उँघमय संसद, सुखी सांसद (व्यङ्ग्यविनोद)

sansadयोगीशकृष्ण : पत्रिकाहरूमा संसदको तस्विर देखेर मन प्रशन्न भयो । ईर्ष्या पनि लाग्यो । कति आनन्दसँग केही संसदहरू कुर्सीमा निदाइरहेका छन् । केही उँघिरहेका छन् । केही त .बाहिर गएर बेञ्चमा निदाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ संसदमा कुर्सी तोडफोड र गालीगलौज र हल्लामात्र हुँदैन । शान्तिपूर्वक अन्य काम पनि हुन्छ ।

सांसद्हरूको तस्बिर हेरेँ । कति शान्त , कोमल । कति अबोध । कुनै चिन्ता छैन । निस्फिक्री निदाइरहेका छन्, उघिँरहेका छन् । सन्त कविरदासको एउटा दोहाको अर्थ छ –सुखी आरामसँग निदाउँछ , दुखी जाग्राम बसेर रुन्छ । सांसद्हरूको सुख नै मेरो ईर्ष्याको कारण हो । म अनिद्राको रोगी छु ।

मेरो अनिद्राको रोगको विषयमा चिन्तित मित्रवर बन्धुले सुझाव दियो,“ तिमी सांसद् भयौ भने तिम्रो रोग चट हुन्छ । कोसिस गर्ने पो हो कि ।”

मलाई चित्त बुझेन ,“चालिस प्रतिशत भन्दा बढी नेपालीले दुई छाक पेटभरि खान पाउँदैनन् । उनीहरू राम्ररी निदाउन सक्दैनन् । के ती सबलाई सांसद् बनाउने ?”

बन्धुले सहजतपूर्वक उत्तर दियो “सांसद् भएपछि यस्तो चिन्ता हुँदै हुँदैन– को भोको छ, को रोगी छ, को बेरोजगार छ, को अन्यायमा परेको छ? सब चिन्ताबाट मुक्त भएर निदाउन सकिन्छ ।”

म सांसद्हरूलाई चिन्दिन । उनीहरू बीच कस्तो कुराकानी होला भनेर अनुमान भने गर्न सक्छु “ माननीय ज्यू, आजको सदन कस्तो रह्यो ?”

“त्यति धेरै राम्रो पनि भन्न मिलेन । तीन घण्टा त राम्रै निदाएछु । बाकी भने उँघेर बसेँ । अनि आफ्नो सुनाउनूस् न ।”

“तपाइँ सत्ता पक्षको हुनु भयो, राम्ररी सुत्नु भयो । हामी बिपक्षीहरूले विरोधको कार्यक्रम राखेका थियौँ । राम्ररी सुतिएन । बेला बेलामा उठेर चर्को नारा लाउनु पर्यो । पार्टीको व्हिप थियो । ”

“माननीय ज्यू, हुन त हामी फरक फरक पार्टीका हौँ । तापनि सांसद्को अधिकारको बारेमा हामी एज जुट हुनु जरुरी छ । प्रधानमन्त्री आएर संसदमा बेहोस हुन पाउने । कोही सांसद् क्वाँ क्वा रुन पाउने । हामी सुत्न पनि नपाउने । यो त अन्याय हो नि । हो कि होइन?”

“माननीय ज्यू, मेरो मनको कुरा नै भन्ने हो भने त संसदभवन भित्र बेडरुमहरूको व्यवस्था हुनु आवश्यक छ । सभामुखज्यूले सदन चल्नु अघि घोषणा गर्नु पर्छ “माननीय सदस्यज्यूहरू, सदनका कारबाही अब आरम्भ हुँदै छ । जुन जुन सदस्यहरूलाई निदाउनु छ, कृपया उहाँहरू आराम कक्षतिर प्रस्थान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । जसलाई निदाउनु छैन, उँघेरमात्र बस्नु छ उहाँहरूलाई यस कक्षको दाहिनेतिर बसिदिनु हनु आग्रह गर्दछु । केही साथीहरू जो उँघदा घुर्नुहुन्छ उहाँहरू पनि आराम कक्षतिर प्रस्थान गर्नुहुने छ ।”

“ठिक हो माननीय ज्यू । यस्तो व्यवस्था भयो भने पो संसद राम्ररी चल्छ ।”

मित्रवर बन्धु भने यी सबै कुरा ठिक मान्दैन “संसद सँधै यस्तो उँघमय हुँदैन । कति पटक सबका सब सांसद् सक्रिय भएर सहभागी हुन्छ्न् । जब प्रधानमन्त्रीले सबै संसद्लाई भन्सार छुटमा गाडी आयात गर्ने सुबिधाको कुरा सुनाए, सबका सब सांसद् गदगद भएका थिए । जब संसदीय कोषको रकम वृद्धि भयो सबै सांसद्को हाँसोले सदन भवन गुञ्जिएको थियो ।”

बन्धुको सुझाव छ – यस्ता रचनात्मका काम भइराख्नु पर्छ जसले गर्दा सांसद् सदनमा न निदाउँछन् न उँघेर बस्छन् ।

मलाई सांसदहरू निदाएको वा उँघेकोमा कुनै आपत्ति छैन । जनता उठे भने सबलाई सुताइदिन सक्छन् । विभिन्न कालखण्खमा यसरी सुत्ने जनप्रतिनिधिलाई जनताले सुताइदिने गरेके विश्ववतिहास छ ।

(लेखकको शीघ्र प्रकाश्य सङ्ग्रह विकास मापन बाट । प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter