आलेखःपारिवारिक विखण्डनले बालबालिकाको बिचल्ली

children-jajarkotसन्तोष गौतम / म्याग्दी, २ फागुन । घरबाट सुन्तला बेच्न भनेर मङ्सिर २० गते बेनी आएकी बेनपा–९ घतानकी १९ वर्षीया एक महिला अहिलेसम्म बेखबर छिन् । एघार महिनाको बच्चालाई छोडेर बेपत्ता भएकी उनको दुई वर्षको अर्को पनि बच्चा छ । छोरा विदेशमा भएकाले आमाबुबाले नातिनातिनाको संरक्षण गर्दैआएका छन् ।

गत पुस २५ गते हुलाकचोकबाट एक वर्षको छोरासहित हराएकी बरञ्जा–१ की २५ वर्षीया अर्की महिला पनि अहिलेसम्म फेला परेकी छैनन् । गत हप्ता बेनीबजारमा बेनपा–३ ज्यामरुककोटकी ८ वर्षीया एक बालिका बेवारिसे अवस्थामा फेला परिन् । प्रहरी र जिल्ला बाल कल्याण समितिले तीन पटकसम्म आफन्तको साथमा घर पठाउँदासमेत उनी भागेर बेनी आउन छाडेकी छैनन् ।

प्रहरी र बाल कल्याण समितिका अनुसार उनका अभिभावकबीच घरमा झगडा भइरहने र उनलाई समेत कुटपिट गर्ने भएकाले भागेर बेनी आउने गरेकी हुन् । पुलाचौरका एक पुरुषले केही दिन अघि नाताले भतिजी पर्ने दुई सन्तानकी आमालाई भगाएर बेपत्ता भएपछि उनका श्रीमान् र आफन्त खोजीका लागि प्रहरीकहाँ आइपुगे ।

माथि उल्लिखित घटना पारिवारिक विखण्डन र अभिभावकको गैरजिम्मेवारपनाका कारण बालबालिकामा कस्तो असर पर्ने गरेको छ भन्ने उदाहरण हुन् । माया, ममताका साथ छोराछोरीलाई स्याहारसुसार गर्ने, हुर्काउने, राम्रो शिक्षा र संस्कार दिने अभिभावकको निर्दयताको सिकार निर्दोष बालबालिका बनेका छन् ।

दोस्रो विवाह, घरेलु हिंसा, सम्बन्धविच्छेद जस्ता कारण परिवारमा विखण्डन आएर बालबालिका प्रभावित भएका म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

अभिभावकको संरक्षण नभएका बालबालिका आपराधिक क्रियाकलाप र दुव्र्यसनीमा संलग्न भएको प्रनाउ खड्काले बताउनुभयो । बेनीमा पछिल्लो छ महिनाको अवधिमा भएका चोरीका घटनामा संलग्न २० जनाभन्दा बढी बालकलाई पक्राउ गरेर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । कतिपय किशोर र बालक एकपटक भन्दा बढी पक्राउ परेका छन् ।

“सो¥ह वर्षभन्दा कम उमेरकाले गरेको बालबिज्याईलाई अपराध मानिँदैन, सम्झाइबुझाई गरेर आफन्तको जिम्मा लगाउँछौँ,” प्रनाउ खड्काले भन्नुभयो, “अभिभावकको संरक्षण नपाएका बालबालिका अपराध र दुव्र्यसनीको जोखिममा छन् ।” चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म जिल्ला प्रहरी कार्यालयमा २२ वटा महिला तथा बालबालिका हराएको उजुरी परेको छ ।

एकजना १३ वर्षको बालक र २१ महिला हराएको उजुरी परेकामा सातजना महिला फेला परेका छन् । हराउनेमा धेरैजसो १६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् । आर्थिक वर्ष २०७२७३ मा ३६ महिला तथा बालबालिका हराएको उजुरी परेको थिए । भेटिएकामध्ये धेरैजसोले दोस्रो विवाह गरेको पाइएको प्रहरी कार्यालयको महिला तथा बालबालिका एकाइले जनाएको छ ।

महिलालाई भगाउने पुरुष पनि धेरैजसो विवाहित भएको पाइएको छ । अर्कोतर्फ जिल्ला अदालत म्याग्दीको तथ्याङ्कअनुसार सम्बन्ध विच्छेद गर्नेको दर पनि बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०७३७४ को छ महिनाको अवधिमा ६३ जोडीले अदालतबाट सम्बन्धविच्छेद गरेका छन् । गत आर्थिक वर्षमा ६८ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ११ वटा चालु आवममा जिम्मेवारी सरेर आएका हुन् ।

अभिभावक आ–आफ्नो बाटो लाग्दा बालबालिकाले उनीहरुबाट पाउनुपर्ने स्नेह, स्याहारसुसार र संरक्षण पाउन सक्दैनन् । पारिवारिक वातावरण राम्रो नहुँदा बालबालिकालाई मानसिक रुपमा नकारात्मक असर पर्ने जिल्ला बाल सञ्जालका सचिव रञ्जना श्रेष्ठले बताउनुभयो । अभिभावकले दोस्रो विवाह गरेपछि कमै मात्र बालबालिकाले संरक्षण पाएको भेटिन्छ ।

अर्कोतर्फ शिक्षा र सही संस्कार प्राप्त गर्नबाट समेत उनीहरु वञ्चित हुने गरेका छन् । वैदेशिक रोजगारी, गरिबीका कारण दम्पती लामो समयसम्म टाढिँदा शङ्का र अविश्वास सिर्जना हुनु पारिवारिक विखण्डनको प्रमुख कारण बनेको प्रनाउ खड्का बताउनुहुन्छ । विलाशी जीवनशैली, सामाजिक सञ्जाल, सञ्चार सुविधामार्फत तेस्रो व्यक्तिसँग हुने सम्पर्क र परिवारका अन्य सदस्यसँग राम्रो सम्बन्ध नहुनु पनि विखण्डनका अरु कारण हुन् । उपभोक्तावादी सोच, चेतनाको कमी, कम उमेरमा विवाह गरेर पारिवारिक र सामाजिक दायित्व पूरा गर्न नसक्नु पनि पारिवारिक विचलन आउनुका कारण मानिन्छन् ।

मानवशास्त्री डा ओम गुरुङले विलाशी भौतिक जीवन र उपभोक्तावादी सोचले मानिसमा बढाउने महत्वाकाङ्क्षाले पारिवारिक र सामाजिक उत्तरदायित्वबाट टाढा पार्ने र विकृतिको बाटोतर्फ डो¥याउने बताउनुभयो । “मोजमस्तीमा रमाउने मानिसले आफ्नो अभिलाषा पूर्ति गर्नका लागि दायित्व र जिम्मेवारी बिर्सन्छन्,” गुरुङले भन्नुभयो, “हरेक कुरालाई नाफा र घाटाको व्यापारिक हिसाबले हेर्ने उपभोक्तावादी र पुँजीवादी अर्थव्यवस्थाको कारण सामाजिक विकृति बढेको हो ।”

पारिवारिक विखण्डनको बढ्दो समस्यालाई न्यून गर्न देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने, परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, सीप, ज्ञान र प्रविधिको विकास संरक्षणसँगै चेतनाको विकास तथा ग्रामीण क्षेत्रमा सुविधाको विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरीक्षक भुवनबहादुर मल्लले बालबालिकाको अधिकारका लागि अभिभावक नै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

“बालबालिकाको सम्पूर्ण अधिकार सुनिश्चित हुने पहिलो स्थान घर परिवार नै विखण्डित हँुदा उनीहरुको अधिकारमा असर पर्ने गरेको छ,” निरीक्षक मल्लले भन्नुभयो, “परिवारमा मेल हुन सकेन भने पनि दुईमध्ये एकले बालबालिकाको संरक्षण गर्नु अभिभावकको दायित्व हो ।”

पारिवारिक विखण्डनको समस्या न्यूनीकरण र बालअधिकारको संरक्षणका लागि परिवारमा विश्वासको वातावरण सिर्जना, बालविवाहको न्यूनीकरण, स्वदेशमै रोजगारीको अवसर सिर्जनाका साथै अभिभावकलाई जिम्मेवारी र दायित्वप्रति सचेत बनाउनुपर्ने आवश्यकता देखिएको सरोकारवाला बताउँछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter