मनास्लु पदमार्ग मर्मतको पर्खाइमा चुम तथा नुव्रीबासी

everest-trek-trailsप्रशन्न पोखरेल / गोरखा, १७ भदौ । उत्तरी गोरखामा दुई वटा मनोरम पर्यटकीय उपत्यका छन् – चुम तथा नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पार गाविस पर्छ भने नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्छन् । यी गाविसहरु हिमालपारिका क्षेत्र हुन् । सरकारले मनास्लु क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा राखेको छ । प्रकृति संरक्षण कोष अन्तर्गत मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले यस क्षेत्रको समग्र गतिविधिबारे जानकारी राख्दैआएको छ ।

नेपाल भ्रमण वर्ष सन् १९९८ देखि मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न सुरु भयो । अन्नपूर्ण पदमार्गलगायत क्षेत्रमा सडक मार्ग पुगेपछि विदेशी पर्यटकको रोजाइमा मनास्लु पर्यटकीय पदमार्ग परेको हो । मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या वर्सेनि बढेपछि पदमार्गको छेउछाउमा एकपछि अर्को होटल खुलेका छन् । अनकन्टार गाउँमा बसोबास गर्दै आएका मानिसहरु रोजगारीका लागि पदमार्गको आसपासमा बस्न सुरु गरेका छन् । कसैले व्यापार गरेका छन् त कोही पर्यटकको भारी बोकेर जीवन निर्वाह गर्दै आएका छन् ।

पदमार्गको आसपासमा १५० भन्दा बढी होटलहरु खुलिसकेका छन् । भूकम्पले भत्काएका अधिकांश होटलहरु मर्मत भइसके । लाखौंको लगानीमा खुलेका होटलमा पर्यटकले स्थानीय उत्पादनका परिकारको स्वाद लिन पाउँछन् भने होटलमा प्रत्यक्ष रुपमा रोजगारीको अवसर पनि खुलेको छ । यसले वैदेशिक रोजगारीमा जान खोज्ने युवायुवतीको सङ्ख्यामा कमी आएको छ । दुर्गम उत्तरी भेगका मानिसहरु सरकारी सेवामा जागिरे छैनन् । शिक्षाको सहज पहुँच नहुँदा बीचमै कक्षा छोड्नुपर्ने बाध्यता छ भने विद्यालय छाडेर बालबालिका गुम्बामा पढ्न जान्छन् र औपचारिक शिक्षा पूरा गर्दैनन् ।

समग्र उत्तरी गोरखाका बासिन्दाको दिनचर्या भूकम्पपछि अबरुद्ध मनास्लु पदमार्ग पुनःनिर्माण नहुँदा बिग्रिएको छ । भूकम्पपीडितले सरकारी अनुदान बिनै पुरानै शैलीमा घर बनाइसकेका छन् । सरकारी अनुदानको पर्खाइमा उनीहरुले हिउँद, बर्खा काटे । बैंकको सहज पहुँच नहुँदा हिमालपारिका सात गाविसमा अनुदान रकम वितरण ठूलो चुनौतीको रुपमा देखापरेको छ । सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पार मात्रै होइन केरौंजा काशीगाउँ, लापु र उहिया गाविसमा पनि सकड मार्ग पुगेको छैन । यी भेगमा खाद्यान्नलगायत सामग्री ढुवानीको एकमात्र विकल्प खच्चड भएपनि अबरुद्ध पदमार्ग सञ्चालनमा नआउँदा सामग्री ढुवानी हुन नसकेको खच्चड व्यवसायी सङ्घका अध्यक्ष धनकुमार गुरुङको भनाइ छ । उत्तरी भेगमा एक हजार तीन सय भन्दा बढी खच्चडहरु चल्दै आएका थिए ।

पदमार्ग खोल्न आलटाल

भूकम्पपछि हावाडाँडा, लापुभीर, नौलीखोला, माछाखोला, सर्दिखोलालगायत क्षेत्रमा पदमार्ग बिग्रिएको छ । नौलीखोलाको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा उत्तरी गोरखाका १३ गाविसमा आउजाउ गर्न समस्या भएको छ । खोलामा उर्लेको भेलमा जोखिम मोलेर मानिसहरु आवतजावत गर्दै आएका छन् । भारी बोकेका खच्चडहरु नौलीखोला तर्न सक्दैनन् जसले गर्दा उत्तरी भेगमा खाद्यान्नको चरम सङ्कट हुने देखिएको छ ।

पदमार्ग खोल्न माग गर्दै उत्तरी गोरखाका स्थानीयवासी नौ दिनको बाटो हिँडेर धेरै पटक सदरमुकाम आइसके । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यलाई भेटेर पदमार्ग खोल्न आग्रह गर्छन् तर पदमार्ग खोल्न अहिलेसम्म खासै काम भएको छैन । ‘डिएफआइडी नामक संस्थाले यारुबगरमा करिब २०० मिटर पुल बनायो,’ आचार्यले भन्नुभयो – ‘आइओएम नामक संस्थाले सर्दीखोलामा पुल बनाएन ।’ एनजीओ÷आइएनजीओले प्रतिबद्धता गरे अनुसार काम नगरेपनि जिविसलगायत स्थानीय निकायले त्यस्ता संस्थालाई कारबाही गर्न सकेको छैन ।

सर्दीखोलामा पुल नभएपछि चुम्चेत, छेकम्पार आउजाउ गर्ने बासिन्दाहरु समस्यामा छन् । पहिरोबाट डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको चुम्चेत गाविसका शेराप लामाले गुनासो गर्नुभएको छ । सर्दिखोलादेखि छेकम्पारसम्मको चुमभ्याली पदमार्ग पनि पुनःनिर्माण गर्नुपर्ने भएपनि बजेटको अभाव छ । स्थानीयवासीले खाद्यान्न सहयोग लिएर सर्दीखोलामा निर्माण गरेको काठेपुल बर्खा लागेपछि उर्लेको भेलले बगाउँदा समस्या भएको हो । सर्दीखोलामा पनि यारुबगरको जस्तै क्यान्टिलिभर पुल निर्माण गर्नुपर्ने छ । डिएफआइडीले सो पुल निर्माण गर्ने बताएको भएपनि काम सुरु गरेको छैन ।

अबरुद्ध पर्यटकीय पदमार्ग सञ्चालनमा नआउँदा मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बर्सेनि छ हजारभन्दा बढी विदेशी पर्यटक आउने गरेको मनास्लु क्षेत्रमा गएको वर्ष न्यून मात्रामा पर्यटक आए । पदमार्ग अबरुद्ध हुँदा मनास्लु क्षेत्रबारे नराम्रो सन्देश गएको चुम तथा नुव्री उपत्यकाका स्थानीय बासिन्दा बताउँछन् । जतिसक्दा छिटो पदमार्ग खोल्नुपर्ने उनीहरुको माग छ । पर्यटक नआउँदा स्थानीय जनताको रोजीरोटी हराएको छ ।

उपभोग्य सामग्रीको भाउ आकाशियो

पदमार्ग अबरुद्ध हुँदा खच्चड सञ्चालन गर्न नसकिएको भन्दै व्यापारीले दैनिक उपभोग्य सामग्रीको भाउ बढाएका छन् । प्रतिकेजी नूनको मूल्य १२० पुगेको छ भने एक बोरा चामल किन्न तीन हजार रुपैयाँ तिर्नुपरेको छ । खच्चड नचल्दा उपभोग्य सामग्री ढुवानी ठप्प भई मौज्दात सामग्रीको पनि ब्यापारीले भाउ बढाएका हुन् ।

पदमार्ग सुचारु नहुँदा लम्जुङ, मनाङ हुँदै लार्के पार गरेर उत्तरी गोरखामा दैनिक उपभोग्य सामग्रहरु ढुवानी गर्नुपरेको सिर्दिवासका रामकुमार गुरुङले बताउनुभयो । ‘हिमाल कटाएर ल्याएको सामग्रीको भाउ छोइ नसक्नु छ,’ उहाँले भन्नुभयो – ‘गरिव जनता झन् गरिव भए । ऋणमा फसे ।’ पर्यटकहरु मनाङ हुँदै लार्केपासका लागि आउन सुरु गरे भने आरुघाटदेखि माथिका होटलहरु सुक्ने उहाँको चिन्ता छ ।

लापु गाविसको हावाडाँडादेखि खानीबेशी, उहियाको खोर्लाबेशीदेखि दोभानसम्म छ ठाउँमा पहिरो झरेको र सिर्दिवासको जगतदेखि फिदिम, सल्लेरीलगायत ठाउँमा ठूला पहिरो खसिराख्दा पदमार्ग खोल्न नसकिएको हो ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले बर्खा सकिएपछि अबरुद्ध पदमार्ग खोल्न सकिने बताउनुभएको छ । सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पदमार्गहरु खोलेर पर्यटक तथा स्थानीयवासी सहजै हिड्न सक्ने बनाइने उहाँले बताउनुभयो । पदमार्ग मर्मत गर्न बजेटको अभाव भएको छ । पर्यटन रोयल्टी शीर्षकमा आएको बजेटले भएपनि पदमार्ग खोलिने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter