गाउँमा नगद भित्र्याउने माध्यम बन्यो आलुखेती (आलेख)

Potatoसन्तोष गौतम / म्याग्दी, ३० असार । म्याग्दीको हिस्तान–३ का धन तिलिजाले गत हप्ता ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । अघिल्लो वर्ष आलु बेचेर एक लाख ९० हजार रुपैयाँ आम्दानी गर्नुभएका तिलिजाले यसपालि पनि त्यति नै कमाई हुने अनुमान गर्नुभएको छ ।

तिलिजा जस्तै उत्तरी म्याग्दीको नागी, राम्चे, टिकोट, घराम्दी, खिवाङ, शिख, फलाते, चित्रे क्षेत्रका कृषक हिजोआज बारीमा फलेको आलु खन्न र बजारमा पठाउन व्यस्त छन् । उनीहरुलाई पिठ्यूँमा बोकेर आलु बेच्न बजार पुग्दासमेत उचित मूल्य नपाउने हो कि भन्ने चिन्ता छैन । बारीमा आलु नखन्दै व्यापारीबाट पेस्की बुझिसकेका छन् ।

पहिले अन्नसँग साटिने आलु बेचेर यहाँका कृषक पछिल्लो समय गाउँमा करोडौँ नगद भित्र्याउन सफल भएका छन् । उत्तरी म्याग्दीका मध्य पहाडी बस्तीमा बर्खे आलु प्रमुख आयस्रोत बनेको छ । गाउँमा सडक सुबिधासँगै आलु निकासी र नगद भित्रन थालेको हो । “घरायसी उपभोग र कोसेलीमा सीमित आलुखेती अहिले आयस्रोतको गतिलो माध्यम भएको छ,” तिलिजाले भन्नुभयो – “बजारको समस्या छैन । व्यापारीले पहिले नै पेस्की दिएर बारीबाटै आलु किन्छन् । फलाउन सकिए जति पनि बिक्री हुन्छ ।”

स्थानीय बासिन्दालाई आवत–जावतका लागि सुविधा, दैनिक उपभोग्य र निर्माण सामग्रीको ढुवानी तथा आलुलगायत कृषि उपज निकासीका लागि समुदायबाट करोडौँ लगानीमा सडक निर्माण भएको छ । न्यून सरकारी अनुदानसँगै चन्दा सङ्कलन र ऋण खोजेर सडक निर्माण भएको हो । नियमित रुपमा जिप, बस चल्न नसके पनि ट्याक्टरबाट आलु ढुवानी गर्न पाउँदा गाउँका कृषकलाई आम्दानी र सुविधाका हिसाबले राहत मिलेको महभिर टिकोट सडक आयोजनाका अध्यक्ष चन्द्रबहादुर पुनले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ३०० मिटरभन्दा माथिल्लो भूगोलमा अवस्थित सो क्षेत्रमा उत्पादन भएको आलु बेनी, पोखरा, कुश्मा, बागलुङ र काठमाडौँ निकासी हुने गरेको छ । बेनीमा ४५ र पोखरा पु¥याउँदा ५० रुपैयाँ प्रतिकिलोका दरले आलु बिक्री हुने गरेको टिकोटका धनबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार आलु बेचेर एकजना कृषकले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सो क्षेत्रका करिब एक हजार घरधुरी कृषकले व्यावसायिक आलुखेती गर्ने गरेका छन् । त्यहाँका कृषकले आलुखेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्दैनन् । प्राङगारिक मल र जैविक विषादीको प्रयोग गरेर किसानले आलुखेती गर्दै आएको राम्चेका राजु पुनले बताउनुभयो ।

छिटो पाक्नु, ठूला दाना तथा खाँदा स्वादिलो हुनु उत्तरी म्याग्दीमा उत्पादित आलुको विशेषता भएको कृषक पुनले बताउनुभयो । सो क्षेत्रमा केही वर्षयता मकै र कोदोको विकल्पमा आलुखेती हुन थालेको छ । बजार सुविधा भएपछि अन्नबालीको विकल्पमा आलुखेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

“उत्तरी म्याग्दीमा कोदो र मकै खेती घटेर आलुखेती विस्तार भएको छ,” थापाले भन्नुभयो – “बजार र सडक सुविधाको पहुँचसँगै कृषकले व्यावसायिक रुपमा आलुखेती गर्ने क्रम बढेको छ ।” वर्षाैंसम्म खेती हुन नसकेर बाँझिएको जमिन पनि आलुखेतीमा प्रयोग हुन थालेको छ । आलुखेती अन्य बालीको तुलनामा सजिलो मानिन्छ । दुई ३९ घरधुरीको बसोबास रहेको राम्चे गाविसबाट मात्रै गत वर्ष एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आलु निकासी भएको स्थानीय अगुवा कृषक भक्तबहादुर पुर्जाले बताउनुभयो ।

“गत वर्ष आलु बेचेर गाउँमा डेढ करोड रुपैयाँ भित्रिएको थियो,” पुर्जाले भन्नुभयो – “यसपालि वैशाख–जेठमा खडेरी र असार लागेपछिको झरीका कारण राम्चेमा आलु उत्पादन ७० प्रतिशतले घटेको छ ।”

बागबानी विकास अधिकृत थापाले प्रतिकूल मौसमका कारण यसपालि जिल्लाभर समग्रमा आलु उत्पादनमा कमी आउने अनुमान गरिएको बताउनुभयो । एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको म्याग्दीमा आर्थिक वर्ष २०७१७२ मा १६ हजार ५५३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गत वर्ष करिब छ करोड रुपैयाँ मूल्य बराबरको पाँच हजार २८२ मेट्रिक टन आलु जिल्लाबाहिर निकासी भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । पात्लेखेत, पाखापानी, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, राम्चे, हिस्तान, घार र शिख गाविस आलुखेतीका पकेट क्षेत्र हुन् । ती गाविसमा कृषि विकास कार्यालयले आलु उत्पादन आयोजना सञ्चालन गरेर अनुदानमा बीउ आलु वितरण, बीउ आलु भण्डारण भवन निर्माणमा सहयोगका साथै तालिम प्रदान गर्दै आएको छ । यस वर्ष बरञ्जा र लुलाङको मरेनीमा बीउ आलु भण्डारण भवन निर्माण भएका छन् । म्याग्दीमा एमएस ४२, कुफ्रिज्योती, कार्डिनल, एनपिआई १०६, टिपिएस, म्याग्दी लोकल जातको आलुखेती हुन्छ । माघ–फागुनमा महिनामा लगाइने बर्खेआलु असार–साउनको समयमा खन्ने गरिन्छ ।

आलुखेती म्याग्दीको प्रमुख निकासीयोग्य बालीका रुपमा विकास भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । गुणस्तरीय आलु उत्पादन वृद्धि र बजार प्रवद्र्धनमा कार्यालयले जोड दिएको उहाँको भनाइ छ । प्राङ्गारिक प्रविधिले आलुखेती हँुदै आएको राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी भएको छ । गाउँको मुख्य आयस्रोत आलुखेती बनेकाले राम्चेलाई चिनाउन आलु गाउँ घोषणा गर्ने योजना अघि सारिएको गाविस सचिव कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयसँग सहकार्य गरेर घोषणा गर्न पहलकदमी लिइँदै छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter