सडक चौडा गर्न नयाँ प्रविधिको खोजी

roadचितवन, १९ माघ । नारायणगढ– मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन नजिकको सडक चौडा गर्न चट्टानको पहाड काट्ने काम कठिन भएपछि अहिले वैकल्पिक उपायको खोजी सुरु भएको छ ।

सो ठाउँमा ६०० मिटर लामो चट्टानी पहाड पर्दछ । जुन ५६ मिटरसम्म अग्लो छ । हाल पाँच दशमलब पाँच मिटर सडक चौडा छ । त्यसलाई दोब्बर बनाउनुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट एक दशमलब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो क्षेत्रमा विगत दुई महिनादेखि चट्टानी पहाडको माथिल्लो भागबाट फुटाल्न सुरु गरिएको छ । यद्यपि कामले गतिलिन नसकेको उहाँले बताउनुभयो ।

एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, ट्रिपरसहितका उपकरण प्रयोग गरिएको भए पनि कामले गतिलिन सकेको छैन, इन्जिनियर खनालले भन्नुभयो– यही गतिमा काम भए थप १८ महिनाभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपायको खोजीका लागि भारतीय विज्ञ झिकाइएको छ । उनीहरुले क्यान्टिलिभर स्टक्चरबाट सडक फराकिलो बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन गरिरहेका छन् ।

यसरी फराकिलो बनाउँदा सडकभन्दा बाहिरी ठाउँमा ठूला र बलिया स्लयाब निर्माण गरी सडकमा क्रेनले झारेर रक बेल्डिङ (चट्टानमा फलामको लठ्ठाले बाँध्ने काम) गर्नुपर्दछ । जसले दुई मिटरसम्म सडक चौडा गर्न सकिने इन्जिनियर खनालले बताउनुभयो ।

सडकको त्रिशूलीपट्टिको भागमा दुई मिटर बाहिरसम्म स्लयाव राख्न सकिन्छ । यसो गर्दा बाँकी सडक चौडा गर्न धेरै माथिबाट पहाड काट्नु नपर्ने खनालले बताउनुभयो । यो प्रविधि हालसम्म नेपालमा प्रयोगमा आएको छैन ।

क्यान्टिलिभर स्टक्चर निर्माण गर्न सकिएमा ७० देखि ८० प्रतिशत भित्तो काट्ने काम कम हुने अनुमान छ । कडा चट्टान भएकाले ब्रेकरले काट्दा आगो बल्ने गरेको छ । दैनिक रुपमा थोरै भू–भाग मात्रै काट्न सकिएको छ । जसका कारण काममा प्रगति हुन सकेको छैन । हालसम्म सम्पूर्ण सडकलाई हेर्दा ३६ प्रतिशत मात्रै काम भएको छ ।

लक्ष्य अनुरुप काम भएको भए हालसम्म ५८ प्रतिशत काम हुनुपर्ने थियो । पहिलेको लक्ष्य अनुरुप ८० प्रतिशत काम हुनुपर्ने हो । २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक भूकम्प र नाकाबन्दीका कारण त्यसको म्याद थप गरी भदौ मसान्तमा पु¥याइएको थियो । निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका छन् ।

सोही सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्म पहाड काट्नुपर्ने काम नभएकाले केही समयभित्रै कालोपत्रेको काम थालिँदै छ । दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलोमिटर र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताउनुभयो ।

१६ किलोमिटरमा चार सय मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौडा गर्नुपर्ने हुन्छ । जहाँ हाल ६ देखि ६ दशमलब ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर बनाउनुपर्ने हुन्छ ।

त्यस्तै घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताउनुभयो । ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्न सके पनि मुग्लिन नजिकको पहाड भने काट्न कठिन देखिएको छ ।

विश्व बैंकको रु. दुई अर्ब ९० करोड आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवे अन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ ।

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडकव्यस्त रहने गर्दछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter