हनुमानढोका पुनःनिर्माण अझै सुरु भएन

Hanuman Dhokaगौतमवुद्व बज्राचार्य / काठमाडौँ, २६ जेठ । काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबार गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन ।

सरकारी स्तरबाट नै पुनःनिर्माण महाअभियान सुरु भएको सात महिना बितिसकेको छ, सरकारको कछुवा गतिका कारण राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी बैठक अझै चारैतिर टेको लगाइएको अवस्थामा रहेको छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबारको तीन तला ध्वस्त भएको छ भने बाँकी ६ तलामा मानिसभित्र जानसक्ने स्थिति छैन । मल्लकालदेखि नै नेपाल अधिराज्यको शासन सञ्चालन गर्ने मुख्य केन्द्रका रुपमा रहेको हनुमानढोका राजदरबारबाट नारायणहिटी राजदरबारमा शाहवंशका राजा सर्नु अघिसम्म नेपाल अधिराज्यको शासन सञ्चालन हुँदै आएकाले यो दरबार ऐतिहासिक रुपमा निक्कै महत्वपूर्ण मानिन्छ ।

हनुमानढोका हेरचाह अड्डाका अनुसार कुल १४ वटा चोक रहेको त्यस क्षेत्रमा हाल नासल चोक, जहाँ चोक तथा भण्डारखाल चोक मात्र पर्यटक तथा सर्वसाधारणका लागि खुल्ला राखेको छ । अरू ११ वटा चोकमा भूकम्पबाट क्षतिग्रस्त भएका कारण मानिस भित्र जानसक्ने अवस्था नभएकाले बन्द गरिएको छ ।

रासससँग कुरा गर्दै सो अड्डाका हेरचाह गर्न खटिएका अधिकारी सानु महर्जनले हनुमानढोकाभित्र रहेको मोहन चोक र कालँदम चोक पनि भूकम्पबाट अस्तव्यस्त भएकाले त्यहाँ सर्वसाधारणलाई हेर्न तथा भ्रमण गर्न रोक लगाइएको छ । चारैतर्फबाट चार दिशामा अवलोकन गर्न सकिने भएकाले विदेशी पर्यटकले हनुमान ढोका छिरेपछि नौतले दरबारबाट अवलोकन गरी भरपुर आनन्द लिने इच्छा राख्ने गरेको उहाँले जानकारी दिनुभयो ।

धेरै चर्किएर क्षतिग्रस्त भएका कारण त्रिभुवनस्मृति कक्षमा पनि मानिस भित्र पस्नसक्ने स्थिति छैन । नौतले दरबारको पुनःनिर्माण कार्य सुरु गर्ने इच्छा जनवादी गणतन्त्र चीनले देखाएको र चीनबाट आएका विभिन्न टोलीले पटक पटक हनुमानढोका परिसरको भ्रमण गरिसकेको महर्जनले जानकारी दिनुभयो । यस परिसरभित्र हालसम्म पुनःनिर्माण कार्य सुरु गर्न सरकारले तदारुकता देखाएको छ कि छैन भन्ने रासस संवाददाताको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “सरकारका तर्फबाट हालसम्म त्यस्तो कुनै पहल भएको छैन ।”

हनुमानढोका परिसरको अवलोकनका लागि रामेछापबाट आउनुभएका रामकृष्ण ज्ञवालीले भन्नुभयो, “हनुमानढोका र नासल चोकभित्र छिरेपछि चारैतर्फ टेको लगाइएको तथा क्षतिग्रस्त राजदरबार परिसर तथा राजाको अनुपस्थिति र त्यहाँ दर्शकका लागि हेर्न राखिएको राजाको सिंहासन तथा राजपरिवारको विवाह तथा मृत्युमा प्रयोग गरिने पालकीको अवलोकनबाट जो कोही पनि विरक्त हुने बताउनुभयो ।”

उहाँले थप्नुभयो, “कमलाक्षी, हनुमानढोका क्षेत्र, यट्खा, वसन्तपुर, ह्युमत टोल, लगन, पाटनको विभिन्न क्षेत्र तथा असन, त्यौड आदि क्षेत्रमा भग्नावशेष यत्रतत्र रहेको र टेको लगाई आफ्नो जीवन जोखिममा राखेर जीवन गुजार्न मानिस बाध्य छन् ।

ज्ञवालीले विदेशबाट आएको अर्बौं तथा खर्बौं रुपैयाँ सहयोग आइसकेको दिन दिनै सुनिन्छ भन्दै यो पैसाबाट चाँडोभन्दा चाँडो पुनःनिर्माण थाल्न सरकारसँग आग्रह गर्नुभयो । तर आन्तरिक व्यवस्थापनबाट पञ्चमुखी हनुमानको पुनःनिर्माण भइसकेको अड्डाका हेरचाह गर्न खटिएका अधिकारी महर्जनले जानकारी दिनुभयो । पाँचतले सो पञ्चमुखी हनुमानको मन्दिरको तीन तला भूकम्पबाट क्षतिग्रस्त भएको थियो र सो मन्दिरसँग जोडिएको कार्यालय कक्षको पनि पुनःनिर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका कारण हनुमानढोकाभित्र हुने महत्वपूर्ण पूजा रोकिएको छ कि भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, “त्यहाँ दैनिक सञ्चालन हुने नित्य पूजासहित अन्य महत्वपूर्ण पूजा हालसम्म रोकिएको छैन । यस्तै, तलेजु मन्दिरमा हुने ‘था पूजा’, दसैँ तथा कालरात्रि र नवमीमा हुने ५४ राँगा र ५४ भैँसी बलि दिने प्रमुख पूजासहित चैते दसैँमा हुने पूजा तथा बलिप्रथा र नरसिंह देवताको नित्य पूजा पनि अहिलेसम्म नरोकिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मुनकाली र दक्षिणकालीको महत्वपूर्ण नित्य पूजा पनि नियमित सञ्चालन भइआएको सो अड्डाले जनाएको छ । हनुमानढोका राजदरबारभित्र रहेको दक्षिणकालीभन्दा पुरानो मुनकाली र दक्षिणकालीको दर्शन गर्नाले भक्तजन दक्षिणकाली जानु पर्दैन भन्ने जनधारणा रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter