वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

NACकाठमाडौँ, २४ माघ । नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ ।

एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्दै जाने योजना लिएको बताउनुभयो ।

निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।

निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ । उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ । वाइडबडी नेपाल भित्रिएपछि निगमको व्यावसायिक योजनाअनुसार दमाम, सिओल, सिड्नी, टोकियोजस्ता नयाँ गन्तव्यमा उडान भरिनेछ ।

नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।

वाइडबडी एयर बस सफलतापूर्वक सञ्चालन गर्न निगमका एक हजार ४०० कर्मचारी ढुक्क रहेको बताउँदै उहाँले विमान उपलब्ध गराउन चाहने तर बोलपत्र छनोटमा नपरेका कम्पनीले भ्रम फैलाउने काम मात्र गरेको आरोप लगाउनुभयो ।

राम्रो सामान सस्तो मूल्यमा पाएका छौँ, विमान आएपछि जापान, कोरिया र लण्डनजस्ता व्यावसायिक दृष्टिले राम्रा मार्गमा उडान भरिने जनाउँदै निगमले आगामी छ महिनादेखि एक वर्षभित्रमा नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली मुलुकले राखेको कालो सूचीबाट माथि उठाउने अठोट गरेको छ ।

पर्यटकको खानी भनेको युरोपजस्ता विकसित र पैसावाल घुम्ने क्षेत्र भएको हुँदा निगमको ध्यान त्यसतर्फ केन्द्रित रहेको बताउँदै महाप्रबन्धकले भन्नुभयो, “पारदर्शी र सार्वजनिक खरिद ऐनको पूर्णरुपमा पालना गरेर अघि बढाएको खरिद प्रक्रियामा प्रश्न उठाउनुको कुनै औचित्य देखिँदैन ।”

दुई सय ८० सिट क्षमताको उक्त विमानमा १६ वटा सिट विजनेस क्लास रहने जनाइएको छ । निगमले आफूसँग भएका ७५७ बोइङलाई भने विस्तारै विस्थापन गर्ने प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । मुलुकमा रहेका ३८ वटा संस्थानमध्ये निगम अझै पनि केही अग्रपङ्क्तिको सूचीमै रहेको दाबी गरेको छ ।

निगमले चीन सरकारले उपलब्ध गराउने सबै विमान ल्याएर मुलुकका २० भन्दाबढी विमानस्थलमा उडान भर्ने जनाएको छ । चीन सरकारले उपलब्ध गराउनेसहित निगमका आन्तरिक उडानमा नौ वटाले उडान भर्ने छन् भने निगमका दुई वटा बोइङ र यसअघि खरिद गरेका दुई वटा एयर बसले उडान भर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter