खाडीको मरभूमिभन्दा गाईगोठ नै ठीक

Cowराजाराम कार्की / काभ्रे, २० असार । विदेशमा दिने समय आफ्नै गाईभैँसीको गोठमा उपयोग गर्दा लखपति मात्र नभई आत्मनिर्भर भइन्छ भन्ने काभ्रेको कुशादेवी पुगे देख्न पाइन्छ ।

काठमाडौँबाट करिब ४० किलोमिटर टाढा अवस्थित कुशादेवीको कुल जनसङ्ख्याको २० प्रतिशत घरधुरीले पशुपालन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् । पहिला खाडी क्षेत्रमा काम गरेका युवा कुशादेवीमा सक्रिय देखिन्छन ।

स्थानीय शिक्षक दिनेश हुमागार्इं भन्नुहुन्छ – “एसएलसी उत्तीर्ण भएपछि मलको डोको बोक्न र गाईबस्तु स्याहार्न लजाउने युवायुवती यहाँ कम्मर कसेर पशुपालनमा लागेका छन् ।” यहाँका विद्यार्थी गन्तव्यमा पुग्नुअघि क्यानमा दूध बोकी डेरीमा पु¥याउँछन् अनिमात्र बाटो लाग्छन् । प्रत्येकको घरमा कम्तीमा तीन वा चार वटा दुधालु गाईभैँसी छन् ।

दूध बिक्रीबाट प्रतिव्यक्तिले सरदर मासिक रु २५ हजारसम्म आम्दानी गर्ने गरेका हिमालयन दूध चिस्यान केन्द्र कुशादेवीले जनाएको छ । करिब सात हजार ५०० जनसङ्ख्या रहेको कुशादेवीका किसानले दूध बिक्रीबाट वार्षिक रु २२ करोड आम्दानी गर्छन् । दूध व्यवसायमा करिब एक हजार १२५ घरधुरी आश्रित छ भने यसले ग्रामीण अर्थतन्त्रमा मद्दत पुगेको छ ।

कुशादेवीमा व्यक्तिपिच्छेको पाखो जमिनलाई घाँसे मैदानमा रुपान्तरण गरिएको छ । आली, कान्ला, भिर कुनै जमिन बाझो छैन । भिरपाखा बारीका कान्लाभरि लत्रिएका हरिया र पोसिला घाँस देख्दा जोकोहीले पशुपालन गर्दा असफलता व्यहोर्नु पर्ला जस्तो लाग्दैन । त्यहाँ पुगेपछि मिहेनत गरे परिणाम प्राप्त गर्न खाडीको मरुभूमिभन्दा गाईगोठ नै ठीक रहेछ भन्ने अभास हुन्छ ।

सरकारले आव २०७३÷७४ को बजेटमार्फत आगामी तीन वर्षभित्र दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । लक्ष्य प्राप्तिका लागि सरकारी योजना सफलतापूर्वक कार्यान्वयन गरे असम्भव नहुने कृषि विकास मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ बताउनुहुन्छ ।

नेपाल डेरी एसोसिएसनका अनुसार हाल नेपाली बजारमा दूधको माग दैनिक ९६ लाख लिटर छ भने दैनिक उत्पादन ४८ लाख लिटर मात्र छ । आगामी तीन वर्षभित्र दूधबाट पूर्ण आत्मनिर्भर हुन उत्पादनमा दोब्बर वृद्धि गर्नुपर्छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाल चार लाख ५० हजार व्यक्ति दूध तथा दूधजन्य वस्तु उत्पादन तथा बिक्री वितरणमा आबद्ध भएको तथ्याङ्क छ । लक्ष्य प्राप्तिका लागि आगामी तीन वर्षमा नौ लाख व्यक्ति दूध उत्पादन तथा बिक्री व्यवसायमा आबद्ध हुनुपर्ने छ ।

कुशादेवी जस्तै अन्य ठाउँका युवाले दूध उत्पादनमा सक्रियता देखाए आगामी तीन वर्षमा मुलुक दूध उत्पादनमा आत्मनिर्भर हुने एक गाउँ एक उत्पादन (डेरी) कार्यक्रम कार्यान्वयन समिति काभ्रेका अध्यक्ष सुरकृष्ण वैद्य दाबी गर्नुहुन्छ । कुशादेवीमा किसानले दैनिक १० हजार लिटर दूध बिक्री गर्छन् ।

मासिक तीन लाख लिटर दूध उत्पादन गर्न १८ हजार व्यक्तिलाई प्रत्यक्ष दूध उत्पादनतर्फ संलग्न गराउन सकिए सरकारको लक्ष्य पूरा हुने देखिन्छ । उक्त परिणाम हासिल गर्न एक व्यक्ति वा फार्मले दैनिक २६७ लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । हाल सो स्थानका किसानले दैनिक प्रतिलिटर दूध रु ६० मा बिक्री वितरण गर्दै आएका छन् ।

सरकारले आव २०६३÷६४ को बजेट वक्तव्यमार्फत घोषणा गरेको एक गाउँ एक उत्पादन (ओभिओपी) कार्यक्रमले कुशादेवीमा थप उत्साह प्रदान गरेको छ । सो परियोजनामार्फत किसानलाई सर्वसुलभ ऋण, नश्ल तथा गोठ सुधार, गाईभैँसीको आयातमा सहजीकरण, घाँसका बीउबिजन निःशुल्क वितरणलगायतका कार्यक्रम मुख्य रहेको ओभीओपी कार्यक्रमका संयोजक ईश्वर केसी बताउनुहुन्छ ।

उक्त कार्यक्रमको अनुशरण जापानबाट गरिएको छ । कार्यक्रम कार्यान्वयन सार्वजनिक, निजी र साझेदारी अवधारणअनुरुप उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को सहकार्यमा कृषि उद्यम केन्द्र (केइसी)मार्फत देशको ४६ जिल्लामा लागू भएको छ । नेपाली अर्थतन्त्रमा प्रमुख हिस्सा रहेको दूध र दुग्धजन्य पदार्थको कुल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान छ ।

किसानले सहरबाट गाउँमा वार्षिक करिब रु १२ अर्ब रकम दूध र दुग्धजन्य पदार्थ बिक्रीबाट भित्र्याउँदै आएका छन् । नेपालीले प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लिटर उपभोग गरेको पाइन्छ । विश्व खाद्य सङ्गठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्ने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter