जाजरकोटका ८० हजार जनता गरिब

Map of Jajarkotजाजरकोट, ३१ जेठ । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब रहेका छन् ।

सरकारले विभिन्न १८ वटा सूचकका आधारमा सङ्कलित तथ्याङ्कअनुसार जाजरकोटमा आठ हजार ४७४ घरपरिवार गरिब रहेको र अन्य चार हजार ९३८ घर परिवारको तथ्याङ्क पनि रुजु गर्ने काम भइरहेकाले जिल्लामा १३ हजार बढी गरिब घर परिवार रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालयका सदस्य भेषराज रिजालले बताउनुभयो ।

उहाँले सरकारको नीतिअनुसार असार मसान्तभित्र सबै गरिब घरपरिवारको विवरण तयार गरिसक्नुपर्ने भएकाले आफूहरुले सबै संयन्त्र प्रयोग गरेर काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार बसोबास, खानेपानी, बिजुली, सडक कृषि उत्पादन रोजगारी, शिक्षा स्वास्थ्यको सुविधाको अवस्था र भौगोलिक उपस्थितिलगायतका १८ वटा सूचकका आधारमा गरिएको तथ्याङ्क सङ्कलनले जिल्लाको झन्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखिएको हो ।

विभिन्न सूचकका आधारमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार जिल्लाको झन्डै ८० हजार जनता गरिबीको रेखामुनि रहेको उहाँको भनाइ छ । जिल्ला विकास समितिका विभिन्न कार्यक्रममा कार्यरत सामाजिक परिचालक र गाविसका कर्मचारीमार्फत गरिब घरपरिवारको लगत सङ्कलन गरिएको थियो ।

सदरमुकाम खलङ्गामा गरिएको एक कार्यक्रममा जिल्लाबाट गरिब घरपरिवार पहिचानका लागि गरिएको तथ्याङ्क सङ्कलन भरपर्दाे नभएको गुनासो उठेको थियो । गरिब घर परिवार पहिचानका लागि गुनासो सुनुवाइ गर्न आयोजित कार्यक्रममा सरकारी कर्मचारी राजनीतिक दलका नेता, पत्रकार र नागरिक समाजका प्रतिनिधिले जिल्लामा भरपर्दाे तरिकाले गरिब घर परिवारको पहिचान गर्ने काम नभएकाले धेरै गरिब छुट्ने र गैरगरिबको सूचीमा पर्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले दक्ष जनशक्तिको परिचालन र उपयुक्त पारिश्रमिकको अभावले जिल्लामा सङ्कलन गरिएको विवरणमा सत्यता कम रहेको बताउनुभयो । उहाँ जस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पनि तथ्याङ्क सङ्कलन गर्न गएका गणकले सबैको घरमा पुगेर विवरण सङ्कलन नगरेको भन्ने व्यापक गुनासो रहेको बताउनुभयो । तथ्याङ्क सङ्कलनका लागि गतिलो प्रशिक्षण दिन नसकिएको उहाँले उल्लेख गर्नु भयो ।

त्यस्तै गाउँबाट सङ्कलन गरिएका फारम पनि जिल्लामा रुजु र जाँच नगरेर एकै पटक केन्द्रमा पठाइएकाले गरिब घर परिवारको पहिचानमा निष्पक्षतामा समस्या उत्पन्न हुन सक्ने नेपाली काँग्रेसकी नेत्री सरिता सिंहले बताउनुभयो ।

तथ्याङ्क सङ्कलनका क्रममा कोही गरिब घर परिवार छुट्न गएको भए या गैरगरिब सूचीमा परेको पाइएमा उजुरी निवेदन दिनसक्ने व्यवस्था गरिएको सचिवालयका सदस्य रिजालले बताउनुभयो ।

लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सरकारले २०७० वैशाखदेखि मुलुकका २५ जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको छ । आगामी वर्षदेखि गरिब घर परिवारको नामावली सार्वजनिक तथा परिचयपत्र वितरणको काम हुने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter