हस्तकलाका उत्पादनप्रति आकर्षण बढ्दो (आलेख)

Kanchanpurदीपक घिमिरे / रुपन्देही, २३ असार । महिलाले निर्माण गरेका हस्तकलाका उत्पादनप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ ।

सामाजिक र आर्थिक रूपान्तरणका लागि महिला उद्यमशीलता भन्ने मुख्य उद्देश्य लिएर भैरहवाको बैंक कलोनीमा खोलिएको नमुना कोसेली घरमा राखिएका महिला हस्तकलाको उत्पादनप्रति आम नागरिकको आकर्षण बढ्दै गएको हो ।

नमुना एकीकृत विकास परिषद्को सक्रियतामा खोलिएको नमुना कोसेली घरमा राखिएका महिलाद्वारा निर्मित हस्तकलाका वस्तुलाई अधिकांशले मन खुलाएर लैजाने गरेको कोसेली घरले जनाएको छ ।

महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन आफूले महिला उद्यमशीलताको अवधारणाअनुसार पहिलो चरणमा महिलाबाट ढाका, कटन र खरबाट विभिन्न किसिमका घरायसी सरसामानको उत्पादन गरी बजार प्रवद्र्धन गर्ने सोच बनाएको कोसेली घरकी सञ्चालक ज्ञानु पौडेलले जानकारी दिनुभयो । द्वन्द्व प्रभावित, एकल, हिंसा पीडित, अपाङ्गता भएका, वैदेशिक रोजगारबाट फर्किएका तथा हस्तकलासम्बन्धी सीप भएका महिलाले तयार पारेर ल्याएका विभिन्न किसिमका तयारी सामानको बजार प्रवद्र्धनको काम नमुना कोसेली घरले गर्दै आएको छ ।

उहाँका अनुसार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिक्री कक्ष राखिएको छ भने बैंक कलोनीमा बिक्री एवम् भण्डारण कक्ष राखिएको छ । दुवै ठाउँबाट सन्तोषजनक रूपमा महिला हस्तकलाका सामानको बिक्री हुने गरेका छन् । “आत्मनिर्भर र आर्थिक रुपमा सबल नभएकै कारण कतिपय महिला हिंसामा परेका छन्,” पौडेलले भन्नुभयो – “महिलालाई उत्पादनशील कार्यमा व्यस्त बनाउन सकियो भने हिंसाका घटना न्यून हुनाका साथै आर्थिक रुपमा पनि सबल र सक्षम हुन्छन् । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी निर्माण गरिएको यस्ता हस्तकलाले आफ्नो देशको पहिचान झल्काउनुका साथै कला–संस्कृति बचाउन र स्वदेशी वस्तुको प्रवद्र्धन गर्न सघाउ पुग्छ ।”

महिलाले उत्पादन गरेका हस्तकलाका सामान नेपालीभन्दा विदेशका नागरिकले बढी मात्रामा लैजाने गरेको कोसेली घर बिक्री कक्षमा काम गर्दै आउनु भएकी अजिता थापाले जानकारी दिनुभयो । उहाँले विदेशी नागरिकले नेपाली हस्तकलाका सामान ज्यादै रुचाएको उल्लेख गर्दै नेपाली हस्तकलाका सामानलाई नेपालीबीच अझै प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । गौतमबुद्ध विमानस्थलमा राखिएको बिक्री कक्षमा अहिलेसम्मको बिक्रीको अवस्थालाई सामान्य रुपमा हेर्दा नेपालीको तुलनामा विदेशी नागरिकले बढी मात्रामा खरिद गर्ने गरेको पाइएको छ । उहाँले भन्नुभयो – “बिक्रीको सरदर अवस्थालाई हेर्ने हो भने मैले एक दिनमा एक हजारदेखि १५÷१६ हजारसम्म बिक्री गरेकी छु ।”

कोसेली घरमा बिक्रीका लागि राखिएका सामानमध्ये ढाकाको ब्याग, खादा, पर्स, सल, साडी, स्कार्फ, कटनका टिसर्ट, पाइन्ट, सर्ट, झुम्के थैली, रङ्गीन ढकिया, घर सजावटका सामान, पेन होल्डर, फुड ट्रे, कि रिङ र डस्टबिनको बिक्री बढी हुने गरेको थापाले जानकारी दिनुभयो ।

हस्तकलाप्रति आम मानिसको रुचि बढ्दै गएपछि हस्तकलाका क्षेत्रमा काम गर्ने महिलाको दिनचर्या पनि बदलिएको छ । हस्तकलासम्बन्धी काम गर्ने कपिलवस्तु बरकलपुरमा रहेको हरियाली हस्तकला महिला समूहकी सदस्य शिवकुमारी थारुले हस्तकलाका सामानप्रति धेरैको रुचि बढेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो – “हामीहरू पहिला घरकै काममा मात्रै अल्झने गर्दथ्याँै । हस्तकलासम्बन्धी सीप सिकेपछि गाउँका महिला मिलेर एउटा समूह नै बनाएर काम गरिरहेका छौँ ।”

उहाँका अनुसार सुरुसुरुमा आफूहरुले जलमा पाइने मुज, कास, कुशलगायतका कच्चापदार्थ ल्याएर बनाएका चकटी, डस्टबिन, फ्रुट बक्स, किस्ती, शृङ्गार बक्स, चुडिकेस, ज्वेलरी बक्स, पेन होल्डर जस्ता धरै सामान बजार तथा मेलामा मात्रै बेच्न लैजाने गथ्र्यौं तर अहिले भने भैरहवामा रहेको नमुना कोसेली घरबाट यस्ता सामानको माग भएपछि भ्याइनभ्याई छ ।

उहाँले हस्तकलाका सामान बिक्री गरेर उठेको रकममध्ये पाँच प्रतिशत हरियाली हस्तकला महिला समूहमा राख्ने र बाँकी पैसा समूहमा रहेका सम्पूर्ण महिला मिलेर बाँड्ने गरेको बताउनुभयो । हस्तकलाले व्यावसायिक रूप नलिँदासम्म आफूहरु श्रीमान्सँग आश्रित हुनपरेको बताउँदै उहाँले व्यावसायिक सफलता सँगसँगै आफूहरुलाई घर खर्च चलाउन तथा बालबच्चालाई पढाउन समेत निकै सहयोग मिलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “यही कमाइबाट हामीले बचत पनि गरेका छौँ । घरकै काममा व्यस्त रहने हामी महिलालाई अहिले हस्तकलाको सीपले घरबाट बाहिर ल्याएर आत्मविश्वासी र आर्थिक रुपमा सबल बनाइदिएको छ ।”

महिलाको उद्यमशीलता बढाउन खोलिएको नमुना कोसेली घरका उत्पादनको बजार व्यवस्थापनका लागि घरेलु तथा साना उद्योग कार्यालयले समन्वय गर्दै आएको छ ।

कार्यालयका प्रमुख डण्डपाणि भुसालले स्वदेशी उत्पादनलाई सबैको सहयोगमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो कार्यालयले पनि नमुना कोसेली घरले उत्पादन गरेका स्वदेशी सामानको प्रवद्र्धनका लागि सक्दो सहयोग गरिआएको बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले स्वदेशी वस्तुको उत्पादनलाई बढावा दिनुपर्ने धारणा राख्नुभयो । स्वदेशी कच्चा पदार्थ, स्वदेशीपना र स्वदेशी श्रम मिसिएका वस्तुलाई प्रवद्र्धन गर्न सकिए आत्मनिर्भर बन्ने विश्वास प्रकट गर्दै प्रजिअ ढकालले भन्नुभयो – “नेपाली सीप र कलाबाट उत्पादित वस्तुको प्रयोग बढाउन सके आयात प्रतिस्थापनमा समेत ठूलो सहयोग मिल्ने थियो ।” सरकारले स्वदेशी वस्तुको उत्पादन तथा खरिद बिक्रीमा टेवा पुगोस् भन्ने उद्देश्यले स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०७१ जारी गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

स्वदेशी वस्तुको उपयोग तथा खरिदका लागि विदेशी वस्तुको मूल्यभन्दा १० प्रतिशतसम्म महङ्गो भए पनि खरिद गर्न सक्ने गरी सार्वजनिक खरिद नियमावलीमा नियमै रहेको छ । सम्पूर्ण सरकारी कार्यालयले समेत आफ्नो कार्यालयलाई आवश्यक पर्ने सरसामान स्वदेशी नै प्रयोग गरिदिन पनि प्रजिअ आग्रह गर्नुहुन्छ ।

उहाँले पछिल्लो समय स्वदेशी वस्तुको प्रयोग पहिलेको तुलनामा बढेकामा सन्तोष पनि प्रकट गर्नुभयो । उहाँका अनुसार स्थानीय महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्न लुम्बिनीस्थित बसपार्कमा स्वदेशी वस्तु राख्ने प्रदर्शनी तथा बिक्री कक्षका लागि ठाउँ तयार गर्न लुम्बिनी विकास कोषलाई समेत आग्रह गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter