डा केसीको आठौँ पटकको अनशन सुरु, विरोधमा प्रदर्शन

dr_govindaकल्पना पौडेल / काठमाडौँ, २६ असार । चिकित्सा शिक्षामा सुधारको चारबँुदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गोविन्द केसीले आजदेखि पुनः आठौँ पटक अनशन सुरु गर्नुभएको छ ।

सरकारले पटक पटक आफूले उठाएका माग पूरा गर्नेबारे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालमै रहेको गणेशमान इएनटी भवनमा पुनः आमरण अनशन सुरु गरेको उहाँले घोषणा गर्नुभयो ।

आज ४:४५ बजेदेखि अनशन सुरु गरेका केसीले अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै देशमा सुशासन कायम गर्ने जिम्मा लिएको संवैधानिक निकाय विधि कुल्चेर आफ्ना पदाधिकारीको व्यापारिक स्वार्थ पूरा गर्न लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “यसले गर्दा स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा बदमासी गर्ने पुरस्कृत हुने र सही काम गर्ने हतोत्साहित भइरहेकाले यसलाई तत्काल सुधार्नु पर्छ ।” डा केसीले यसपटक अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसमेत अगाडि सार्नुभएको छ ।

अनशन बस्नुअघि डा केसीले सरकारलाई चारबुँदे माग राख्दै दुई साताको अल्टिमेटम दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वार्ताका लागि बोलाए पनि डा केसीले सरकार गम्भीर नभएको भन्दै आफू नगई सहयोगीलाई वार्तामा पठाउनुभएको थियो । वार्तामा उहाँका सहयोगी डा जीवन क्षेत्रीलगायत अन्य दुई चिकित्सक र अन्य दुई विद्यार्थी बालुवाटार पुग्नुभएको थियो ।

वार्तामा प्रधानमन्त्रीले माग विस्तारै पूरा गर्ने आश्वासन दिँदै अनशनमा नबस्न आग्रह गर्नुभएको डा क्षेत्रीले जानकारी दिनुभयो । चिकित्सा शिक्षा ऐनको मस्यौदामा रहेका सबै सरकारी मेडिकल शिक्षण संस्थाको आर्थिकभार सरकारले बेहोर्दै तीनमा सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौँ उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण रोक्नुपर्ने माग अघि सार्नुभएको छ ।

उहाँले अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालय र मेडिकल काउन्सिलले निर्धारण गरे झैँ हुने व्यवस्था गर्नुपर्ने, आगामी शैक्षिकसत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायसित समन्वय गर्नुपर्ने माग पनि राख्नुभएको छ ।

साथै, आफन्तको नीहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेको, भ्रष्टलाई संरक्षण दिएको र अरू जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने कुरा बुँदा ३ मा माग गर्नुभएको छ ।

अनशन बस्नुपर्ने अन्तिम तथा चौथो बुँदामा उहाँले माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौँमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने, विगतमा भएका लिखित सम्झौतालगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन हुनुपर्ने र चिकित्साशास्त्र अध्ययन संस्थानमा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग पनि गर्नुभएको छ ।

आमरण अनशनको विरोधमा प्रदर्शन

प्रा डा केसीले अनशन घोषणा गरेसँगै शिक्षण अस्पताल परिसरमा अस्पताल बचाऊ समूहका नाममा केही व्यक्तिका समूहले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले अस्पतालमा अनशन बसेर बिरामीलाई अवरोध पु¥याउन नहुने भन्दै डा केसीविरुद्ध नाराबाजी गरेका थिए । तनाव बढ्ने सम्भावना रहेकाले त्यहाँ प्रहरी परिचालन गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter