घुमफिर वर्षमा पर्यटन प्रवद्र्धनको अभियान चलाइने

File Photo of Pokhara

सिबी अधिकारी / काठमाडौँ, ७ साउन । प्राकृतिक तथा मानव सिर्जित विपत्तिमा परेको मुलुकको पर्यटन पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नेभएको छ ।

पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काई बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बोर्डले प्रवद्र्धनात्मक कार्यलाई अभियानकै रुपमा अघि बढाउन लागेको हो । यसका लागि बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रचारात्मक अभियानलाई योजनाबद्ध रुपमा अघि बढाउँदैछ ।

सरकारले घोषणा गरेको घुमफिर वर्ष–२०७३ र सन् २०१८ को नेपाल भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने तयारी गरेको हो । सरकारको नीति तथा कार्यक्रममै घुमफिर र भ्रमण वर्षलाई समावेश गरी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

घुमफिर र नेपाल भ्रमण वर्षलाई पर्यटन पुनरुत्थानको महत्वपूर्ण अभियानका रुपमा अघि बढाइने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्र २०७२ वैशाख १२ को गोरखा भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको पर्यटन क्षेत्र चौपट हुन पुग्यो । पछिल्लो समय पर्यटनले गति लिन थालेको पर्वतारोहण र पदयात्रा क्षेत्रमा देखिएको छ ।

पर्यटन विभागको विवरणअनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ६१८ जनाले आरोहण गरेका छन् । सो याममा ४५२ स्वदेशी तथा विदेशी आरोहीले सर्वोच्च शिखर सगरमाथाकोे आरोहण गरेका छन् । यसबाट झन्डै रु २६ करोड राजस्व (सलामी दस्तुर) सङ्कलन भएको छ ।

विदेशी पर्यटकलाई आकर्षित गर्न बिबिसी, सिएनएनजस्ता सञ्चारमाध्यममा सन्देश प्रसारण गरेर प्रवद्र्धनात्मक अभियान चलाउने बोर्डको तयारी छ । बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले प्रवद्र्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाई विदेशी पर्यटक बढाउन लागिपरेको बताउनुभयो । “नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रवद्र्धनका लागि गत आवमा रु आठ करोड बजेट विनियोजन गरिएको थियो, यस आवमा अझै थपिन्छ,” उहाँले भन्नुभयो ।

बोर्डले गत आवमा रु ८४ करोड बजेट विनियोजन गरेको थियो भने यस आवमा रु ९० करोडभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यान्त्रिक प्रणालीबाट प्रवद्र्धन

घुमफिर वर्षलाई सामाजिक सञ्जालामार्फत प्रवद्र्धनात्मक काम गरिरहेको बोर्डले अब उच्चतम प्रविधिको प्रयोग गरी प्रचारात्मक अभियानलाई प्रभावकारी बनाउने जनाएको छ । सञ्चालक समिति सदस्य सापकोटाले विगतमा मेनुअल (मानिसले चलाउने) प्रणालीद्वारा गरिँदै आएको बोर्डको प्रवद्र्धनात्मक कार्यलाई यस पटक डिजिटल (यान्त्रिक) प्रणालीबाट गरिने बताउनुभयो ।

‘पहिला देश त्यसपछि विदेश’ नाराका साथ घुमफिर वर्षलाई प्रभावकारी बनाउने र यसलाई सन् २०१८ को नेपाल भ्रमण वर्षको आधार तयार गर्ने रुपमा लिइएको छ । भारत र चीनका पर्यटकलाई आकर्षण गर्न विशेष कार्यक्रम ल्याइनेछ ।

“आफ्नै देशमा घुमफिर गर्न सचेतना फैलाउने मुख्य उद्देश्य हो, अहिले विदेशीभन्दा नेपालीले बढी घुम्ने र खर्च गर्न थालेका छन्,” उहाँले भन्नुभयो । घुमफिर वर्षलाई लक्षित गरी आन्तरिक पर्यटकलाई गन्तव्य व्यवस्थापक र सेवा प्रदायक होटल, ट्राभल एसोसिएसनबाट प्याकेज मगाइएको बोर्डले जनाएको छ ।

सन् २०१८ लाई प्रभावकारी बनाउन भिन्नै सचिवालय गठन गरी काम अघि बढाइने छ । घुमफिर वर्षको उद्देश्य घुम्न जाने वातावरण सिर्जना गर्ने, सन् २०१८ लाई घोषणा गरिएको नेपाल भ्रमण वर्षको तयारीका लागि पूर्वअभ्यास पनि हो ।

के छन् बोर्डका चुनौती

करिब छ महिनाअघि बोर्डको सिइओमा नियुक्त हुँदा दीपकराज जोशीले निकै महत्वकाङ्क्षी तर सान्दर्भिक कार्ययोजना अघि सार्नुभएको थियो । तर, बोर्डको विद्यमान संरचना, कानुनी उल्झन इत्यादिले सोचेअनुरुप कार्य हुन सकेन ।

बोर्डमा जनशक्ति अभाव छ । नौ वर्षदेखि बोर्डमा कुनै नियुक्ति भएकै छैन भने ६२ दरबन्दी रहेकामा २० जनाले मात्र काम गर्नुपर्ने बाध्यता छ । “देशकै वातावरणले पनि कतिपय काम गर्न सकिएन, अहिले बोर्डमा ७१ दरबन्दी नयाँ सिर्जना गरेका छौँ, पदपूर्ति समिति गठन भइसकेको छ, तीन महिनाभित्र टुङ्गो लाग्छ, नयाँ बजेटले थप दिशानिर्देश गर्छ” जोशीले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको सन् २०१५ को ‘नेपाल पर्यटन तथ्याङ्क’ अनुसार सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भ्रमणका लागि आएका थिए । सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter