विशेष नमाज पढेर इद उल फित्र मनाइँदै; राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुद्वारा इदको शुभकामना

Eid festivalकाठमाडौँ, २३ असार । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद उल फित्र मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

“दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहीबार इद उल फित्र पर्व मनाउन लागिएको हो, यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाई मनाउँछन्”– उहाँले भन्नुभयो ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्नुभएको छ । विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हामी नेपालीले सदियौँदेखि एकअर्का समुदायका धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै आएका र इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सद्भावयुक्त संस्कृतिको निरन्तरता आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

अन्त्यमा, सम्पूर्ण नेपालीबीचको एकता, हार्दिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावका लागि यस पर्वका अवसरमा फेरि एकपटक मुस्लिम समुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु भनी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पु¥याउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्माबलम्वीहरूको महान् पर्व इद (इद उल फित्र)को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्माबलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

इदका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझ बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना (इद मुवारक) प्रकट गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै सभापति देउवाले यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले नयाँ संविधान निर्माण पछि पनि उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, अल्पसङ्ख्यकलगायत सम्पूर्ण उत्पीडित समुदायको माग पूरा नभएको सन्दर्भमा संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा पूर्ण अधिकार प्राप्तिको अभियानमा लाग्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसै पर्वको अवसरमा पूर्व सांसद मञ्च नेपालले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना (इद मुवारक) प्रकट गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकन्द्रबहादुर चन्दले मुलुकका सबै धर्म, सम्प्रदाय र जातिबीच एकता, स्नेह, सद्भाव, अपनत्व र भाइचारको सम्बन्धलाई यो पर्वले अझ प्रगाढ बनाओस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै नेकपा (माले)का महासचिव सिपी मैनालीले यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि मुस्लिम समुदायको महान् पर्व इदुल फित्रको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

त्यस्तै नेपाल हज समिति र तराइ मधेस लोतान्त्रिक पार्टीले पनि मेलमिलाप र पवित्रताको महान् पर्व इद उल फित्र २०७३ को अवसरमा देशभित्र र बाहिर रहेका सबै इस्लाम धर्मावलम्बी दिदीबहिनी दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter