सन्दर्भः विश्व पर्यटन दिवस, पर्यटन दिवस ‘कर्मकाण्डी’ नबनोस्

tourists-visiting-Nepalसिबी अधिकारी / काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ ।

विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसेको सरकार र निजी क्षेत्रका अधिकारी स्वीकार्छन् । पर्यटन दिवसलाई विशेष पर्वका रुपमा स्थापित गर्नसके यसबाट पर्यटकीय लाभ लिन सकिने उनीहरुको बुझाइ छ । नेपालले ३७औँ विश्व पर्यटन दिवस मनाइसक्दा पनि यो औपचारिकतामै केन्द्रित भएकाले प्रभावकारी हुन सकेको छैन ।

सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ । पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्दा प्रभावकारी हुन नसकेको नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा बताउनुहुन्छ ।

“नेपालमा पर्यटन दिवसको ३७ वर्षे लामो अवधि औपचारिकतामै सीमित रहेकाले उपलब्धिमूलक देखिएन, दिवसलाई ठूलो पर्वका रुपमा लिएर प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकलाई मनोरञ्जन दिने सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न सकेको खण्डमा यो सान्दर्भिक हुने थियो”–उहाँले भन्नुभयो ।

नेपालमा पर्यटनका महत्वपूर्ण दिवसका रुपमा मे २९ को सगरमाथा दिवस र २९ सेप्टेम्बरको विश्व पर्यटन दिवस पर्यटन प्रवद्र्धन गर्ने मूल आधार हुन् । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, वेशभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य मानिन्छ । पर्यटनको प्रचुर सम्भावना रहे पनि सरकार र निजी क्षेत्रको समन्वयको अभाव र दूरदर्शिताका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन ।

त्यसो त, प्राकृतिक र मानवसिर्जित विपत्तिले पनि मुलुकको पर्यटन क्षेत्रलाई केही थिलथिल बनायो । भूकम्प गएको डेढ वर्षको अवधिमा क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुन नसक्नु र क्षति हुन पुगेका संरचनाको पनि प्रवद्र्धन गर्न नसक्दा पर्यटक बढ्न सकेनन् । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पबाट २४ जिल्लाका करिब ८०० सम्पदा प्रभावित भएका थिए । त्यसमध्ये १५० पूर्ण क्षति र केही आंशिक क्षति भएका छन् । प्रभावित सम्पदाको पुनःनिर्माणको काम सुरु भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो ।

उहाँका अनुसार हनुमानढोका, पाटन, भक्तपुर, चाँगुनारायण, त्रिपुरेश्वर, बुङमती आदिमा पुनःनिर्माणको काम भइरहेको छ । सम्पदा पुनःनिर्माणका लागि करिब १० अर्ब लाग्ने बताइएको छ । विश्व सम्पदा सूचीमा दुईटा सम्पदा लुम्बिनी र काठमाडौँका सात (पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण) रहेका छन् । पदयात्रा पर्यटन र हिमाल आरोहण भने पहिलाकै अवस्थामा सञ्चालित छन् ।

पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले परम्परागत रुपमा मनाइँदै आएको पर्यटन दिवसलाई कर्मकाण्डी मात्र नभई पर्यटन संस्कारका रुपमा विकास गरिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो–“दिवस रित पु¥याउने मात्र भयो, खाली बिहान प्रभातफेरी गर्ने, विमानस्थलमा पर्यटकको स्वागत गर्ने र औपचारिक कार्यक्रम गर्ने, यसबाट पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन सकेन । यसलाई पर्व, उत्सवका रुपमा मनाउन व्यवसायीले पनि विशेष सहुलियत सुविधा दिनुपर्छ ।”

पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले विश्व पर्यटन दिवसलाई औपचारिकता निभाउनेभन्दा पनि आगामी दिनमा रचनात्मक कार्यक्रमका साथ मनाइने बताउनुहुन्छ । पर्यटनको मुख्य चुनौती हवाई सञ्जाल र यातायात विस्तार भए पनि त्योभन्दा बढी पर्यटनको बजारीकरण र प्रवद्र्धन हो । वार्षिक आठ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । तीमध्ये पाँच लाख हवाई र बाँकी स्थलमार्ग हुँदै आउने गरेको नेपाल पर्यटन बोर्डको विवरण छ ।

यसैबीच, ३७औँ विश्व पर्यटन दिवस मङ्गलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालले ‘पर्यटनमा सबैलाई विश्वव्यापी पहुँचलाई प्रवद्र्धन’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागेको हो । दिवसलाई भव्यरुपमा सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति तथा आठवटा विभिन्न उपसमिति गठन गरिएको छ । दिवसका दिन मङ्गलबार प्रभातफेरीपश्चात् औपचारिक समारोह आयोजना गरिनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउने पहिलो विमानबाट आउने पर्यटकलाई विशेष स्वागत गरिने आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter