‘भारत र चीनसँगको त्रिपक्षीय अनौपचारिक भेट दुर्लभ संयोग’

pm-returnकाठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स–बिमस्टेक विस्तारित सम्मेलन’ का क्रममा आफू र भारतका प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीचको अनौपचारिक भेटवार्ता नेपालका लागि दुर्लभ सुखद संयोग भएको बताउनुभएको छ ।

भारतको गोवामा सम्पन्न सम्मेलनबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको औपचारिक भेटवार्तापछि बास बसेको होटेल जानुपूर्व प्राविधिक कारणले प्रतीक्षा कक्षमा रहँदा चिनियाँ राष्ट्रपति सि आइपुग्नुभएको र त्यहाँ केहीबेर उहाँसँग अनौपचारिक, खुला र ‘वान् टु वान’ कुराकानी चलिरहँदा भारतीय प्रधानमन्त्री मोदी पनि आइपुग्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यहाँ हाम्रो बसाइ पनि राष्ट्रपति सि उत्तर, भारतीय प्रधानमन्त्री दक्षिण र म बीचमा थियौ, मैले भूगोलका हिसाबले पनि नेपाल दुई ठूला मुलुकका बीचमा रहेको सानो मुलुक रहेको प्रसङ्ग निकाल्दै त्रिदेशीय साझेदारीबारे कुरा राख्ने मौका पाएँ । उहाँहरुले त्यसलाई महत्वपूर्ण र सकारात्मक रुपमा लिनुभयो ।” आफूले नेपालका बुद्ध, जानकी र पशुपतिजस्ता विषयले तीन देशलाई लामो समयदेखि र आधुनिक समयमा विज्ञान तथा प्रविधिले जोडेको उल्लेख गर्दै छिमेकी मुलुकसँगको आर्थिक विकासबाट नेपालले लाभ लिन चाहेको समेत बताउँदा उहाँहरुले सकारात्मक रुपमा लिनुभएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

“त्यस अवसरमा हाम्रा छिमेकी मित्र राष्ट्रका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा आफ्ना विचार राख्ने मौका पाएँ, उहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनु सुखद पक्ष हो र यसलाई हामीले त्यही अर्थमा बुझ्नुपर्छ । यो कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन तर त्यसबारे उत्पन्न विभिन्न टीकाटिप्पणीबाट म आश्चर्यमा परेको छु”– प्रधानमन्त्रीले भन्नुभयो ।

‘चीनका राष्ट्रपति नेपाल आउन इच्छुक’

चीनका राष्ट्रपति सी जिन पिङसँगको भेटमा द्विदेशीय सहयोगात्मक सम्बन्धलाई थप गहन बनाउने दिशामा विगतमा भएका समझदारी र सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिइएको थियो । द्विदेशीय सम्बन्धलाई थप सुदृढ बनाउने उच्चस्तरीय भ्रमणको महत्वमा जोड दिँदै चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न प्रधानमन्त्री दाहालले पुनःअनुरोध गर्दा उहाँले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउँदै यथाशीघ्र भ्रमणमा आउने जानकारी दिनुभएको थियो ।

भारतसँगको अनुगमन संयन्त्र चाँडै

भारतका प्रधानमन्त्री मोदीसँगको कुराकानीमा द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनालाई समयबद्ध रूपमा सम्पन्न गर्नमा ध्यान दिनुपर्ने विषयलाई जोड दिइएको र भारतीय राष्ट्रपतिले निकट भविष्यमा गर्ने नेपाल भ्रमणको कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगति अनुगमन गर्न गत महिना भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका समयमा सहमति भएअनुसार दुवै सरकारका प्रतिनिधि रहने संयन्त्र गठनको कार्य चाँडै टुङ्ग्याउनेबारे समेत कुराकानी भएको थियो ।

नेपाल–भारत सम्बन्धका विविध विषयमा छिट्टै आयोजना हुने नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा विस्तृत समीक्षा हुने भएको छ ।

क्षेत्रीय सम्पर्क, ऊर्जा विकास, व्यापार र पारवहन

प्रधानमन्त्री दाहालले साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यासका क्रममा ब्रिक्स समूहका उदीयमान आर्थिक शक्ति तथा बिमस्टेक समूहका विकासशील एवम् अल्पविकसित मुलुकबीच साझा हित र समृद्धि प्राप्तिका घनीभूत एवम् खुलस्त छलफल भएको उहाँले उल्लेख गर्नुभयो । नेपाल हाल बिमस्टेक समूहको वर्तमान अध्यक्ष पनि हो । आगामी वर्ष बिमस्टेक स्थापनाको २०औँ वर्ष पारेर नेपालले बिमस्टेक शिखर सम्मेलन यहाँ आयोजना गर्न चाहेको छ ।

सम्मेलनअघि भारतीय प्रधानमन्त्रीले आयोजना गरेको बिमस्टेक राष्ट्र र सरकार प्रमुख सम्मिलित रिट्रिट बैठकमा दुई गतिशील क्षेत्र दक्षिण एसिया तथा दक्षिण पूर्वएसिया जोड्ने क्षेत्रीय सहयोग संयन्त्रका रूपमा स्थापित बिमस्टेकभित्र क्षेत्रीय सहयोग कसरी थप सघन बनाउने भन्नेबारे सदस्य मुलुकबीच सघन छलफल भएको उहाँले बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा आफूले पछिल्ला वर्षमा ब्रिक्स मुलुक वैदेशिक लगानी भित्र्याउने प्रतिस्पर्धामा मात्र अगाडि नभई विश्वका अन्य मुलुकले प्राप्त गर्ने बाह्य लगानीको महत्वपूर्ण स्रोतका रूपमा देखापरेको परिप्रेक्ष्यमा बिमस्टेक क्षेत्रमा हुने बढीभन्दा बढी लगानी ब्रिक्स–बिमस्टेक साझेदारीको महत्वपूर्ण पाटो हुनुपर्ने विषय उठाइएको उहाँले जानकारी दिनुभयो ।

स्वदेश फर्कंदा प्रधानमन्त्रीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा उप्रधानमन्त्री विमलेन्द्र निधि, सभामुख ओनसरी घर्ती लगायतले स्वागत गर्नुभयो भने नेपाल प्रस्थानअघि नयाँ दिल्लीमा भारतका लागि नेपाली राजदूत रणजित राय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले बिदाइ गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter