थाइल्यान्डमा व्यवसाय गरेर जम्दै छन् नेपाली

thailandनारायण अधिकारी / नारायण ढुङ्गाना, थाइल्यान्ड, १३ मङ्सिर । बाइस वर्षअघि काठमाडौँबाट व्यवसाय गर्न थाइल्यान्ड आइपुग्नुभएका महेन्द्र श्रेष्ठ अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र पत्ताया सिटीमा घर जग्गाको कारोबारमा सक्रिय हुनुहुन्छ । उहाँ हस्तकला, पस्मिना तथा रेष्टुरेन्ट र होटल व्यवसायमा समेत संलग्न हुनुहुन्छ ।

सुरुमा पतञ्जन टापूमा पाँच वर्षसम्म हस्तकला र रेष्टुरेन्ट सञ्चालन गरेर व्यवसाय थाल्नुभएका श्रेष्ठले १० वर्षसम्म बैंककमा हस्तकला र पस्मिनाको व्यवसाय सञ्चालन गर्नुभयो । विगत छ वर्षयता उहाँको व्यवसायमा घरजग्गा कारोबारसमेत थपियो । अहिले उहाँको आर्थिक अवस्था निकै राम्रो छ ।

नेपालमा भन्दा आर्थिक हिसाबले राम्रो गरेको बताउनुहुने गैरआवासीय नेपाल सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका उपाध्यक्ष श्रेष्ठको १९ वटा अपार्टमेन्ट छ । जसको मूल्य अहिले १५ लाखदेखि ७० लाख भाट (रु ४८ लाखदेखि सवा दुई करोड नेपाली) पर्दछ ।

नेपालबाट दूरीका हिसाबले निकै नजिक भएर पनि थोरैमात्र नेपाली व्यापार व्यवसाय र रोजगारी तथा अध्ययनका लागि थाइल्यान्डमा आइपुगेका छन्, उनीहरुमध्ये सङ्घर्ष गर्नेहरु भने रामै्रसँग स्थापित भएका छन् । थाइल्यान्डको कानुन र प्रक्रियागत समस्या धेरै भएर पनि यसरी व्यवसायमा नेपालीहरु जम्नु महत्वपूर्ण हो ।

एनआरएनएका पूर्व अध्यक्ष मनोज राना पनि सफल व्यवसायीमा पर्नुहुन्छ । उहाँले अहिले फुकेटमा कपडाको व्यवसाय गर्दै आउनुभएको छ । विगत १७ वर्षदेखि फुकेटमा रहेर खुद्रा र होलसेल, व्यवसाय गर्दै आउनुभएका रानाले युरोपमा समेत कपडा पठाउने काम गर्दै आउनुभएको छ । यहाँ व्यवसाय संस्थापना गर्न कठिन भए पनि सङ्घर्ष गर्न सकेकालेसहज भएको उहाँले बताउनुभयो ।

चौबीसै घन्टा काम गर्न पाउने विद्युत्भार कटौती नहुने र अन्य झमेला नहुने तत्कालै ग्राहकले चाहेका कपडा तयार पार्न सकिने हुँदा आफू व्यवसायमा सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । उहाँको परिवार नै यो व्यवसायमा संलग्न छन् । थाइल्यान्डमा नेपालीहरु घुम्न आउने क्रमसमेत बढेकाले अझै व्यवसाय बढ्ने आशा यहाँका व्यवसायीको छ ।

रानाले भन्नुभयो – “यहाँ छोराछोरी पढाउन र आफ्नो जीविका टार्न निकै सहज भएको छ ।”

गैरआवासीय नेपाल सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआएनए) थाइल्यान्डका अध्यक्ष तथा प्राध्यापक खगेन्द्रराज ढकालका अनुसार यहाँ तीन हजार ५०० को हाराहारीमा नेपाली छन् । जसमध्ये एक हजार ५०० जति विद्यार्थी छन् भने अन्य व्यापार व्यवसाय र रोजगारीमा संलग्न छन् ।

थाइल्यान्डको बैंकक, पत्ताया, फुकेट, च्याङवाईलगायतका सहरमा नेपालीले सटिङसुटिङ, होटल रेष्टुरेन्ट, पस्मिना, हस्तकलाका सामग्री, घरजग्गा कारोबार, ट्राभललगायत व्यवसाय गरेको १३ वर्षदेखि थाइल्यान्डमा व्यवसाय गरी हाल नेपालमा समेत व्यवसाय थाल्नुभएका चितवनका प्रकाश सुवेदीले बताउनुभयो ।

च्याङ्वाई सहरसमेत रहेको नर्थ थाइल्यान्डमा मात्रै ३५ नेपालीले आफ्नै व्यवसाय गरेका छन् । फुकेटमा ३० बैंककमा ३० र पत्तायामा पाँचजनाभन्दा बढी आफ्नै व्यवसायमा स्थापित भएको उहाँ बताउनुहुन्छ ।

थाइल्यान्डमा होटल व्यवसायमा जम्नुभएका व्यवसायीमध्ये सोलुखुम्बुका सुनिल खड्का अर्का सफल व्यवसायी हुनुहुन्छ । पछिल्लो समयमा नेपाली राजनीतिमा सक्रिय हुनुभएका खड्काको थाइल्यान्डमा होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सीलगायतका व्यवसाय छ ।

खड्कासँगै राजेश केसी, उमेश खत्रीले पत्ताया सिटीको समुद्र किनारमा ‘पत्ताया इन’ नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । दुई वर्ष छ महिनाभन्दा अघि युरोपका विभिन्न देश हुँदै पत्ताया आइपुग्नुभएका केसीले समूहमा रु एक करोड ५० लाख होटल रेष्टुरेन्टमा लगानी गरेको बताउनुभयो ।

नर्वेमा साढे चार वर्ष र झन्डै एक वर्ष स्पेनमा आफूले कमाएको रकम थाइल्यान्डको व्यवसायमा लगानी गरेको उहाँले बताउनुभयो । इन्डीयन ओसनको किनारमा मनोरम दृश्य हेर्दै रमाउन पाइने उहाँका होटलले मासिक तीन लाख भाट बचाउने गरेको केसीले सुनाउनुभयो ।

थाइल्यान्डमा व्यवसाय गर्नका लागि २० लाख भाट बराबरको कम्पनी देखाउनु पर्छ । बर्सेनि भिसा म्याद थप्नुपर्ने व्यवसाय नवीकरण गर्नेलगायतमा एक लाख ५० हजार भाट हाराहारीको रकमसमेत खर्च हुने र प्रक्रिया अगाडि बढाउनसमेत झन्झटिलो रहेको व्यवसायीहरुको भनाइ छ ।

दश वर्षअघि दाजुले थालेको ट्राभल व्यवसायबाट थाइल्यान्डमा व्यवसाय गर्न थाल्नुभएका सुमन अधिकारीको अहिले बैंककको खाउसाङ रोडमा युरो एसिया नामको होटल छ । सोही स्थानमा भिसा एन्ड वर्क परमिट सर्भिस पनि अधिकारीले सञ्चालन गर्नुभएको छ । ५०० डलर (रु ५० हजारमाथि) नेपालबाट ल्याएर व्यवसाय थाल्नुभएका अधिकारीले अहिले तीनतले दुईवटा घर, गाडी जोड्न सफल हुनुभएको छ भने व्यवसायबाट वार्षिक आम्दानी रु एक करोड नेपाली नघट्ने उहाँले बताउनुभयो ।

चितवन भरतपुरका ३५ वर्षीय प्रकाश सुवेदी १९ वर्षको उमेरमै थाइल्यान्डमा सङ्घर्ष गरेर अहिले नेपाल र थाइल्यान्डमा व्यवसाय गर्नेमा पर्र्नुहुन्छ । उहाँले थाइल्यान्डको कोसामुईमा लामो समययता कपडाको व्यवसाय गर्दै आउनुभएको छ । सुरुमा भारतीय रेष्टुरेन्ट हुँदै कपडाको पसलमा काम गरेर उहाँले आफैँले व्यवसाय सुरु गर्नुभएको थियो ।

ती सबै चुनौतीको सामना गर्दै यहाँ कमाएको रकमले भरतपुरमा घर जोडेर आफ्नै थाई मार्ट नामको पसलसमेत सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । उहाँको थाइल्यान्डस्थित कोसामईमा कपडाको पसल भाइले हेर्दै आएका छन् भने त्यही व्यवसाय विस्तार र व्यापारका लागि युरोप, अमेरिका र एसियाका विभिन्न गरी २२ देश चहारिसकेको सुवेदीले बताउनुयो । थाइल्यान्डमा वर्क परमिट व्यवसाय सञ्चालनका लागि मात्रै दिइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter