घान्द्रुकमा चित्र कार्यशाला हुँदै

art-councilकाठमाडौँ, १९ कात्तिक । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत आज विभिन्न देशका कलाकारले नेपाली संस्कृति तथा प्रकृतिको चित्र सिर्जना गरेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको कार्यशालामा नेपाली वेशभूषाले सजिएका विदेशी चित्रकारले चित्र कोरेर यहाँको परिवेश र संस्कृतिलाई चित्रमा उतारे ।

बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको सो महोत्सवलाई प्रभावकारी बनाउन आयोजित कार्यशालामा सहभागी भारतका अमित कपुर, मलेसियाका जानसन चाउँ, इन्डोनेसियाका अग्नुस बुद्धियन्ता, क्यानडाका अतनुर डोगान र थाइल्यान्डका डिटेक किङनोक र नामचाई सेन्सुयरले नेपालको कला, संस्कृतिले मन जितेको बताउँदै यहाँका विभिन्न रमणीयस्थलले आफूहरुलाई आकर्षित गरेको प्रतिक्रिया दिनुभयो ।

इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरका आयोजनामा भएको सो महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । त्यसमा नेपालका ६५ तथा भारत, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, म्यान्मा, बङ्गलादेश, पाकिस्तान, स्पेन, अस्ट्रेलिया, इन्डोनेसिया, टर्की, फिनल्यान्ड, ग्रीस, चेक रिपब्लिक, बुल्गेरिया, बेलारुस, लगायत ३९ देशका १५६ कलाकार सहभागी छन् ।

महोत्सव अन्तर्गत कास्कीको घान्द्रुकमा यही कात्तिक २०–२३ गतेसम्म हुने स्थलगत कला कार्यशालामा नेपाल र विदेशका ६५ चित्रकार सहभागी हुने वाटरकलर सोसाइटी नेपालका देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

भूकम्पमा मृत चित्रकारको प्रदर्शनी

गत वर्षको ‘गोरखा भूकम्प’मा ज्यान गुमाएका अमेरिकी कलाकार जिम डेनिस्चका चित्रको प्रदर्शनी आजदेखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने प्रदर्शनीमा उहाँको आफ्नो पछिल्लो जीवनकालमा खिंचिएका २५ चित्र समावेश छन् । ‘द टेन वाटर जार्स÷आर्ट फ्रम द टाइम अफ अर्थक्वेक’ नाम दिइएको उक्त प्रदर्शनीमा राखिएका अधिकांश चित्र पानीको जार बोकेर हिँडेका महिलाका बहुअर्थी लाग्छन् ।

रेशमको कपडामा ‘डिजिटल प्रिन्ट’ गरिएका चित्रले महिला पानीमा भिजिरहेको देखि लिएर उनीहरुका हरेक क्रियाकलाप देखाएका छन् । त्यस्तै पानीको जारसँग सम्बन्ध जोडेर बनाइएका बुद्ध, विभिन्न भूदृश्य, नदीनाला, गाउँ आदिका चित्र समेत छन् ।

प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु ४० हजारदेखि ६० हजारसम्मको छ । काभ्रेपलाञ्चोकको पात्लेखेतमा निधन भएका डेनिस्च विसं २०६५ताकादेखि नेपालमा सपरिवार बस्दै आउनुभएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै इन्डिगो ग्यालरीका निर्देशक जेम्स गियमब्रोनले कलाकार डेनिस्चसँगको २६ वर्षे मित्रताको स्मरण गर्दै उहाँ पूर्वीय आध्यात्मिक दर्शनलाई बुझेको व्यक्ति भएको बताउनुभयो । सिद्धार्थ आर्ट ग्यालरीका निर्देशक सङ्गीता थापाले स्व डेनिस्च आफूले भेटेको पहिलो विदेशी कलाकार भएको स्मरण गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter