तरकारी बेचेर ट्याक्टर खरिद

tractar

 

गौशाला, ५ चैत । महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् ।

मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सक्ने उदाहरण बनेका छन् जिल्लाको धिरापुर गाविस–९ बरदाहा बस्ने किसान काशिम राइन । मात्र एक वर्षको अवधिमा तरकारी बेचेर कमाएको पैसाले ट्याक्टर खरिद गर्न उनी सफल भएका छन् ।

आफूले यसै वर्षको फागुन महिनामा वर्षभरि तरकारी बेचेर जम्मा गरेको १० लाख ३० हजार रुपैयाँमा एउटा ट्याक्टर किनेको उनले बताए । एक वर्षअघि मात्र सात कट्ठा जग्गामा तरकारी खेती सुरु गरेका काशिम राइनले ६ महिनाअघि फेरि १० कट्ठा बढाएर एक बिघा जग्गामा खेती गरेका हुन् । उनी आफ्नो खेतबारीमा मौसम अनुसारको सबै प्रकारका तरकारी लगाउने गर्दछन् । अहिले उनको खेतमा लौका, फर्सी, घिरौंला, बोडी, करेला, झिमनी, पिँडालु, चुकुन्दर, खुर्सानी लगायतका एकदर्जनभन्दा बढी प्रकारका तरकारी लटरम्म फलेका छन् ।

त्यस्तै, उनले काउली, मूला, भन्टा, परबल लगायतका तरकारी पनि ठूलो फाँटमा लगाएको देखिन्छ । विभिन्न गैरसरकारी संस्थाको सल्लाह तथा प्राविधिक सहयोगमा तरकारी खेती सुरु गरेको काशिम दिनरात तरकारी खेतीमा खटिन्छन् । सात छोरा, चार बुहारी, एक छोरी र १२ नातिनातिना भएका काशिमले परिवारका सबै जनाको सहयोगले तरकारी खेतीबाटै दुई छोरालाई लाखौँ खर्चेर वैदेशिक रोजगारीमा पठाएका छन् । दुई छोरालाई एसएलसी उत्तीर्ण गराएको उनले एक मात्र छोरीको बिहे गरिदिएका छन् । अहिले उनले १० लाखको लागतमा गाउँमा आफ्नै पक्की घरसमेत बनाएका छन् ।

केही वर्ष अघिसम्म फुसको घरमा बस्दैआएका काशिमलाई गुजारा गर्न धौधौ थियो । अहिले तरकारी बेचेर मात्रै उनले वार्षिक न्यूनतम आठदेखि १० लाख रुपैयाँ आम्दानी गर्ने र गाउँमा उनलाई सम्पन्न व्यक्तिका रुपमा हेरिने स्थानीय बासिन्दा बताउँछन् ।

काशिमले तरकारी खेतीमा लागेर गरेको प्रगति देखेर अहिले बरदाहाका सुभान कवारी, समसुद्यिन कवारी, जैतुन खातुन, मैफुल खातुन, सरिफनी खातुन, रैसा खातुन, जासिम कवारी लगायतका करिब दुई दर्जन किसानले पनि बरदाहामा तरकारी खेती सुरु गरेका छन् । बरदाहाका किसानले उत्पादन गरेको तरकारी नेपालका जलेश्वर, मटिहानी, पिपरा, जनकपुर र भारतका मधवापुर, साहरघाट लगायतका बजारमा पुग्ने गरेको छन् । दर्जनौं साना–ठूला व्यापारी खेतसम्मै पनि आएर तरकारी किनेर लैजाने गरेको ती किसान बताउँछन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter