राजकुमार ह्यारीको नाममा डाँडाको नाम ‘ह्यारी हिल’

prince harry

 

(प्रशन्न पोखरेल)

गोरखा, १७ चैत । भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् ।

छ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् ।

ह्यारीलाई मङ्गलबार बिदाइ गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताउनुभयो । “अनकन्टार बस्तीमा आएर हामीसँगै ढुङ्गा, काठ बोक्नुभयो । उहाँको सम्मानमा स्कुलमुनिको डाँडाको नााम ह्यारीहिल राख्यौँ”, उहाँले भन्नुभयो, “ह्यारीले खुसी हुँदै धन्यवाद भन्नुभयो ।” “ह्यारीले गाउँमा बस्दा औपचारिक रुपमा बोल्न, फोटो खिच्न मान्नुभएको थिएन । सबै गाउँ सलक्कै देखिने डाँडाको नाम ह्यारी हिल राखियो”, गुरुङले भन्नुभयो ।

मनास्लु पदमार्गअन्तर्गत पर्ने ह्यारी हिललाई प्रचारप्रसार गरी थप पर्यटकीय विकास गर्न स्थानीयवासी एकजुट भएका छन् । २०४० सालमा नेपाल भ्रमणमा आएका ह्यारीका पिता बेलायतका तत्कालीन राजकुमार चाल्र्सले पदयात्रा गरेको स्मरणमा धनकुटाका स्थानीयवासीले भेडेटारको एउटा डाँडालाई ‘चाल्र्स पोइन्ट’ नाम राखेका थिए । चाल्र्सका कान्छा छोरा ह्यारीको सम्मानमा पनि लापुबेँसीवासीले स्थानीय डाँडाको नाम ‘ह्यारी हिल’ राखेका हुन् ।

छदिने गाउँ बसाइमा ह्यारीले स्थानीयवासीको संस्कार, संस्कृतिबारे पनि चासो देखाएका थिए । दिनहुँ बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्यालय र नौलीखोला लघुजलविद्युत् निर्माण गर्न समय खर्चनुभएका ह्यारी फुर्सद हुँदा विद्यालयका विद्यार्थीसँग खेलेको स्थानीयवासीले बताएका छन् । ह्यारीले स्थानीयस्तरमा उत्पादन भएको परिकार खानुभयो भने स्थानीय गुरुङ संस्कृतिमा आधारित रहेका सांस्कृतिक कार्यक्रमको पनि अवलोकन गर्न भ्याउनुभयो ।

स्थानीयवासी सोमराज गुरुङले भन्नुभयो, “ह्यारी भाङ्ग्रा, कछाड लगाएर नाच्नुभयो ।” टिम रुबिकन युके नामक संस्थाले गत कात्तिक महिनादेखि निर्माण सुरु गरेको प्रभातकिरण माविको भवन निर्माणमा सघाउन आउनुभएका ह्यारी मङ्गलबार राजधानी फर्किसक्नुभएको छ ।

गाडी हुँदै तीन घन्टा पैदल हिँडेर लापुबँेसी पुगेका उहाँ नेपाली सेनाको हेलिकप्टर चढेर राजधानी फर्किनुभयो । ह्यारी फर्किए पनि ‘टिम रुबिकन युके’ आबद्ध बेलायतका युवायुवतीले विद्यालय भवन पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएका छन् ।

आउँदो शैक्षिकसत्र सुरु भएपछि सोही भवनबाट पठनपाठन गर्न मिल्ने गरी तीव्रगतिमा भवन पुनर्निर्माणको काम भइरहेको छ । सो भवन भने नक्सा पास नगरी निर्माण गरिएको र जिल्ला शिक्षा कार्यालयमा जानकारी पनि नदिइएको बताइएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter