शव ल्याएपछि विमानस्थल शोकाकुल

Kabul Attackभीष्मराज ओझा / काठमाडौँ, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।

आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि स्वेच्छाले नेपाल फर्केका छन् ।

शव ल्याएको विमान आइपुग्ने सूचनाअघि नै विमानस्थलमा मृतकका शोकाकुल परिवार र आफन्तजनको घुइँचो थियो । कतिपय मृतकका परिवार स–साना बच्चासहित विमानस्थल पुगेका थिए । शव राखेको १२ बाकस (कफिन) देखेसँगै परिवारजन मात्र होइन आफन्त र शुभेच्छुकका आँखा पनि आँसुले भरिएका देखिन्थे ।

सो विमान पुग्ने समयसँगै काठमाडौँमा अविरल झरी परेको थियो । लाग्थ्यो आकाश पनि रोइरहेको छ । विमानस्थलमा मृतकका परिवारजन, आफन्त, शुभेच्छुक मात्र होइन सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य सरकारी अधिकारीसमेत वर्षामा रुझ्दै पुगेका थिए । शवमा फूलमालाले श्रद्धाञ्जलि अर्पण गरेपछि परिवारजनलाई शव बुझाइएको थियो । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार सरकारले मृतक परिवारको इच्छाअनुसार सम्बन्धित जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको थियो ।

शव सम्बन्धित जिल्लामा पुयाउन मन्त्रालयले सुरुमा हेलिकप्टरको व्यवस्था गरे पनि खराब मौसमका कारण शव बाहन पनि तयारी अवस्थामा राखिएको थियो अन्ततः मौसम सफा भएपछि शव हेलिकप्टरबाटै पठाइएको छ । विमान ल्याइएका मृतकका झोला मन्त्रालयले पहिचान गरेर जिम्मा लगाइने जनाएको छ ।

मृतक १२ मध्ये चार जनाको काठमाडौँमा र बाँकीको सम्बन्धित जिल्लामा दाहसंस्कार गरिने बताइएको छ । सरकारले आक्रमणमा परी घाइते भएका पाँच जनालाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको र दुई जनाको उपचार काबुलमै भइरहेको जनाएको छ ।

अफगानिस्तानको सो घटनापछि काम छाडेर स्वइच्छाले उक्त विमानमा आज स्वदेश फर्केका २४ जना अन्य नेपाली सबैको चासोको केन्द्र बनेका थिए । सँगैका साथी गुमाएर त्रासको मानसिकतामा देखिएका उनीहरु विशेषगरी सञ्चारकर्मीको जिज्ञासा मेट्ने स्रोत बनेका थिए । अफगानिस्तानस्थित क्यानाडेली दूतावासमा सुरक्षाका लागि खटिएका १४७ जना नेपाली बेलायती कम्पनी साइबरमा कार्यरत थिए । अन्य कम्पनीको तुलनामा सो कम्पनीले सुरक्षा व्यवस्थामा कम ध्यान दिएको अफगानिस्तानबाट आज स्वदेश फर्केकामध्येका एक इटहरी निवासी वीरबहादुर खत्रीको भनाइ छ ।

“त्यहाँ रहेका नेपालीमा त्रासको वातावरण छ, अन्य साथीहरु पनि नेपाल फर्कन चाहन्छन्”– खत्रीले भन्नुभयो । उक्त कम्पनीमा कार्यरत नेपाली क्यानाडेली दूतावासमा खटिएका क्यानाडेली सुरक्षाकर्मीको बाहिरी घेरामा सुरक्षा गार्डका रुपमा काम गर्दै आएको उनीहरुले जानकारी गराएका छन् ।

शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या कायरता र अमानवीय भन्नुभएको छ ।

अफगानिस्तानमा कार्यरत स्वदेश आउन चाहने अन्य नेपाली नागरिकका सम्बन्धमा सरकारले के व्यवस्था गर्छ भन्ने जिज्ञासामा उहाँले त्यसमा सरकारले विचार गर्ने बताउनुभयो । विमानस्थलमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवम् पराराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीलगायतले मृतकको शव राखिएका कफिनमाथि फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter