महाविद्यावारिधि प्राप्त मुखर्जी एसियाकै उच्च नेता : प्रधानमन्त्री दाहाल

mukharjeeकाठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गर्नुुभएको छ ।

काठमाडौँ विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यसो भन्नुभएको हो ।

प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोक्नुभएका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गर्नुभयो ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौँ विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।”

जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुग्नुुभएकामा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले उहाँको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गर्नुभयो ।

स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ ।

मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसक्नुभएको छ ।

दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताउनुभयो ।

सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै उहाँले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गर्नुभयो ।

मुखर्जीले भन्नुभयो, “नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौँ विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर ममाथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।”

विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शैक्षिक सुधारका लागि शिक्षाको पुनःपरिभाषा गर्दै उच्च शिक्षासम्मलाई समुदाय र सीपसँग जोड्नुपर्ने बताउनुभयो ।

विसं २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् ।

पशुपतिनाथको विशेष पूजाअर्चनामा भारतका राष्ट्रपति

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो ।

राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो ।

उहाँले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गर्नुभयो । उहाँले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गर्नुभयो ।

त्यसअघि उहाँले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गर्नुभएको थियो । साथै उहाँले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गर्नुभयो ।

राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए ।

राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गर्नुभयो भने कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गर्नुभयो ।

त्यसअघि राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

नेपालको प्रगति र विकासमा सहयोग गर्ने भारतको प्रतिबद्धताः भारतीय राष्ट्रपति मुखर्जी

भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको निरन्तर प्रगति र विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आज साँझ आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको विकासका प्राथमिकता तथा भूकम्पपछिको पुनःनिर्माणमा भारतले सघाउने बताउनुभयो ।

उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला घोषित सहायता रकम यहाँका विकास–निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

भारत र नेपालबीचको फलदायी सम्बन्धबाट आफू सन्तुष्ट रहेको भन्दै भारतीय राष्ट्रपति मुखर्जीले भन्नुभयो – २००७ सालदेखि नै भारतले नेपालको सामाजिक–आर्थिक विकासमा मद्दत गर्दै आएको छ ।

उहाँले आर्थिक उन्नयन र दिगो विकासका लागि बाह्य सहायताको अपरिहार्यतामा जोड दिँदै “भारतको सहयोगमा सडक, पुल, सिँचाइ आयोजनालगायत भौतिक पूर्वाधार निर्माणमा साना तथा ठूला आयोजना सञ्चालनमा छन् भन्नुभयो ।”

नेपाली समाजका सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति मुखर्जीले त्यसबाटै नेपालको विकासको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक प्रगति, राजनीतिक स्थायित्व र शान्ति भारतको चाहना रहेको र त्यसमा भारतको सदैब साथ रहने उहाँले बताउनुभयो ।

राष्ट्रपति मुखर्जीले बेलायती उपनिवेशबाट भारतलाई मुक्त गर्न आफ्नो मुलुकका नेताहरुले थालेको आन्दोलनमा नेपालका नेताहरुबाट भएको योगदानको स्मरण गर्दै त्यसलार्ई भारतले उच्च सम्मान गरेको बताउनुभयो ।

भारत र नेपालबीचको ऐतिहासिक एवम् परम्परागत सम्बन्धलाई भारतले उच्च महत्व दिएको र आफ्नो भ्रमणको उद्देश्य पनि दुई देशबीच समझदारी अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउनु हो भन्नुभयो ।

राष्ट्रपति मुखर्जीले भारत र नेपालबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुदृढ एवम् प्रगाढ रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ राजनीतिक राजधानी मात्र नभई अध्यात्मको केन्द्र पनि हो । हजारौँ भारतीय पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न यहाँ आउँछन् । नेपालीहरु पनि काशी विश्वनाथलगायत भारतका अन्य तीर्थयात्रामा निस्कन्छन् । यो मेरो भ्रमण तीर्थयात्रा पनि हो ।”

पवित्र सहर काठमाडौँका जनताबाट न्यानो स्नेह पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले नागरिक अभिनन्दनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले विगतको तुलनामा काठमाडौँ धेरै परिवर्तन भएको बताउँदै सुन्दर सहर काठमाडौँ राजनीतिक राजधानी मात्र नभई आध्यात्मिक पवित्र शहर पनि हो भन्नुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गर्नुभयो ।

कार्यकारी प्रमुख तामाङले राष्ट्रपति मुखर्जीको भ्रमणबाट नेपाल–भारतबीच रहेको सदियौँदेखिको घनिष्ठ सम्बन्ध नयाँ आयममा विकसित हुन पुगेको विश्वास व्यक्त गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक सामिप्यताका साथै नागरिक तहमा रहेको बहुआयामिक सम्बन्ध र आपसीहित प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

त्यसैगरी भारतका रक्षाराज्यमन्त्री सुवास भामरे र नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति मुखर्जीले काठमाडौँ महानगरपालिकाको पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई कार्यकारी प्रमुख तामाङले उपत्यकाको काठको कलात्मक ढोकाको प्रतीक र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter