विशुद्ध सेवाभावले जग्गादान (आलेख)

File Photo

कृष्ण दर्नाल / पाल्पा, २८ भदौ । करोडौँ कमाएर पनि सामाजिक क्षेत्रमा खर्च गर्न हिच्किच्चाउँछन् भने त्यस्तो धनको अर्थ छैन । गोजीमा पैसा छैन तर मनभित्र समाज सेवा गरौं भन्ने भावना छ भने त्यो स्तुत्य छ । यस्ता सहयोगी भावना बोक्नेहरु जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न पछि पर्दैनन् ।

पाल्पा जिल्ला हुमिन गाविसका विष्णुप्रकाश विश्वकर्मा (विष्णु सुस्केरा) बा¥है महिना समाजसेवा गर्दै हिड्नुहुन्छ । होचो कदका सुस्केरामा अरुलाई सहयोग गरौं भन्ने उदार भावना छ । दिनहीनलाई सहयोग गर्न पाउँदा उहाँ खुसी मान्नुहुन्छ ।

उहाँले हालै हुमिन गाविस–२ स्थित स्वास्थ्य चौकी निर्माणका लागि ३ रोपनी दश आना जग्गा दान गर्नुभएको छ ।

“मन्दिर गएर पूजा र भाकल गर्न पर्दैन, जग्गा दान गर्दा धेरैको घरदैलोमै उपचार संभव हुन्छ भने त्यही धर्म हो, त्यस्तो पवित्र काममा निःशुल्क जग्गा दान गर्न पाउनु मेरा लागि खुशीको कुरा हो,” ६९ वर्षीय वृद्ध सुस्केराले भन्नुभयो ।

यस गाविसको वडा नं २ मा जग्गाको अभावमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण हुन सकेको थिएन । सुस्केराको जग्गा दान गर्ने निर्णय सँगै सोही गाउँका गौरी र भरत विकले समेत स्वास्थ्य चौकीका नाममा २ आना ३ पैसा जग्गा प्रदान गर्नुभयो ।

साना कच्ची घरमा बस्ने भएपनि यहाँका दलित समुदायका मन सेवाभावले ओतप्रोत छ । गाउँमा स्वास्थ्य चौकी निर्माण हुन सके विपन्न समुदायका मानिसको उपचारमा ठूलो सहयोग मिल्ने महसुस गरेर हुमिनका अर्का जग्गादाता सम्मरबहादुर बिकले पनि ८ आना २ पैसा जग्गा स्वास्थ्य चौकी निर्माणका लागि दान गर्नुभएको छ ।

स्थानीय बासिन्दाबाट जग्गा प्राप्त भएपछि स्वास्थ्य चौकीे भवन निर्माण कार्य अघि बढेको छ । स्थानीय बासिन्दाको उदारताका कारण राज्यलाई समेत सरकारी भवनका लागि जग्गा खोजी गर्न र बजेट छुट्याउन नपर्ने भएको छ । अब सरकारले भवन निर्माणका लागि मात्र बजेटको व्यवस्था गरे पुग्ने देखिन्छ ।

जिल्ला मालपोत कार्यालय पाल्पाका अनुसार आव २०७२÷७३ मा जिल्लाभर २३ जना व्यक्तिले स्वास्थ्य चौकी, गाविस, आयुर्वेद, पशु सेवा कार्यालय लगायतका सरकारी भवन निर्माणका लागि निजी जग्गा निःशुल्क प्रदान गरेका छन् । सात जनाले ६ वटा विद्यालय, १२ जनाले ८ वटा स्वास्थ्य चौकी र ३ जनाले गाविस भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् ।

सरकारी भवन निर्माणका लागि जग्गादाताहरुबाट ४७ रोपनी १३ आना जग्गा सम्बन्धित सरकारी कार्यालयका नाममा नामसारी भइसकेको जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख नवराज बरालले जानकारी दिनुभयो ।

जिल्लाका अधिकाँश ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले मात्र जग्गा दान गरेको पाइएको छ । जिल्ला सदरमुकाम तानसेन, रामपुर र माडी क्षेत्रमा जग्गा दान गरेको पाइँदैन ।

हुमिनका दलित बस्तीका मानिस मात्र होइन, खस्यौली गाविस–५ का ७० वर्षीय लोकनाथ शर्मा गौतम पनि मनकारी हुनुहुन्छ । गोजीमा पैसा हुँदैन । मधुमेह र रक्तचापका बिरामी भएकाले कहिल्ये औषधि छुटाउन पनि हँुदैन । तर पनि शर्माले महिलाहरुका लागि सामुदायिक भवन बनाउन ८ आना १ पैसा जग्गा खस्यौली गाविस कार्यालयको नाममा प्रदान गर्नुभएको छ । सामुदायिक भवनको अभावमा महिलाहरुलाई बैठक तथा तालिम सञ्चालन गर्न समस्या रहेको अवस्थामा निःशुल्क जग्गा प्राप्त भएको खस्यौलीवासी नवीन ओलीले बताउनुभयो ।

स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेयले स्थानीय बासिन्दाले निःशुल्क जग्गा दान गरी स्थानीय निकायलाई सहयोग गर्दा राज्यलाई ठूलो फाइदा पुग्ने बताउनुहुन्छ । स्थानीय बासिन्दाबाट स्वतःस्फूर्त रुपमा जग्गा निःशुल्क प्राप्त भएपछि जग्गाको अभावमा रोकिएका सरकारी भवनहरुको निर्माण योजना अघि बढाउन बाटो खुलेको छ । जीर्ण र साँघुरा कार्यालय भवनको बदलामा सुविधासम्पन्न सरकारी भवन निर्माण भएपछि कार्यालयको कार्यसम्पादन चुस्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । स्थानीय निकाय पुनःसंरचना गर्दा अहिलेका गाविस भवनहरु वडा कार्यालयमा रुपान्तरित हुने बताइन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार स्थानीय बासिन्दाबाट जग्गा निःशुल्क प्राप्त भए सँगसँगै स्वास्थ्य चौकी भवनहरु पनि धमाधम बन्ने बताउनुभयो ।

आव २०७२÷७३ मा १२ जना दाताबाट निःशुल्क प्राप्त जग्गामा ८ वटा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माणको प्रक्रिया अघि बढेको छ । स्वास्थ्य चौकीको निर्माणपछि जिल्ला स्वास्थ्य कार्यालयलाई गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न सहज हुने ज्ञवालीको विश्वास छ ।

देशमा गाउँपालिका÷नगरपालिकाको सङ्ख्या बढ्ने भएपछि सोही अनुपातमा नयाँ सरकारी भवन निर्माण गर्न आवश्यक हुन्छ । यस्तो आवश्यकता पूर्ति हुने गरी निःशुल्क जग्गा दान गर्ने दाताहरुलाई स्थानीय निकायबाट प्रोत्साहन तथा सम्मान गर्ने वातावरण बनाइनुपर्ने नागरिक अगुवाहरुको भनाइ छ ।

तानसेन नगरपालिकाका पूर्व मेयर अशोक शाहीले सरकारलाई सहयोग गर्नेहरु भन्दा राज्य सत्ताको दुरुपयोग गर्नेहरु कै सम्मान हुने प्रवृत्ति हावी रहेको बताउनुहुन्छ । सेवाभाव राखेर सरकारलाई निःशुल्क जग्गा दान गर्ने निम्न वर्गीय परिवारलाई राज्यबाट सम्मान दिइनुपर्ने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter