दाजुभाइ तथा दिदीबहिनीको यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै भाइटीका पर्व मनाइयो; विदेशीलाई समेत भाइटीका

bhai-tikaकाठमाडौँ, १६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाएको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीका का दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गत वर्षको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

विदेशीलाई भाइटीका

यसैगरि, भाइटीकाको दिन आज स्थानीय लेकसाइडमा १५ देशका ५५ विदेशी पाहुनालाई भाइटीका लगाइएको छ ।

पश्चिमाञ्चल होटल सङ्घले दसौँ संस्करणको भाइटीका महोत्सव अन्तर्गत बेलायत, अमेरिका, नेदरल्यान्ड्स, अस्ट्रेलिया, बङ्गलादेश लगायतका विदेशी पर्यटकलाई नेपाली परम्परानुसार टीका लगाइदिएको सङ्घका अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो । लेकसाइडस्थित वाटरप्mलाई फाउन्डेसनमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन फाउन्डेसनका बालिकाले उनीहरुलाई टीका लगाइदिएका थिए ।

विदेशी पर्यटकलाई नेपाली संस्कृतिप्रति आकर्षण गरी नेपाली पर्व र संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले भाइटीका महोत्सव आयोजना गरिँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter