राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता; राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच आपसी हितका विषयमा छलफल

indian-president-and-pmकाठमाडौँ, १७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेर अघि भेटवार्ता सम्पन्न भयो ।

त्यसअवसरमा उहाँहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।

राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।”

भेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा आजै काठमाडौँ आउनुभएको हो ।

त्यसअघि राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गर्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो ।

अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच आपसी हितका विषयमा छलफल

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ ।

उच्चस्तरीय सो भेटमा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार व्यक्त गर्नुभएको मन्त्री डा महतले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाउनुभएको थियो । साथै, उहाँले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट उच्च अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter