आज छठ पर्व मनाइँदै; छठ सन्देशः संविधान कार्यान्वयनको दिशामा अघि बढ्न प्रेरणा मिलोस्

Chhat festivalकाठमाडौँ, २१ कात्तिक । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको कमलपोखरी छठ व्यवस्थापन समितिका उपाध्यक्ष जीतेन्द्र झाले बताउनुभयो ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”– उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आइतबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको छ ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

छठ सन्देशः संविधान कार्यान्वयनको दिशामा अघि बढ्न प्रेरणा मिलोस्

यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पु¥याएका छन्,” सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको मौलिक पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले यो पावन पर्वको माध्यमबाट नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

छठको पावन अवसरले संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको नेपाली जनताको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले गर्नुभएको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

यसै अवसरमा दिनुभएको शुभकामना सन्देशमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।

सन्देशमा सभापति देउवाले “हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्, यी चाड–पर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्,” भन्नुभएको छ ।

मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलब्धिलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं भन्दै उहाँले संविधानको कार्यान्वयनका लागि सबै आ–आफ्नो क्षेत्रबाट इमान्दार रहनु पर्नेमा जोड दिनुभएको छ ।

सभापति देउवाले छठ जस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी वहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

छठ पर्वका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समस्त देशबासी दाजुभाइ दिदीबहिनीमा एकता र आत्मीयताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले छठले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटोमा बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter