बुद्ध मूर्ति सार्ने निर्णय विवादमा, नसार्न बौद्ध संस्थाको आग्रह

Buddhaदीपक घिमिरे / रुपन्देही, १७ असार । रुपन्देही सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक राख्ने जिल्लास्तरीय निर्णय विवादमा परेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले देवकोटा चोकमा महाकवि देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बुद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाले विरोध जनाएपछि उक्त निर्णय नै विवादमा परेको हो ।

गत असार १३ गते बसेको बैठकले देवकोटा चोकमा रहेको बुद्धको प्रतिमालाई भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्ने बेलहियास्थित पर्यटन कार्यालयमा स्थानान्तरण गर्ने निर्णय एक पक्षीय भएको भन्दै ती सङ्घ संस्थाले सबै दल सामेल गरी अर्को सर्वपक्षीय भेला भैरहवामै आयोजना गरेर निर्णय सच्याउन आग्रह गरेको छ ।

बुद्धधर्मसँग सम्बन्धित धर्मोदय सभा, थारु कल्याणकारिणी सभा, विभिन्न बौद्ध गुम्बा, गुरुङ समाज, नेपाल मगर बौद्ध समाज, सिद्धार्थ बौद्ध समाज, नेपाल मगर भूपू सैनिक नगर सङ्घ, नेपाल महिला मगर सङ्घ, नेपाल मगर एकाइ समितिलगायतका स्थानीय सङ्घ संस्थाले भैरहवामा कार्यक्रमको आयोजना गरी भगवान् गौतमबुद्धको प्रवित्र जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार सिद्धार्थनगरमा राखिएका कुनै पनि बुद्धका मूर्तिलाई निकाल्ने काम उपयुक्त नभएको भन्दै मूर्ति निकालिए राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसको नकारात्मक सन्देश जाने बताए ।

धर्मोदय सभा सिद्धार्थनगरका अध्यक्ष सुर्वणमुनि शाक्यले भैरहवादेखि लुम्बिनीसम्म विभिन्न स्थानमा बुद्धका मूर्ति थप्नुको साटो भएको मूर्तिलाई अन्य स्थानमा सार्ने निर्णय सकारात्मक नभएको टिप्पणी गर्नुभयो । उहाँले देवकोटा चोकमा रहेको उक्त मूर्ति हटाइए शान्ति एवम् धार्मिक सहिष्णुता खल्बलिन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा भएको निर्णयलाई तत्काल सच्याउन आग्रह गर्नुभयो ।

त्यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन (भिक्षु निग्रोध)ले स्थापित भइसकेका मूर्ति हटाउँदा विश्वमाझ नकारात्मक सन्देश जाने भएकाले स्थापित मूर्ति नहटाउन सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो । उहाँले मूर्ति हटाउने निर्णयले आफूहरुलाई निकै दुःखी तुल्याएको पनि बताउनुभयो ।

दलहरु पुनःविचारको पक्षमा

भैरहवाको देवकोटा चोकमा बुद्धको मूर्ति हटाएर लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको मूर्ति स्थापना गर्ने यस अघिको निर्णयलाई पुनःविचार गर्न दलहरुले आग्रह गरेका छन् ।

जिप्रका रुपन्देहीले आज आयोजना गरेका सर्वपक्षीय भेलामा दलका जिल्लास्तरीय नेताले बोल्दै बुद्धको मूर्ति हटाएर देवकोटाको मात्रै मूर्ति राख्ने विषयका कारण समाजमा धार्मिक सहिष्णुतामा खलल पुग्न सक्ने चिन्ता व्यक्त गर्दै निर्णयमाथि पुनःविचार गर्न आग्रह गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य विष्णु थापाले अहिलेकै संरचनालाई कायम राख्न आग्रह गर्नुभयो । उहाँले सबैको सहमति बिना मूर्ति स्थानान्तरण गरिए समस्या निम्तिन सक्ने भन्दै सबैको सहमतिमा मात्रै काम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका मकसुत अलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव पार्ने यस्ता विषयमा हतारमा निर्णय गरिएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बुद्धमार्गीको सहमति बिना गरिएको निर्णय अपूरो रहेको दाबी पनि गर्नुभयो ।

सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले रुपन्देहीको पहिचानको रुपमा रहेको बुद्धको मूर्तिलाई हटाउन नहुने तर्क राख्नुभयो । उहाँले नेपाललाई विश्वमाझ चिनाउने बुद्धका मूर्तिलाई विभिन्न स्थानमा थप्नुका सट्टा हटाउने कुरा जायज नभएको बताउनुभयो ।

देवकोटाको मूर्ति राख्न रु सात लाख

देवकोटा चोकमा देवकोटाको पूर्ण कदको सालिक राख्ने कार्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु सात लाख छुट्टाएको छ । सो सालिकको कुल लागत रु १० लाख लाग्ने गरी मूर्तिकार यमबहादुर थापालाई जिम्मा दिइएको र सालिक असार २२ गतेभित्र भैरहवा आइपुग्ने सालिक निर्माणमा पहल गर्ने मुख्य संस्था सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय विभूति देवकोटाको सालिक राख्ने विषयमा पछि विवाद नआओस् भन्ने ध्येयले जिल्ला प्रशासनको आह्वानमा जिल्लास्तरीय भेला आयोजना गरी सालिक स्थापना गर्न लागिएको बताइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter