चन्दाका भरमा सामुदायिक विद्यालय

schoolनारायण अधिकारी / चितवन, २७ माघ । सरकारले माध्यमिक तहसम्मको पढाइलाई निःशुल्क घोषणा गरेको भए पनि विद्यालयमा आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन नसक्दा अधिकांश सामुदायिक विद्यालय विभिन्न नाममा शुल्क उठाउन बाध्य छन् ।

शिक्षा नियमावलीमा भर्ना र मासिक शुल्क लिन नमिल्ने उल्लेख भए पनि त्यही नियमावलीमा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप चन्दा जुटाउन सकिने उल्लेख छ । त्यसैलाई टेकेर विद्यालयले शैक्षिक सुधार चन्दाको नामबाट विद्यार्थीसँग शुल्क लिँदै आएका छन् । कतिपयले सामुदायिक वन, स्थानीय दातासँग चन्दा उठाएर पनि विद्यालय सञ्चालन गर्न बाध्य भएका छन् ।

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार हाल जिल्लामा सञ्चालित २१ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहको दरबन्दी नै छैन । त्यसैगरी ४२ वटा निम्न माध्यमिक विद्यालयमा सो तहको दरबन्दी छैन । ती विद्यालयका अतिरिक्त अन्य विद्यालयमा दरबन्दी भएर पनि अपुग रहेको जिशिअ अर्याल बताउनुहुन्छ । शिक्षा विभागले तोकेको मापदण्डअनुसार जिल्लामा निम्न माध्यमिक तहमा २९१ जना शिक्षक अपुग छ भने माध्यमिक तहमा २६६ जना शिक्षक अपुग रहेको उहाँले बताउनुभयो ।

जिल्लामा ७६ हजार ८१ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । दुई हजार ८११ शिक्षक दरबन्दी छ । माध्यमिक तहमा ३०९ दरबन्दी र ७४ जना अनुदानका शिक्षक रहेका छन् । निम्न माध्यमिक तहमा ४०५ दरबन्दी र १३३ अनुदानका शिक्षक छन् भने प्रावि तहमा एक हजार ६७५ दरबन्दी, २०० अनुदान र १५ जना महिला शिक्षक रहेका छन् ।

विद्यार्थीको सङ्ख्या सामुदायिक विद्यालयमा धेरै भए पनि दरबन्दी नहुँदा विद्यालय कठिन रुपमा सहयोग चन्दा जुटाएर सञ्चालन भइरहेका जिशिअ अर्यालले बताउनुभयो । न्यून तलबमा निजी स्रोतमा शिक्षक राखेर कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएका उहाँको भनाइ छ । पछिल्लो समय दरबन्दीको सुनिश्चितता नभएसम्म तह बढाउन रोकिएको पनि उहाँले बताउनुभयो । जिल्लामा २१३ प्रावि, १६४ निमावि र ९५ वटा मावि सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

भरतपुरको नारायणी उच्च माविका प्राचार्य पूर्ण दवाडी माध्यमिक तहमा मात्र ६३३ विद्यार्थी रहे पनि १० मात्र शिक्षक दरबन्दी पाएको बताउनुहुन्छ । विद्यालयमा कुल शिक्षक कर्मचारी ५७ जना रहेकामा २० जना निजी स्रोतका छन् । विद्यार्थीबाट शैक्षिक सुधार चन्दा लिएर विद्यालय सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सो विद्यालयले माध्यमिक तहमा अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग मासिक रु ५०० र नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग रु २०० चन्दाको नाम दिएर शुल्क उठाउँदै आएको छ ।

नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिवसमेत रहनुभएका सो विद्यालयका प्राचार्य दवाडीले दरबन्दी र भौतिक पूर्वाधारका लागि सरकारले बजेट दिन नसक्दा विद्यालय सञ्चालन निकै कठिन पूर्ण भएको र विद्यार्थीबाट रकम उठाउन बाध्य भएको बताउनुभयो । दवाडी प्राचार्य रहेको सो विद्यालयमा कक्षा १० मा छवटा र कक्षा ९ मा सातवटा सेक्सन सञ्चालनमा छन् ।

पूर्वी चितवनको माध्यमिक विद्यालय चित्रसारीमा मावि तहको दरबन्दी छैन । विद्यालयका प्राचार्य सूर्य लामिछाने विद्यालयको मावि तहमा कक्षा ९ मा ५७ जना र १० मा ५४ विद्यार्थी रहेका भए पनि सरकारले दरबन्दी नदिँदा स्थानीय सामुदायिक वन र दाताको भर पर्नुपरेको बताउनुहुन्छ । सो विद्यालयमा निजी स्रोतका तीन शिक्षक र एक परिचर छन् ।

स्थानीय चित्रसेन मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा उपलब्ध गराउने रु १० लाख हाराहारीको सहयोगबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तल्लो तहका शिक्षकलाई न्यूनतम पारिश्रमिक दिएर माथिल्लो तहसम्म अध्यापन गर्न लगाएको उहाँले बताउनुभयो ।

यस्तै भरतपुरको चमेलीदेवी पिया निम्न माध्यमिक विद्यालयमा पनि माथिल्लो तहको सरकारी दरबन्दी छैन । विद्यालयका प्राचार्य निर्मला श्रेष्ठ निमावि तहमा ८६ विद्यार्थी भए पनि दरबन्दी नहुँदा स्थानीय ट्रस्टबाट सञ्चालित लिटिल फ्लावर स्कुल र दाता खोजेर विद्यालय धान्दै आएको बताउनुहुन्छ । अन्य विद्यालयमा झैँ तल्लो तहका शिक्षकले माथिल्लो तहमा पढाउँदै आएका छन् । सो विद्यालयमा एकजना निजी स्रोतका शिक्षक राखिएको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter