आफैं पाठ्यपुस्तक किनेर पढ्न बाध्य छन् नाउराका बालबालिका (आलेख)

File Photo

कमल खत्री / म्याग्दी, ७ असार । म्याग्दीको मुदी–३ नाउराकी जालदेवी रोकाले स्थानीय विद्यालयमा आफ्नो बालबच्चा पढाएबापत मासिक रु पाँच सय शुल्क तिर्नुहुन्छ ।

विद्यालयको सहज पहुँच नभएर आफ्ना बालबालिकाले पढ्न नपाएपछि छ वर्ष अगाडि स्थानीयवासीले नाउरामा रनजनज्योति प्राविको स्थापना गरेका थिए । रोकाले मात्रै होइन उक्त विद्यालयमा आफ्ना बालबालिका पढाउने सबै अभिभावकले यसरी नै मासिक रुपमा शुल्क तिर्ने गरेका छन् ।

सरकारले आधारभूत तहको शिक्षालाई निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको वर्षौं बितिसक्दासमेत नाउराका बालबालिका आधारभूत तहको शिक्षा मात्रै होइन आफूले पढ्ने पाठ्यपुस्तकसमेत आफैँ किनेर पढ्न बाध्य छन् । राज्यको निःशुल्क र आधारभूत तहको शिक्षा सुलभ र सुनिश्चित गर्ने नारालाई भने यस विद्यालयको अवस्थाले गिज्याइरहेको छ ।

सरकारी तवरबाट कुनै पनि सहयोग नपाएको यस विद्यालयमा हाल कक्षा ३ सम्मको पठनपाठन हुने गरेको छ । समुदायस्तरबाट सामुदायिक विद्यालयका रुपमा विद्यालय सञ्चालन गरिए पनि सरकारी निकायबाट सहयोग नहुँदा स्थानीयवासीले चन्दा सङ्कलन, मासिक शुल्क सङ्कलन र लाहुरेहरुबाट सहयोग उठाएर विद्यालय सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज रोकाले बताउनुभयो ।

एक्काइस घरधुरी रहेको नाउरा गाउँका ११ जना बालबालिका हाल यस विद्यालयमा अध्ययनरत छन् । पूर्वाधार र जनशक्तिको अभावमा तीनै कक्षाका बालबालिकालाई अहिले एउटै कोठामा राखेर पठनपाठन गरिँदै आइएको छ । दुर्गम र भौगोलिक विकटताले नजिकमा अर्को विद्यालय नहुनु र थोरै जनसङ्ख्या भएकाले विद्यालय स्वीकृत गराउन सरकारी मापदण्डअनुसार विद्यार्थी सङ्ख्या नपुग्नु यहाँको प्रमुख चुनौतीका रुपमा देखिएको छ ।

अध्यक्ष रोकाले थप्नुभयो – “दुर्गम बस्ती भएका कारण कम जनसङ्ख्या हुँदा यहाँ पहिला विद्यालय खोल्न सकिएको थिएन । तीन घन्टाको दूरीमा अर्को विद्यालय भए पनि अधिकांश बालबालिका विद्यालय नजाने र जङ्गलमा भेडाबाख्रा, गाईभैँसी चराउन जाने गर्थे । अहिले विद्यालय खोलेका छौँ, तर सञ्चालन गर्न निकै कठिनाइ भएको छ ।” भौगोलिक रुपमा विकटता रहेकाले स्थानीयवासीकै पहलमा गाउँमा विद्यालय स्थापना गरिए पनि सरकारी सेवा सुविधा पाउन नसक्दा स्थानीय अभिभावकले सरकारी पाठ्यक्रमको आधारभूत तहको शिक्षा पनि मासिक रुपमा शुल्क उठाएर र पुस्तक किनेरै आफ्ना बालबालिकालाई दिलाउन बाध्य छन् ।

अध्यक्ष रोकाले भन्नुभयो – “विसं २०६७ मा प्राथमिक शिक्षा विस्तार कार्यक्रममार्फत जिल्ला शिक्षा कार्यालयले केही अनुदान दिएको थियो । त्यो आउन छाडेपछि विद्यालयमा बालबालिका पढाउन नियुक्त गरेको शिक्षकलाई समुदायले नै पैसा उठाएर तलब जुटाउँदै आएको छ ।” जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत विद्यालय नभएका कारण यहाँका बालबालिका सरकारले प्रदान गर्ने निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्तिजस्ता सुविधाबाट समेत वञ्चित भएका छन् ।

विद्यालयमा दुई जना शिक्षक नियुक्त गरिए पनि मासिक रुपमा तलब जुटाउनै समस्या भएपछि तीनै कक्षामा पढाइ गर्ने गरी अहिले एक जना मात्रै राखिएको प्रअ रोकाले बताउनुभयो । गाउँमा अधिकांशको आर्थिक अवस्था कमजोर भएकाले शिक्षकलाई मासिक रुपमा उपलब्ध गराउनुपर्ने रु सात हजार तलब दिन पनि समुदायलाई धौधौ परेको स्थानीयवासी बताउँछन् । दुई वटा कोठा भएको भवन भए पनि छुट्टाछुट्टै रुपमा पढाउन विद्यार्थीलाई व्यवस्थापन गर्नै कठिन हुने भएकाले कार्यालय कोठामै तीन वटा बेन्चमा फरक÷फरक कक्षाका विद्यार्थी राखेर पढाउने गरेको शिक्षक दीपा गर्बुजाले बताउनुभयो ।

नाउरामा तीन कक्षासम्म अध्ययन गर्ने बालबालिका चार कक्षादेखि माथिल्लो तहको अध्ययन गर्न मुदीकै खिवाङमा रहेको चन्द्रज्योति माविमा झन्डै तीन घन्टा समय लगाएर जाने गर्छन् । गाउँमा यस अगाडि विद्यालय नहुँदा कतिपय बालबालिका अध्ययन गर्नबाटै वञ्चित थिए । अहिले गाउँमा विद्यालय छ तर उनीहरु आफ्ना बालबालिका पढाउन सरकारी विद्यालयमा पनि निजीमा जसरी शुल्क तिरेर पढाउन बाध्य छन् ।

हालै उक्त विद्यालयमा पहिलो पटक जिल्ला शिक्षा कार्यालयको प्रतिनिधित्व गर्दै पुगेका जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले विद्यालयको समस्याप्रति आफू गम्भीर बनेको बताउनुभयो । भौगोलिक रुपमा विकट रहेको यस विद्यालयमा पहिला प्राथमिक शिक्षा विस्तार कार्यक्रम लागू भएर कार्यालयबाट सहयोग भएको पाइए पनि अहिले उक्त कार्यक्रम नभएकाले विद्यालयले सरकारी सेवा लिन नपाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – “भौगोलिक रुपमा विकट र कम जनसङ्ख्या भएका ठाउँका विद्यार्थीलाई पनि आधारभूत तहको शिक्षा निःशुल्क रुपमा लिन पाउने वातावरण तयार गर्नैपर्छ । अबदेखि यहाँका विद्यार्थीलाई सरकारी तवरबाट उपलब्ध हुने पाठ्यपुस्तक र छात्रवृत्ति उपलब्ध गराउँछाँै ।” नजिकमा रहेको अर्को विद्यालयलाई ‘मदर’ विद्यालयका रुपमा लिएर उनीहरुलाई सरकारी तवरबाट प्रदान हुने सुविधा उपलब्ध गराउने प्रयास गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

यसैबीच, मुदीको सिङ्कोस बगरमा रहेका सात घरका बालबालिका पनि अध्ययनबाट वञ्चित छन् । बगरगाउँमा विद्यालय भए पनि त्यहाँ अध्ययन गर्न आउन झन्डै साढे तीन घन्टा समय लाग्ने भएकाले सिङ्कोस बगरका बालबालिका अध्ययनबाट वञ्चित भएको गाविसका सामाजिक परिचालक एलिना रोका मगरले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter