नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुने

ANFAकाठमाडौँ, ११ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा केही अस्थायी प्यारापिट निर्माण गरी खेल खेलाइने तयारी समेत भइरहेको जनाइएको छ ।

कलरबाथ नेपालका अध्यक्ष गणेशमान लामाले भूकम्पले क्षतिग्रस्त भएका विद्यालय तथा फुटबल प्रशिक्षण दिन सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गरिने बताउनुभयो । मैत्रीपूर्ण खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली मङ्सिर २ गते नेपाल आउनेछ ।
लनटनिस प्रशिक्षकले चीनमा प्रशिक्षण लिने

एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन नेपाली लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य आज चीनको गोन्झाव प्रस्थान गर्नुभएको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको विकास, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीको स्तरवृद्धि र सामूहिक खेललाई कसरी मजबुत बनाउने भन्ने विषयमा ज्ञान दिइने प्रशिक्षक वज्राचार्यले जानकारी दिनुभयो । टेक्निकल, ट्याक्टिकल, ड्रिल, फिजिकल ट्रेनिङ लगायत विषयमा पनि जानकारी दिइनेछ ।

कन्फ्रेन्समा लेभल–२ श्रेणीदेखि माथिका प्रशिक्षक मात्र सहभागी हुन पाउनेछन् । नेपालमा वज्राचार्यसहित तीन जना मात्र लेभल–२ प्रशिक्षक छन् । बाँकी दुईमा कृष्णराज घले र शरद् लामा हुन् ।

अन्तर्राष्ट्रिय टेनिस महासङ्घ, एसियाली टेनिस महासङ्घ र चीन टेनिस सङ्घको संयुक्त आयोजनामा हुन लागेको कन्फ्रेन्स बेलायतका सिमोन जोन्स, अस्ट्रेलियाका माइकल रोबर्टसन तथा आइटिएफका मिगुल क्रेस्पो र सुरेश मेननले सञ्चालन गर्नेछन् ।

वज्राचार्यलाई अखिल नेपाल लनटेनिस सङ्घका महासचिव मनोहरदास मूल, कोषाध्यक्ष सञ्जय अमात्य, सदस्य निरेश श्रेष्ठ लगायतले आज बिदाइ गर्नुभयो । चीनबाट फर्केपछि कन्फ्रेन्सबाट आफूले सिकेको ज्ञानलाई बाँड्ने उद्देश्यले लनटेनिस सङ्घको सहयोगमा दुईहप्ते निःशुल्क क्याम्प सञ्चालन गरिने प्रशिक्षक वज्राचार्यले जानकारी गराउनुभयो ।

भेट्रान फुटबल शुक्रबारदेखि

तरुण दल ७ नं एकाइ, चाबहिलको आयोजनामा भेट्रान सेभेन ए साइड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजकका अध्यक्ष मिलन जोशीले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विजेतालाई रु ३० हजार र उपविजेतालाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, डिफेन्डर र किपरलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । दुईदिने प्रतियोगिताका खेल चाबहिलमा हुनेछ । पहिलो दिन चार खेल हुनेछन् । उद्घाटन खेल सिन्धु स्पोटर्स र कोकिलाबीच हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter