एकवर्षभित्र बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण गरिने

 

Ratnaparkकाठमाडौँ, २५ जेठ । काठमाडौँ उपत्यकाभित्र वाग्मती र यसका सहायक नदीलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यस क्षेत्रमा बालबालिका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण कार्यलाई एक वर्षभित्र सम्पन्न गर्ने भएको छ ।

समितिले आज वाग्मती क्षेत्रको विकासका विषयमा सरोकारवालासँग गरेको छलफलमा एक वर्षभित्र वाग्मती क्षेत्रमा बिहान ५.३० देखि ८.३० सम्मको समय ज्येष्ठ नागरिकका लागि ‘मर्निङ् वाक’, योगा, सत्सङ्जस्ता धार्मिक कार्यका लागि छुट्याइने र सो समयमा त्यस क्षेत्रमा मोटरसाइकल तथा अन्य बाधा पार्ने चीजको आवागमनलाई रोक्ने योजना रहेको जानकारी दिइयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री शौचालयको अभाव रहेको काठमाडौँ उपत्यकामा विशेष गरी उनीहरुको आकर्षणको केन्द्र रहेको वाग्मती क्षेत्रमा त्यस प्रकारको शौचालय निर्माण कार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ ।

सोही वर्ष वाग्मती सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरी वाग्मती सभ्यताका बारेमा हालसम्म रहेका सङ्कलित जानकारीलाई प्रदर्शनी गर्ने जनाएको हो ।

यसैगरी समितिले वाग्मती नदीबाट प्रतिघन्टा २४० किलोवाट विद्युत् उत्पादनका लागि दुईवर्षे कार्ययोजनाको शुभारम्भ गरिसकेको छ । यस्तै उक्त कार्ययोजनाअन्तर्गत् धोबिघाटमा मलपोखरी निर्माण गर्ने र जग्गा नपुगेको खण्डमा खोकनामा रहेको जग्गाको समेत व्यवस्था गरिसकेको छ ।

वाग्मती विकास आयोजनाका प्रमुख राजेशप्रसाद सिंहले हालसम्म वाग्मती र यसका सहायक नदीको सरसफाइलगायत विषयमा भए गरेका कामकारवाहीको जानकारी दिनुभयो । वाग्मतीको विकासका लागि गर्न लागिएको उक्त कार्ययोजनाका लागि एसियाली विकास बैंक र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सहयोग गरिरहेको छ ।

समितिका अध्यक्ष इन्जिनियर किशोर शाक्यले वाग्मती खोलामाथि हुने दोहनविरुद्ध अहिलेसम्म कुनैपनि सङ्घसंस्थाले एकीकृत भई आवाज नउठाएकाले अब वाग्मती नदीको विकासका लागि कार्यरत सबै सङ्घसंस्थालाई एक बनाई कार्य थाल्ने बताउनुभयो ।

वाग्मती नदीको वातावरणीय सुधार गर्ने कार्यअन्तर्गत बौद्ध, मित्रपार्क, जोरपाटी क्षेत्रको १२ किमी, गोकर्ण–गुहेश्वरी–तिलगङ्गा–मनोहरा–शङ्खमुल–बल्खु–सुन्दरीघाट खण्ड वाग्मती नदीको दुवै किनारामा २२ किमी, धोबिखोला करिडोरमा गोपीकृष्ण कुमारीस्थानसम्म बाँयातिर ६.०२ किमीसम्म ढल सुधार गरिसकिएको छ ।

यस्तै गोकर्ण गुहेश्वरीको चार किमी, तिलगङ्गा सिनामङ्गल ३.२३ किमी र मीनभवन मनोहरा ३.८२ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । सुन्दरीजल गोकर्ण खण्ड ८.५ किमी, गोकर्ण गुहेश्वरी ३.८ किमी, तिलगङ्गा–सिनामङ्गल–मीनभवन–मनोहरा–शङ्खमुल–बल्खु–सुन्दरीघाट खण्ड ९.०४ किमी नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ ।

यसैगरी गुहेश्वरी तिलगङ्गा सुरुङ ५७२ मि लम्बाई तथा २ मि व्यास र गुहेश्वरी ढल प्रशोधन कार्य क्षमता १९० लि प्रतिसेकेन्डको बनाइएको छ ।

हरियाली क्षेत्र विकास कार्यअन्तर्गत वाग्मती नदीको विभिन्न खण्डमा हालसम्म २१ वटा पार्क (उद्यान) बनाउने कार्य भएको र सोमध्ये आठवटा उद्यानलाई पार्कको रुपमा विकसित गरिसकिएको छ । यसैगरी १३६ रोपनी क्षेत्रफलमा फैलिएको २४ वटा पार्क बनाउन सम्झौता भइसकेको र ४५ वटा पार्क बनाउन विभिन्न सङ्घसंस्थाबाट माग भएको सो अवसरमा जानकारी दिइयो ।

वाग्मती नदी सफाइको कार्यक्रमअन्तर्गत प्रत्येक हप्ता शनिबार वाग्मती सरसफाइको कार्यक्रमसमेत भइरहेको छ । अहिलेसम्म १६० औँ हप्ता वाग्मतीको सफाइ कार्यक्रम चलिरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter