जैविक विविधता संरक्षणमा ज्येष्ठ नागरिक

elderly people Nepalभीष्मराज ओझा / काठमाडौँ, २२ असार । निष्क्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र उहाँहरुको अनुभवलाई जैविक विविधता संरक्षणमा परिचालन गर्ने अभियान सुरु गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, एजिङ नेपाल र श्री अष्टभूजा समाजको संयुक्त आयोजनामा सो अभियानअन्तर्गत आज ज्येष्ठ नागरिकलाई वनस्पति र जनावरमा भएको अन्तरसम्बन्धबारे जानकारी गराउन सदर चिडियाखाना जावलाखेलको अवलोकन गराइएको हो ।

चिडियाखाना पुग्नुभएका ६८ जना ज्येष्ठ नागरिकले त्यहाँ रहेका वन्यजन्तुको उत्सुकतापूर्वक अवलोकन गर्नुका साथै चिडियाखानाका कर्मचारीसँग वन्यजन्तुका बारेमा आफूलाई लागेका जिज्ञासा राख्नुभएको थियो ।

ज्येष्ठ नागरिकलाई वातावरण र प्राणीबीचको सम्बन्धका बारेमा जानकारी गराउँदै कोषका सदस्य–सचिव डा गोविन्द गजुरेलले भन्नुभयो, “प्राकृतिक बासस्थानमा मानिस र वन्यजन्तु दुबैको बराबरी अधिकार हुनुपर्छ ।”

आज लोपोन्मुख अवस्थामा रहेका जीवजन्तुलाई सबै मिलेर संरक्षण नगरे भोलिका सन्ततीले त्यस्ता जीवजन्तुको बारेमा बुझ्न फोटोमा हेर्नुपर्ने अवस्था सिर्जना हुने उहाँको धारणा थियो ।

हाल विश्वको कूल जनसङ्ख्याको १३ प्रतिशत ज्येष्ठ नागरिकले ओगटेको छ भने यो जनसमूह वृद्धि हँुदै सन् २०५० सम्ममा २२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सन् २०११ को जनगणना अनुसार नेपालमा कूल जनसङ्ख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिक छन् । चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्ती र गणेश कोइरालाले ज्येष्ठ नागरिकलाई अवलोकन गराउनुका साथै चिडियाखानाको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले जैविक विविधता संरक्षणसम्बन्धी परम्परागत ज्ञान र सीपको एकमात्र स्रोत ज्येष्ठ नागरिक भएकाले उहाँहरुलाई वैज्ञानिक तालिम दिएर उक्त ज्ञानलाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले चिडियाखानाको भ्रमणपश्चात् ज्येष्ठ नागरिको समूह गठन गरी शिवपुरी राष्ट्रिय निकुञ्जको संरक्षण सम्बन्धी सञ्चालित हुँदै आएका कार्यक्रमलाई बढी प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

समाजका तर्फबाट ज्येष्ठ नागरिकलाई अवलोकनको संयोजन गर्नुभएका किरण बस्नेतले ज्येष्ठ नागरिकलाई चिडियाखानाको भ्रमणले नयाँ ज्ञानको अनुभव हुने र यसमा उहाँहरुसँग भएको ज्ञानलाई पनि उपयोग गर्न सकिने बताउनुभयो ।

झन्डै २५ वर्षपछि चिडियाखाना अवलोकनको साइत जुरेकोमा खुसी व्यक्त गर्दै ७१ वर्षीया पवित्रा गौतमले साथीभाइसँग चिडियाखाना घुम्दा रमाइलो हुनुका साथै नयाँ कुरा सिक्ने मौका पाएको बताउनुभयो ।

चिडियाखाना अवलोकनमा आउनुभएका ज्येष्ठ नागरिकमध्ये आफू सबैभन्दा ज्येष्ठ भएको दाबी गर्नुहुने ८६ वर्षीय गोविन्दप्रसाद आचार्यले पनि साथिभाइसँग सामूहिक भ्रमणले मन आनन्द भएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९८९ मा निजी रुपमा स्थापना गरेको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणका लागि खुल्ला गरिएको हो । कुल छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा १०५ प्रजातिका ७५३ वटा वन्यजन्तुको संरक्षण र व्यवस्थापन गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter