अर्काे नाकाबन्दी र आन्दोलनको पक्षमा छैनन् वीरगन्जवासी

 birganj's men

 

(प्रकाश सिलवाल)

वीरगन्ज । सात महिनाअघि २६ कर्मचारी रहेको मुर्लीचोकस्थित सम्झना होटलमा अहिले दशजनाले मात्र काम गर्छन् । भारतको अघोषित नाकाबन्दी र मधेस केन्द्रित दलको आन्दोलनका कारण यसबीचमा होटेल सुनसान रह्यो । तलब खुवाउन नसकेपछि कर्मचारीलाई रोएर बिदाइ गर्नु परेको सञ्चालक पशुपतिविक्रम शाहले बताउनुभयो ।

हाल यहाँका शैक्षिक संस्था, यातायात, बजार, कलकारखाना सबैको अवस्था सामान्य भइसकेको छ । इन्धनको सहज वितरण भइसकेको छैन तर पनि फेरि आन्दोलन भएमा जनसहभागिता पहिलाजस्तो हुने छाँट छैन ।

शाहको अनुभवमा पाँच दशकको पर्सा बसाइमा पछिल्लो सात महिनाको जस्तो कष्ट अहिलेसम्म भोग्नु परेको थिएन । गत असोज ३ गते नयाँ संविधान जारी हुनुअगावै सङ्घीयताको सवालमा मधेसी दलले तराई मधेसमा आमहडताल सञ्चालन गरेका थिए भने संविधान आएपछि भारतको अघोषित नाकाबन्दी र मुख्य नाका रक्सौलमा धर्ना हुँदा पेट्रोलियम पदार्थको आपूर्तिका कारण मुलुकभरको जनजीवन प्रभावित भएको थियो ।

“नाकाबन्दी र हडतालले कहिल्यै नपाएको दुःख भोगियो, आन्दोलनबाट कसले के पायो थाहा भएन तर अब फेरि आन्दोलनको कुरा गर्नु यहाँका जनतालाई थप पीडा दिनु हो,” विसं २०२४ मा होटल खोलेका शाहले भन्नुभयो – “काठमाडौँलाई झुकाउन गरेको आन्दोलनले तराईलाई नै झुकाएको छ । काठमाडौँमा पैसा हुनेले प्रतिलिटर रु पाँच सयसम्मको पेट्रोल खरिद गरे । तराईका जनताले के गर्ने ?”

पञ्चायतकालमा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावमा समर्थन नगरेको छिमेकी भारतकै प्रोत्साहनमा मधेसी दलले आन्दोलन गरेको टिप्पणी गर्दै शाहले दिउँसो आन्दोलन गर्ने कार्यकर्ताले राति राति दुई नम्बरी कामसमेत गरेको आरोप लगाउँदै भन्नुभयो – “सायद उनीहरुलाई आन्दोलन नगरे रोजीरोटी खोसिने पो हो कि ?”

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता सकारात्मक नभएको भन्दै पुनः आन्दोलनको चेतावनी दिँदै आएको छ । स्थानीय छोटेलाल कापड त्यस प्रकारको नाकाबन्दी र हडताल पुनः हुन्छ भन्नेमा आफूहरुले कल्पना नगरेको उल्लेख गर्दै भन्नुभयो – “केका लागि आन्दोलन ? जति पनि मार हुन्छ जनताले खेप्नुपर्छ, अब आन्दोलन भएमा यहाँका जनताले सहँदैन ।”

कापडले बन्दका समयको शुल्क मिनाहा गर्ने प्रतिबद्धताविपरीत यहाँका अधिकांश विद्यालयले शुल्क लिइरहेको उहाँको गुनासो छ । उहाँका छोरा गौतम विद्यालय पढ्छन् । पानीट्याङ्की निवासी रामनारायण साह भन्नुहुन्छ – “जनता थाकिसके । पाउने केही छैन । कति आन्दोलनमा जानु ?”

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका महासचिव रामप्रवेश साह पटकपटक बन्द, हडताल र अस्थिरता ल्याउनुभन्दा वार्ता र संवादबाट समस्याको निकास निकाल्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले आन्दोलनबाट विद्यालयमा पढाइ प्रभावित भएको र त्यस समय आफूहरुले विद्यालय निर्बाध खुलाउन पहल गरेको जानकारी दिनुभयो ।

लामो समयदेखि पर्सामा रही हाल नेवाः सेकुवा पसः सञ्चालन गरेका धनलाल डङ्गोल पनि अर्काे आन्दोलन होला भन्ने कल्पना नगरेको बताउनुहुन्छ । हडतालका समयमा कर्मचारी दिनभर सुतेर बस्नु परेको र साँझ ५ देखि ९ बजेसम्म पसल खोलेर जेनतेन धानेको उहाँले बताउनुभयो । दिउँसो आन्दोलनमा रहने नेता तथा कार्यकर्ता पनि राति आफ्नोमा खान आउने भएकाले कहिलेकाहीँ ढिलोसम्म पनि खोल्न दिइएको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्र वीरगन्जमा आन्दोलनका समयमा प्रभावित भएका अधिकांश उद्योग हाल सञ्चालनमा आइसकेका छन् । आन्दोलन पहिल्यै आन्तरिक अव्यवस्थापनका कारण बन्द रहेको वीरगन्ज चिनी मिल्स र कृषि औजार कारखाना लिमिटेड भने सञ्चालनमा आएको छैन । यहाँ डाबर नेपाल, सूर्य नेपाल, जगदम्बा स्टिल, त्रिवेणी टेक्सटायल, बिएसटी पाइप, नेपाल फर्मास्युटिकल ल्याब, नारायणी मिल्सलगायत ठूला उद्योग छन् ।

बन्दका बेला उद्योगी आन्दोलनकारीलाई चन्दा दिन बाध्य पारिएको थियो । विद्युत् कटौतीको असर यहाँ पनि उस्तै छ । तराई मधेस लोकतान्त्रिक पार्टीको विद्यार्थी सङ्गठनका काम गरेर राजनीतिबाट जीवन नचल्ने ठानी हाल स्थानीय एक टेलिभिजन मर्मत केन्द्रमा काम गर्ने प्रभात सिंह पार्टीहरुले युवा पुस्तालाई उपयोग मात्र गर्ने र आफ्नो दुनो सोझ्याउने गरेको टिप्पणी गर्दै अर्काे आन्दोलन भए जनताले अस्वीकार गर्ने दाबी गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter