोपालो प्रणालीको मानसिकता हटाउने नीति र नेतृत्व काँग्रेसमा आउनु पर्छ”, गिरीले भन्नुभयो ।

यही फागुन २० देखि २३ गतेसम्म हुन लागेको काँग्रेसको १३औँ महाधिवेशनलाई अन्य साना पार्टीले पनि उत्सुकतापूर्वक हेरेका छन् । उनीहरुले मुलुकमा अहिले भइरहेको सङ्कटको अन्त्य, संविधान कार्यान्वयन, पुनःनिर्माणको अभियान र सबै दलको अस्तित्वलाई स्वीकार्ने नेतृत्व काँग्रेसमा अहिले आवश्यक रहेको ठानेका छन् ।

नेपाल मजदुर किसान पार्टीको चाहना भने अरूको भन्दा फरक पाइएको छ । काँग्रेसको महाधिवशनले भारतीय हस्तक्षेप र एकाधिकारवादका विरुद्धमा उभिने अठोट गर्नुपर्ने बताउनुहुन्छ, पार्टीका नेता तथा सांसद डिल्लीप्रसाद काफ्ले । उहाँले प्रजातान्त्रिक समाजवादको सपनासहित स्थापना भएको पार्टीले आफ्नो आदर्श सिद्धान्तलाई फेरि सशक्त तरिकाले उठाउन आवश्यकता रहेकामा जोड दिनुभयो ।

व्यवस्थापिका¬–संसद्मा रहेका सबै दललाई काँग्रेसले भोलि खुल्ला मञ्चमा हुने उद्घाटन समारोहमा अतिथिका रुपमा आमन्त्रण गरेको छ । अधिकांश पार्टीका नेताहरुले उपस्थित हुने बताउनुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter