भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता: नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै– मुखर्जी

indian-president-farewellपोखरा, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

नेपाली भारतीय भूतपूर्व सैनिकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्ने धारणा राख्नु भयो ।

पोखराको सुन्दर नगरीमा आउन पाएर भूतपूर्व गोरखा सैनिकलाई भेट्न पाउँदा आफू हर्षित बनेको उहाँले बताउनुभयो ।

पछिल्लो वर्षमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण नेपाल तथा नेपाली जनताले जीवन तथा सम्पत्तिको दुर्भाग्यपूर्ण क्षति बेहोर्नु परेकोप्रति उहाँले भारतीय जनता र आफ्नो व्यक्तिगततर्फबाट दुःख एवम् समवेदना व्यक्त गर्नुभयो ।

भारत सरकार गत वर्षको विनाशकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि पूर्णरुपमा वचनबद्ध रहेको र यसका लागि नेपाल सरकारका साथमा काम गरिरहेको बताउँदै उहाँले भूकम्प प्रभावित छ हजार ८३२ पूर्वसैनिकको सहायताका लागि प्रति पेन्सनर रु ३२ हजार वितरण गरिएको जानकारी दिनुभयो ।

पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै राष्ट्रपति मुखर्जीले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गर्नुभयो ।

भारतमा ३२ हजार गोर्खा सैनिक सेवारत रहेको र अरु लगभग एक लाख २६ हजार पूर्वसैनिक र तिनका आश्रित नेपालमा पेन्सनको लाभ लिएको उहाँले उल्लेख गर्नुभयो । पूर्वगोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका साथ काम गरेको चर्चा गर्दै उहाँले भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको धारणा राख्नु भयो ।

प्राचीनकालदेखि नेपाल र भारतबीच घनिष्ठ र बहुमुखी सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको र खुला सिमाना र मैत्री सन्धिका कारण सबै नागरिक एकअर्का देशमा आवतजावत गर्न सकेको र नेपाली नागरिक भारतमा बसेर व्यवसाय गर्न सकेका राष्ट्रपति मुखर्जीको भनाइ छ ।

“हाम्रा वीर सेवानिवृत्त सैनिकले दुई देशको सुरक्षा र विकासमा महत्वपूर्ण योगदान गरेका छन्”– उहाँले भन्नुभयो, “भारतीय सेनाका वीर पूर्वसैनिक र उनका आश्रित जनप्रति हामी आभारी छौँ, भारत सरकारकातर्फबाट तपाईंहरुको कुशलताका लागि कल्याणकारी योजना चलाइरहेका छौँ ।” प्रतिवर्ष लगभग तीन हजार एक सय करोड रुपैयाँ नेपालमा पेन्सन वितरण भइरहेको र चालु आर्थिक वर्षमा लगभग चार हजार करोड नेपाली रुपैयाँ वितरण गर्ने योजना रहेको उहाँले जानकारी गराउनुभयो ।

वृद्ध अवस्थामा भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्यको ख्याल राख्नका लागि नेपालमा पूर्वसेवारत योगदान स्वास्थ्य योजना लागू गर्नका लागि लगभग एक करोड रुपैयाँ गत वर्ष उपचार सहायताका रुपमा वितरण गरिएको उहाँले बताउनुभयो ।

भारतीय सेनाको सर्वोच्च कमान्डर भएको नाताले पूर्वसैनिकका लागि कल्याणकारी योजना नेपालमा पनि लागू भइरहेको जानकारी दिँदै राष्ट्रपति मुखर्जीले ‘वन रेन्क वन पेन्सन’ अनुसार ३१ डिसेम्बर २०१५ मा पाउने वेसिक पेन्सनको २.५७ गुनाले भारतीय सेनाले पनि पाउने जानकारी दिनुभयो ।

एक जनवरी २०१६ बाट लागू हुनेगरी प्रदान गरिने उक्त सुविधाबाट भूतपूर्व भारतीय सैनिक पनि लाभान्वित हुनेछन् । “निवृत्त भइसकेका पूर्वसैनिकको योगदानलाई भुल्न नसकेर तपाईंहरुको हित र कल्याणका लागि सधैँ तयार छौँ”– उहाँले भन्नुभयो ।

भारतीय राजदूत रणजित रायले गोर्खा भूतपूर्व सैनिकलाई सम्बोधन गर्न भारतका राष्ट्रपतिलाई पोखरामा पाउनु सबैका लागि गौरवको विषय भएको बताउनुभयो ।

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

यसैबिच, भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभयो । सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उहाँ तेस्रो हुनुहुन्छ । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।

मुगल ,हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर यो मन्दिर प्रख्यात छ ।

सो मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाले घेरिएको छ । सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् ।

मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ, भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीनवटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना– ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर तथा प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा विसं १९६७ माघ २८ मा निर्माण गराएकी थिइन् ।

मन्दिरको निर्माणमा त्यस बेलाको ब्रिटिस महारानीका चाँदीका सिक्का तीन –चारलाख खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरूमा नौलाख सङ्कल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बाह् वर्ष लागेको बताइन्छ ।

मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गर्नुभयो ।

राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गर्नुभयो । यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गर्नुभएको थियो ।

यसैगरी भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको चार्टर विमानस्थलबाट जनकपुरधाम आइपुग्नु हुँदा जनकपुर विमानस्थलमा उपप्रधान एवम् गुहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्नुभएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर विमानस्थलबाट जानकी मन्दिर र जानकी मन्दिरबाट अभिनन्दनस्थल तिरहुतिया गाछी आउनु हुँदा सडक किनारमा उभिएका सर्वसाधारण नागरिक र विद्यार्थीले हात हल्लाएर स्वागत गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter