श्रम तथा रोजगारमन्त्री बोहराको मलेसिया भ्रमण विवादमा; भ्रमण उपलब्धिमूलक– मन्त्री बोहरा

dipakकाठमाडौँ, १९ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ ।

मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो ।

बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै त्यही दिन पत्रकार सम्मेलन गरी आफूहरुको भ्रमणमा अपमान भएको बताए । उनीहरुले केबल घुमाउन लगिए जस्तो टोलीमा सहभागी गरेर बिना उपलब्धि त्यसै फर्काइएको बताए ।

व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप लगाए । शनिबार फर्किनुभएका मन्त्री बोहराले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गर्नुभयो । उहाँले भन्नुभयो, “ हामीले व्यवसायीलाई पनि छलफलमा सहभागी गराउन चाहेका हौँ तर मलेसियाली पक्ष नमानेपछि सकिएन ।”

उहाँले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको टिप्पणी गर्दै मलेसियाका तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको स्पष्ट पार्नुभयो । भ्रमणका क्रममा विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात रहनपुग्यो । व्यवसायीले पत्रकार सम्मेलनमा राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै नेपाल फिर्ता बोलाउन माग गरेका थिए ।

त्यसलगत्तै मलेसियास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै त्यसमा आपत्ति जनायो । मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन ।

मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गर्नुभयो तर उल्लेख्य कुनै सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिनातयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् ।

भ्रमण उपलब्धिमूलक– मन्त्री बोहरा

श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो मलेसिया भ्रमण उपलब्धिमूलक भएको बताउनुभयो ।

भ्रमणमा मलेसियाका मानव संसाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उहाँले बताउनुभयो ।

भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उहाँको दाबी छ । केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको उहाँले जानकारी दिनुभयो ।

मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी ४६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो । छ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter