विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

Electricityरमेश लम्साल / काठमाडौँ, २२ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ ।

सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापन मात्रै गरिएको हो ।

उपलब्ध विद्युत्लाई व्यवस्थापन गरेकै कारण विद्युत्भार कटौती मुक्त गर्ने अभियान साकार भएको प्राधिकरणले जनाएको छ । यसअघि उपलब्ध विद्युत्को व्यवस्थापनमा सुधार नगरिएका कारण विद्युत्भार कटौतीको सूचना पटक पटक सार्वजनिक गर्नुपरेको थियो ।

काठमाडौँ उपत्यकामा बढी विद्युत् माग हुने साँझको समयमा करिब ३०० मेगावाट विद्युत् आवश्यक पर्छ । मागअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरणले आन्तरिक व्यवस्थापनमा सुधार गरिएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार विद्युत् उपलब्ध गराउने सरकारको र प्राधिकरणको योजनालाई साकार पार्न आन्तरिक रुपमा व्यवस्थापन गरिएको बताउनुभयो ।

यही तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत् माग भएको थियो । एक हजार ४८५ मेगावाट विद्युत् उक्त दिन माग भएको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ । उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको वितरण प्रणाली एकापसमा जोडिएको र वितरणसमेत सहज रहेकाले विद्युत्भार कटौती मुक्त गर्न सहज भएको हो ।

भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ उपत्यकामा नल्याइए पनि मस्र्याङ्दी करिडोरमा उत्पादित विद्युत् भने सहज रुपमा भित्र्याइएको छ । सो प्रणालीबाट करिब दुई सय मेगावाट विद्युत् आपूर्ति हुने गर्दछ । यस्तै बढी माग हुने साँझको समयमा जगेडा शक्तिका रुपमा रहेको कुलेखानी आयोजना चलाइएको प्राधिकरणले जनाएको छ । साँझको समयको माग तीन सय मेगावाट भएकाले सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ ।

काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्म उद्योग व्यवसायमा करिब १२ मेगावाट मात्रै विद्युत् खपत हुने गरेको छ । उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गर्ने योजना सफल बनाउन उपत्यकाको वितरण प्रणालीलाई समेत सुधार गरिएको छ । बिग्रिएका र मर्मत गर्नुपर्ने ट्रान्सफर्मर तथा कन्डक्टरलाई समेत सुधार गरिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले एकाध समयभित्रै उपत्यकालाई परीक्षणका रुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालय मार्फत प्राधिकरणलाई निर्देश गर्नुभएको थियो । आजमात्रै प्रधानमन्त्री दाहालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बोलाएर तत्काल विद्युत्भार कटौतीमुक्त कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले परीक्षणका रुपमा उपत्यकामा विद्युत्भार कटौतीमुक्त गर्ने अभियान सुरु भइसकेको र त्यसलाई केही समयपछि पूर्णता दिइने बताउनुभयो ।

ऊर्जा मन्त्री जनार्दन शर्मा उपत्यकापछि क्रमशः मुलुकलाई नै विद्युत्भार कटौती मुक्त गर्ने कार्ययोजना अगाडि बढाइएको बताउनुहुन्छ । आगामी हिउँदमा भारतबाट थप २५० मेगावाट विद्युत् ल्याउने पहल भइरहेको छ । त्यसका लागि धनुषाको ढल्केबरका सवस्टेसनको काम युद्धस्तरमा अगाडि बढिरहेकाले आगामी पुस मध्यसम्ममा उक्त सवस्टेसनको काम सम्पन्न हुनेछ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सवस्टेसनको काम दुई तीन महिनामा सम्पन्न गर्नुपर्दा अलिक गाह्रो भए पनि सफल हुने कार्यकारी निर्देशक घिसिङ बताउनुहुन्छ ।

काठमाडौँ उपत्यकामा थप विद्युत् ल्याउन खिम्ती ढल्केबर प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ भने थानकोट मातातीर्थ–हेटौँडा प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै उपत्यकामा सुधार गर्नुपर्ने वितरण प्रणाली तथा अन्य प्राविधिक विषयलाई समेत सुधार गर्ने प्राधिकरणको योजना छ ।

यस्तै चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउने कामलाई समेत निरन्तरता दिने र निर्माणमा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्नेसमेत प्राधिकरणले तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter