माथिल्लो कर्णालीमा दलीय सहमतिसँगै स्थानीयको माग सम्बोधन आवश्यक

Karnaliरमेश लम्साल / दैलेख, १० असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन स्थानीयवासीको माग सम्बोधन तथा प्रमुख दलबीच सहमति हुनु जरुरी रहेको छ ।

भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले अगाडि बढाउन लागेको सो आयोजनाका सम्बन्धमा स्थानीयवासीको विरोध एकातिर रहेको छ भने अर्कोतिर लगानी जुटाउनुपर्ने समयभित्र लगानी जुट्दैन कि भन्ने आशङ्का पनि कायमै रहेको छ ।

प्रमुख दलहरुबीच आयोजना अगाडि बढाउने सवालमा खास समस्या नरहेको भए पनि केही साना दलको विरोधलाई मत्थर पार्नेतर्फ कुनै पहल हुनसकेको छैन । सरकारले सुल्झाइ दिनुपर्ने वन क्षेत्रको जग्गाको विषयमा पनि हालसम्म निर्णय हुन सकेको छैन । निजी जग्गाको विषय त झन् गम्भीर समस्याको रुपमा रहँदै आएको छ ।

प्रवद्र्धक कम्पनीले स्थानीयवासीसँग छलफल नगर्दा विश्वासको सङ्कट पैदा भएको छ । आयोजनालाई सरकारी वन क्षेत्र र निजी गरी कूल ९९६ रोपनी जग्गा आवश्यक पर्दछ । तर सोबारे निर्णय हुन नसक्दा जटिलता थपिँदै गएको छ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले स्थलगत अध्ययन गर्दा समेत जग्गा प्राप्तिको विषय आयोजनाका लागि समस्याको रुपमा देखिएको थियो ।

प्रवद्र्धक एकमुष्ठ रुपमा प्रतिरोपनी रु सात लाख ५० हजारसम्म निजी जग्गाको मूल्य तिर्न तयार देखिएको छ, तर स्थानीयवासीको माग भने रु २० लाख ५० हजारको रहेको छ । तीनपटक प्रवद्र्धक र स्थानीयबीच वार्ता भए पनि कुरा मिल्न सकेको छैन । जिएमआरसँग भएको आयोजना विकास सम्झौता(पिडिए)मा दुई वर्षभित्र जग्गा प्राप्त हुन नसके सरकारले प्रक्रिया सुरु गर्नसक्ने छ भन्ने प्रावधान रहेको छ । सरकारी दर प्रर्वद्धकले प्रस्ताव गरे भन्दा एकदमै न्यून रहेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा पनि जग्गा प्राप्तिकै विषय गम्भीर समस्याको रुपमा रहेको छ । कुनै एउटा आयोजनाले निर्णय गरेको खण्डमा त्यसैलाई आधार बनाएर अगाडि बढ्नसकिन्छ भन्ने मान्यता पनि जबरर्जस्ती स्थापित भएको छ । सो मान्यतालाई नै आधार मान्दा स्थानीयवासी सहमतिमा आएनन् भने त्यतिखेर आयोजनाका लागि सहज वातावरण बन्ने अवस्था कम रहन्छ ।

स्थानीयवासीलाई फाइदा हुने र प्रवद्र्धकलाई पनि सहज हुने गरी बीचको बाटो खोल्ने तयारी गरिएको स्थानीय सरोकार समितिका अध्यक्ष बमबहादुर बिसी बताउनुहुन्छ । “हामी सहमतिका लागि प्रयासरत छाँै, प्रवद्र्धक कम्पनी वार्तामा बस्न तयार भए समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो ।

जिएमआर माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रमुख डिके सिंह परियोजनाका लागि स्थानीय जनताको सहयोग जरुरी रहेको बताउनुहुन्छ । “स्थानीयसित सघन छलफलमा गर्दैआएका छौँ, संवाद सार्थक परिणाममा पुग्छ भन्नेमा विश्वस्त छाँै । केही समयभित्रै आयोजनाले गति लिन्छ,” उहाँले भन्नुभयो ।

जिएमआरले गत वर्षको गोरखा भूकम्प, राजनीतिक अस्थिरता, इन्धन आपूर्ति र निजी जग्गा दर्तामा भएको अवरोध, बन्द हड्ताल आदि कारणले सोचेजति काम अगाडि बढ्न नसकेको बताउँदै आएको छ । यस्तै सुर्खेत र काठमाडौँमा आयोजनाको कार्यालयमा गरिएको विस्फोट, सवारी साधनमा भएको आगजनीलाई पनि समस्याको रुपमा उल्लेख गरेको छ ।

प्रमुख दलका सांसदहरु आयोजनामा कुनै पनि बाहानामा अवरोध गर्न नहुने पक्षमा हुनुहुन्छ । सांसद कमलप्रसाद पङ्गेनी भारतीय कम्पनीले माथिल्लो कर्णाली आयोजना अगाडि बढाएपछि त्यसबाट भित्रने सीप, प्रविधि तथा अवसरले मुलुकका अन्य आयोजना निर्माणमा समेत सघाउ पुग्ने बताउनुहुन्छ ।

अर्का सांसद बलराम अधिकारी पनि आयोजनाले विभिन्न सम्भावनाको ढोका खोल्ने भएकाले विरोधको नाममा विरोध गर्ने प्रवृत्ति गलत भएको बताउनुहुन्छ । सांसद सीता नेपालीले स्थानीयवासीको मागलाई समेत सम्बोधन गरेर सबै दलको सहमतिमा आयोजना अगाडि बढाउँदा त्यसले सहज वातावरण बनाउने बताउनुभयो ।

लगानी बोर्डले स्थानीय जनताको माग सम्बोधन गर्ने र प्रवद्र्धकलाई सहज वातावरण बनाउन समन्वय गरिरहेको छ । पुनःस्थापना तथा पुनःबासका लागि प्रारम्भिक अध्ययन समेत भइसकेको छ । अध्ययन प्रतिवेदन बोर्ड बैठकले पारित गर्नुपर्ने छ । यस्तै प्रवद्र्धकले आफूले गर्नुपर्ने काम समपन्न गरेर वित्तीय स्रोतको जोहो गर्नतर्फ लाग्नुपर्ने देखिन्छ । त्यसो भए मात्रै आयोजना अगाडि बढ्छ भन्ने विश्वास पैदा हुने स्थानीय तिलकबहादुर शाही बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter