प्रधानमन्त्रीसमक्ष ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ प्रस्तुत

Media Reportकाठमाडौँ, ५ साउन । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आफ्नो प्रतिवेदन बुझायो ।

पाँच महिना लगाएर तयार पारिएको उक्त प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच समितिका अध्यक्ष काशीराज दाहालले प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो । प्रधानमन्त्री ओलीले सो प्रतिवेदन कार्यान्वयनका निम्ति सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो ।

समितिले सञ्चार माध्यममा हुने लगानीको पारदर्शीता, श्रमजीवी पत्रकारको हक अधिकार, मिडियाको पुनःसंरचना लगायतका विषयलाई करिब १०० बुँदामा आफ्नो प्रतिवेदनमा समेटेको छ ।

समितिले आमसञ्चारसम्बन्धी नियामक निकायको सम्बन्धमा राष्ट्रिय आमसञ्चार प्राधिकरण, सार्वजनिक सेवा प्रसारक नेपाल, विज्ञापन परिषद्को स्थापनाका साथै प्रेस काउन्सिलको भूमिका र संरचनामा सुधार गर्न प्रस्ताव गरेको छ ।

त्यसैगरी, पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि, सीप विकासका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र आमसञ्चारसम्बन्धी महत्वपूर्ण सामग्रीको संरक्षण तथा अनुसन्धानका लागि नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गर्नसमेत समितिले सिफारिस गरेको छ ।

मर्यादित पत्रकारिताको विकास र व्यावसायिक आचरण अभिवृद्धिका लागि प्रभावकारी प्रेस काउन्सिल, पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि, प्रभावकारी स्वनियमन, पेसागत संरक्षण, व्यावसायिक अभ्यासलाई प्रोत्साहन र पत्रकार सुरक्षाजस्ता विषय पनि प्रतिवेदनमा समाविष्ट छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारक (पिएसबी) का रूपमा परिणत गर्न पनि सुझाव दिइएको छ ।

“श्रमजीवी पत्रकारको पेसागत हकहितको संरक्षणका लागि श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तथा पत्रकार र सञ्चार माध्यमका भौतिक सुरक्षाको प्रत्याभूतिजस्ता विषयमा सिफारिस गरिएको छ”– अध्यक्ष दाहालले भन्नुभयो ।

दाहालका अनुसार राष्ट्रिय आमसञ्चार नीतिमा उल्लेख भएका विषयहरु कार्यान्वयन गर्न समयावधि किटान गरी कार्यान्वयन योजनासमेत प्रस्ताव गरिएको छ ।

मुलुकले अङ्गिकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीलाई विकसित गर्दै लग्ने सञ्चार नीतिको विशेषता रहेको अध्यक्ष दाहालको भनाइ छ ।

नेपाल सरकारले २०७२ साल माघ २० गते गरेको निर्णय बमोजिम गठित यस समितिले सरोकारवाला र विज्ञसँग परामर्श, राजनीतिक दलसँग छलफल, आमसञ्चारसँग सम्बन्धित सामग्रीको अध्ययन तथा विश्लेषण र अन्तर्राष्ट्रिय अनुभवको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको अध्यक्ष दाहालले बताउनुभयो । एक्काइस सदस्यीय समितिले २१ बुँदे प्रारम्भिक प्रतिवेदन जेठ १० गते सञ्चारमन्त्री राईसामु प्रस्तुत गरेको थियो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले समितिले दिएका सुझावलाई ध्यान दिएर सरकारले जतिसक्दो चाँडो कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लोपटक अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालले प्रेस स्वतन्त्रताको सदुपयोगभन्दा पनि बढी दुरूपयोग गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ४६ जिल्लामा पुगिसकेको अप्टिकल फाइबरको विस्तारलाई विसं २०७५ भित्र ७५ वटै जिल्लामा पु¥याउने सरकारको योजना रहेको समेत जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter