सुखको एक छिन  (व्यङ्ग्यविनोद)

dreamingयोगीशकृष्ण : बिहान उठदा सार्वजनिक धारोबाट सँधै सुनिने हल्लीखल्ली नसुन्दा आज पानी आएन कि भन्ने चिन्ता लाग्यो । पानी नआएको भए घरमा कचिङ्गल सुन्नुपर्ने,त्यो पनि चालचुल छैन । आफ्नो तिनकोठे घरको शान्ति उसलाई प्राकृतिक लागेन । उसले केही बुझेन । पानीको जोहो गर्नु जानुप¥यो क्यार । उठेर ऊ भान्सा तर बच्चाहरूको साझा कोठातिर लाग्यो । बच्चाहरू होमवर्क गर्दै थिए । पेन्सिल र कलमका लागि झैझगडा आज भइरहेको थिएन । ऊ आफ्ना छोराहरूलाई कौरव र पाण्डव भन्ने गर्दथ्यो । उसलाई देख्नासाथ सँधै मागपत्र प्रस्तुत हुने गरेकोले सकभर अघिल्तिर पर्न डराउँथ्यो । माग राख्ने काम भने नियमित भइरहन्थ्यो । मानौ ऊ सरकार हो र उनीहरू विपक्षी दल ।

चुल्होतिर कुनै आवाज नआएको सुनेर ऊ छक्क प¥यो–खोइ, कता गइछ बुढी उसकी बुढी पकाउने तयारी गर्दै थिई । उसलाई देखेर चिया ल्याइदिई । आज ऊ सदा झैँ फतफताइरहेकी थिइन –कस्ता कस्ता घरबाट माग्न आका थिए । बाउआमाको बुद्धि बिग्रेकाले यस्तो घरमा फ्यालिदिए । त्यसपछि शुरु हुन्थ्यो उसका नातागोताको सुखसयलको वृत्तान्त । आज केही भएन । उसलाई चिन्ता लाग्यो–कतै विरामी पो भई की । बिहानबेलुकी घरको काम । दिनभर सानोतिनो जागिरको झन्झट । उसले डराइ डराइ सोध्यो “तिमीलाई सन्चो भएन हो ?”

आफ्नी बुढीको दुर्लभ हुँदै गएको हाँसो अनुहारमा देखेपछि विस्मात त लाग्यो नै , बिसन्चो नभएको बुझेर खुसी पनि भयो ।
चिया खाइसकेर ऊ बाबुआमाको कोठातिर लाग्यो । चकमन्न थियो । ऊ अताल्लिएर करायो“बुबा, ए बुबा, आमा ”,
“के भयो बाबु ? किन कराको यसरी ?” आमाको आवाज सुनेपछि उसको मन शान्त भयो ।

बाबु शब्द उसले बिर्सिसकेको थियो । उसलाई बाबुआमाले यसरी सम्बोधन गर्न छाडेको बर्सौँ भइसकको थियो । उसलाई थाहा थियो, उसको पछिल्तिर उसको बारेमा कुरा गर्दा एकआपसमा कपूत भन्ने गर्दथे । ऊ थाहा पाए पनि नपाए झैँ गर्दथ्यो । बिहे भएको वर्षदिन पुग्दा नपुग्दै आमाले जोइटिङ्ग्रे भन्न सुरु गरिसकेकी थिइन् । सुन्दा नरमाइलो लागेर लुकेर रोएको पनि थियो । पछि बानी पर्दै गयो । बिहानको कपूत पुराण निसङ्ग, नियमित श्रवण गर्न थालेको थियो । तर आज कपूत पुराण चलिरहेको थिएन–फलानोको छोराले बाबुआमालाई कस्तो सानले पालेको छ । दुई दुईओटा त बडेमानको घर बनाइसके । बाबुआमाको मुखबाट झर्न पाएको हुन्न जे भन्यो त्यही पु¥याइदिन्छ । आफ्नो भाग्यमा कपूत भएपछि कसको के लाग्छ ? त्यत्रो पढाइयो, लेखाइयो । सब खेर गयो , बालुवामा पानी हाले जस्तो ।
आखिर आमाबुबा हुन् । छोराले यसो गर्ला उसो गर्ला भन्ने चिताएका थिए होलान् । उनी हरूका सबै इच्छा पूरा गर्न नसकिए पनि केही त पूरा गरिदिनु पर्ने नै हो । बरु रिनपान लिएर भएर पनि गरौँला । उसले चिया पिउँदै बुढीलाई यो कुरा सुनाउने हिम्मत ग¥यो । बुढीले मानिन “किन रिनपान गर्ने नि । मसँग भएको गहना बेचबाच गरे पनि त हुन्छ नि । नभए सञ्चयकोषमा मेरो थोरथार पैसा पनि बाँकी होला ।”उसको दिमाग खलबलियो“हैन, आज के भइरहेको छ यो ।”

बच्चाहरू अघि नै स्कूलतिर लागिसकेका थिए । आमाबुबालाई खाजाको जोहो गरिदिएर उसकी बुढी अफिस जाने तयारी गर्दै थिइन् । भनी“ आज समय मिल्यो भने सञ्चयकोष गएर आउँछु है ।”

उसको मुटु नै बन्द होला जस्तो भयो । ऊ अफिसतिर लाग्यो । बस चढन खोज्दा बसको सहचालकले उसलाई जथाभावी भनेन । खाली सिट खोजिदिएर बस्न आग्रह ग¥यो । अफिस पुग्दा केही मिनेट ढिलो भइसकेको थियो । हाकिम समयको एकदम पालना गर्ने । पाँच मिनेट ढिलो हुँदा समयको महत्वबारे कमसेकम आधा घण्टा प्रवचन दिन्थ्यो जुन उसलाई कण्ठस्त छ“ जो मानिस समयको पालना गर्न जान्दै उसको जीवनको २० प्रतिशत मरेसरह हुन्छ । आदि ।

तर आज हाकिमले त्यस्तो केही भनेन ।बरु उसैले गल्ती भयो भनेको मात्रै के थियो हात समातेर मुस्कुराउँदै सान्त्वना दियो “हेर्नूस् , मानिस घडीको सुई त होइन नि ।कहिले जाममा परिन्छ । कहिले प्रयास गर्दा गर्दै पनि ढिला हुन्छ । ”

आज बिहानैदेखि उसको दिमाग खलबलिएको थियो । हाकिमको कुरा सुनेपछि त ऊ मुर्च्छा प¥यो । अनुहारमा पानीको छिटा परेपछि मात्र उसको होस खुल्यो । हातमा पानीको जग लिएर छोरा मुसुमुसु हाँसिरहेको थियो । छोराले भन्यो“बुबा, अफिस जाने होइनरु उठनूस् रे अब ।”
(लेखकको शीघ्र प्रकाश्य सङ्ग्रह विकास मापन बाट । प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

 

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter