पूर्वराष्ट्रपति यादवको नेपालमै पेट सिटी स्क्यान भित्र्याउने चाहना अझै पूरा भएन

president-ram-baran-yadavचितवन, २६ भदौ । तीन वर्षअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादव जापानबाट क्यान्सर परीक्षण गरी नेपाल फर्किएलगत्तै स्वदेशमै पेट सिटी स्क्यान उपकरण हुनुपर्ने प्रस्ताव आएपछि तीन वर्षसम्म बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सो सम्बन्धी उपकरण खरिदका लागि विनियोजित बजेट फ्रिज भइसक्दा पनि अहिलेसम्म उपकरण भने आउन सकेको छैन ।

चिनियाँ सहयोगमा एसियाकै नमुना अस्पतालका रुपमा स्थापना भएको यहाँको क्यान्सर अस्पतालको पछिल्लो समय देखिएको अस्तव्यस्तताले बजेट फ्रिज भइ सो उपकरण खरिद गर्न भने नसकिएको हो ।

अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा १० करोड, ०७१÷७२ मा ४५ करोड र २०७२÷७३ मा ४० करोड रुपैयाँ पेट सिटी स्क्यानका लागि बजेट विनियोजन गरिएको थियो । तीन वर्षकै बजेट फ्रिज भइसकेको छ । चालु आवमा प्रस्तावित बजेट तयार गरिँदै छ । कार्यकारी निर्देशक डा चीनबहादुर पुनले पहिलो वर्ष नै सिटी स्क्यान खरिदका लागि टेन्डर गरिएको भए पनि अख्तियार र स्वास्थ्य मन्त्रालयमा मुद्दा परेपछि टेन्डर स्थगित भएको बताउनुभयो ।

पेट सिटी स्क्यान, साइक्लोट्रोन मेसिन र ती उपकरण राख्ने बङ्कर निर्माणका लागि दुईवटा कम्पनीले टेन्डर पेस गरेको भए पनि मुद्दा परेपछि मन्त्रालयले टेन्डर स्थगित गरेको कार्यकारी निर्देशक पुनले बताउनुभयो – त्यसपछि मन्त्रालयमा दबाब नपुग्दा र क्यान्सर अस्पतालभित्रैको किचलोका कारण मन्त्रालयले स्वीकृत नदिँदा पुनः टेन्डरका लागि प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पेट सिटी स्क्यानका लागि भारतका विभिन्न सहर तथा तेस्रो मुलुक जान बाध्य भएका छन् । ठूलो धनराशि बर्सेनि बाहिर गइरहेको छ ।

उहाँका अनुसार गएको चैतयता सञ्चालक समितिको बैठकसमेत बस्न सकेको छैन । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशराज न्यौपाने क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । अध्यक्ष कार्यकारी नहुने र न्यौपानेको अधिकांश समय भक्तपुर क्यान्सर अस्पतालमा बस्ने र त्यहीको वृत्तिविकासमा सोच्ने हुँदा पनि यहाँको काम अघि बढ्न नसकेको अस्पतालका अन्य चिकित्सक बताउँछन् । उनीहरुका अनुसार यहाँ अप्ठ्यारो सिर्जना गरेर सो उपकरण काठमाडौँकै अस्पतालमा राख्ने तयारीमा समेत केही लागेकै कारण काममा ढिलाइ भएको बताइन्छ ।

कार्यकारी निर्देशक पुनले जतिसक्दो छिटो उपकरण झिकाउन सकेमा बिरामीलाई सेवा दिन सकिने बताउनुहुन्छ । निजी स्तरबाट काठमाडौँमा हालै मात्र पेट सिटी स्क्यान झिकाइएको भए पनि साइक्लोट्रोन नभएका कारण भारतीय अस्पतालमा निर्भर हुन परिरहेको उहाँको भनाइ छ ।

पेट स्क्यान गर्न पोजिट्रोन नामक विकीरण निकाल्ने एक प्रकारको विषेश औषधिको आवश्यकता पर्दछ जसलाई पेट ट्रेसर भनिन्छ । उक्त पेट ट्रेसर उत्पादन गर्न छुट्टै उपकरणको आवश्यकता पर्दछ जसमध्ये एउटा अत्यावश्यक उपकरण साइक्लोट्रोन हो । अतः पेट मेसिन मात्र स्थापना गरेर सञ्चालन गर्न सकिँदैन यसका साथै साइक्लोट्रोनको पनि स्थापना गर्न जरुरी पर्दछ । अथवा पेट ट्रेसर अन्य ठाउँबाट ल्याउनुपर्ने हुन्छ, जुन आफँैमा एउटा जटिल समस्या बनेकाले साइक्लोट्रोन समेत खरिद गर्ने सोच अस्पतालको छ ।

पेट सिटी स्क्यानबाट मस्तिष्क तथा घाँटी, फोक्सो, कलेजो, स्तन, मिर्गाैला तथा प्रोस्टेट न्युरोइन्डोक्रायन, पाठेघरलगायत अन्य धेरै प्रकारका क्यान्सरको परीक्षण गरिन्छ । क्यान्सर कुन अवस्थामा छ, स्टेजिङ क्यान्सर निको हुने सम्भावना कतिको छ भन्ने थाहा पाउन यसले प्रमुख भूमिका निर्वाह गर्ने कार्यकारी निर्देशक पुन बताउनुहुन्छ ।

अस्पतालले चालु आवमा करिब २१ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ । कार्यकारी निर्देशक पुनका अनुसार एकै वर्षमा काम नभ्याउने हुँदा बहुवर्षीय योजना बनाएर आवश्यक मात्र बजेट माग गर्ने तयारीमा अस्पताल छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter